15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

श्रम र मेहनत सँगै देशप्रतिको चिन्ता अहिलेको आवश्यकता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३  

– कृष्ण घिमिरे 

यहाँ सबैलाई दौडनु छ, कसैलाई फुर्सद छैन । वर्षौंदेखि सबैभन्दा बढी बेफुर्सदी त तिनै भएका छन् जो आफूलाई ठूला दलका नेता र जनताका प्रतिनिधि ठान्दछन् । सांसद्हरुको दौडधुप र पत्रकारहरुको एकतमाशको हतारो देख्दा लाग्छ – अबचाहिँ देशले उन्नति र प्रगतिको पथ पक्डने भयो । तर, यथार्थ भिन्न छ, जनु छ गोरखा तर जान उनीहरु बनेपाको बस चढिरहेछन् । भनिराख्नु पर्दैन । रवाफिलो भेषमा ठाँटिएका नेताहरुका गुलिया भाषण उनीहरुको पहिचान नै बनिसकेको छ । राजनीतिलाई ढाँट, छल र बेइमानीको पर्यायवाची नै बनाए पनि यिनले वर्षौंदेखि गर्दै आइरहेको झुटको खेतीपाती फस्टाइरहेकै छ । राजनीतिको खेतबारीमा यिनले झुटको खेती गरिरहे पनि तिनै बेइमानप्रति यति सम्मोहित छन् कि आफ्नो सुदिन फिर्ने सपना साँचिरहेका छन् । समाज बदल्ने र जनताको आकांक्षा पूरा गरिदिने खोक्रा आश्वासनमा समाज बारम्बार कुमालेको चक्र झैं फन्फनी घुमिरहेको छ । तर, केही भएको छ भने केवल बेइमान मात्रै भइरहेको छ । यसलाई कतिपयले दल र तिनका नेताका असफलतासँग जोडेर हेर्छन् । यो दल र तिनका नेताको असफलता मात्रै होइन, नेपाली समाज र २१ औं शताव्दिलाई चुनौती दिँदै सचेत नेपाली नागरिकको गिल्ला गर्दै ठिङ्ग उभिनु लज्जा समेत हो । १८ वर्षपछि सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । सरकारले चुनावको मिति घोषणा गरेता पनि जनता भने साँच्चै तरंगित बनेका छन् । सबैभन्दा बढी उत्साहित त राजनीतिक दलका कार्यकर्ताहरु छन् । यसको सदुपयोग गर्ने सदिक्षा कतिपयमा होला तर आसन्न निर्वाचनको शुभलाभ आँकलन गरेर नेताका घरमा मेयर, उपमेयर, सभापतिजस्ता स्थानीय पदको लालसा मेट्न रिले दौडमा धेरैले बुर्कुसी मार्न थालिसकेका छन् । राजनीतिमा सबैका आ–आफ्ना इच्छा, चाहना हुन्छन् तर राजनीति कसैको कुण्ठा पोख्ने थलो बन्नु युग सुहाउँदो अभ्यास भने हुन सक्दैन । यसर्थ अब हुने स्थानीय तह निर्वाचनलाई दलहरुले आफ्नो कमजोरी सच्याउने अवसरका रुपमा प्रयोग गर्नु सबैको कल्याण हुनेछ ।
सत्य र दृढ संकल्पसहित जनताको राजलाई र स्थानीय निकायको सुधार र परिवर्तन गर्न दलभन्दा माथि उठेर प्रधानमन्त्री पुष्पकमल दाहालले यो बाटो तय गरेका छन । किनकि अहिलेको स्थानीय निर्वाचन हाम्रो समाज बनाउने बलियो र पहिलो आधार हो । यसको सफलता र निष्कर्षको बाटोमा भने दाहाल एक्ला होइनन् । भर्याङमा बसेर ढाडे बिरालो शैलिमा कराईको दूध ताकेको काँग्रेस रोडक्रस गर्दा प्रत्येक दिन कालो बिरालोले बाटो काटेको देख्दैछन् । सपनामा सताउने उखानका राजा केपी अघि लागिसके । प्रचण्ड कतै कमजोरी त गरिएन भन्दै पटक–पटक बालुवाटार र बुढानिलकण्ठ बैठक छाडेका छैनन् । मधेशवादी दल र राप्रपासँगको बहस कहिल्यै सकिँदैन । यता कमलहरु आफ्नो पुख्यौली गोत्रको उही राजावादी बिरासत बोकेर गल्ली गल्लीमा हिन्दू र पुरानो संरचना राष्ट्रियताको आधार भन्दै हाँडीमा मकै भुट्झैँ कुर्लि रहेका छन् । मधेशका नाथेहरु एक्लो बृहस्पति व्यक्ति पिच्छे पार्टीका नेता र मुद्दामा अल्झिए पनि हामी नेपाली हौं, हिमाल, पहाड तराई एकै हो भन्दै मुखौटो मात्र भिरेका छन् । सिमांकनका कुरा टुंग्याएर सबैलाई एक हुनसक्ने गरि चुनावका मिति सार भनेर अड्को थापिरहेका छन् । त्यसै बिषयसंग नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई असन्तुष्ट चासो सम्बोधन गरेर निर्वाचनमा जान भनिरहेका छन् ।
सबैलाई समेट्दा चुनावको मिति सर्न सक्छ तर सबै समेटिन्छन र ७४ माघ सम्ममा सबै तहका निर्वाचन सम्पन्न गरौँ भन्ने उनको मत रहेको छ । तर, केही दलका नेता यसको उल्टो ब्याख्या गर्दै आफुलाई सुनपानी छर्कने ध्याउन्नमा लागिरहेका छन् । यो बिडम्बनापूर्ण छ । यसर्थ, संविधान कार्यान्वयनका लागि अपरिहार्य बनेको तीनै तहको निर्वाचन गर्दै संवृद्ध नेपाल निर्माणको योजनामा देशलाई हिँडाउनु पर्छ । नेपालमा बिकाशका लाखौंँ सम्भावना छन् । जल, जमिन, जंगल, जलस्रोत, जडिबुटीको उपयोगले देश कायापलट हुन सक्छ । तर यसको उपयोग हामीले कति गरिरहेका छौ त ? अब यतातिर पनि ध्यान दिने बेला आएको छ । नेपाल दुई विशाल मुलुक चीन र भारतसँगको सम्बन्धलाई सरकारमा हुने दलले एउटा व्याख्या र प्रतिपक्षमा बसेका दलले अर्को व्याख्या गरेर निरन्तर दोहोरीने चरित्रको ब्याङ्ग्यात्मक गीत गाउन कहिल्यै छोड्दैनन । आम नेपालीलाई यो राम्रोसँग थाहा छ कि हामी सियोसम्म नेपालमा उत्पादन गर्न सक्दैनौँ र अधिकतम हाम्रा आवश्यकताका परिणामहरु तिनै मुलुकबाट आयात गर्नुपर्छ । यसर्थ पहिला ती मुलुकसँगको सम्बन्धलाई समान्नातर रुपमा अघि बढाउँदै फाइदा लिने नीति अँगाल्न अब ढिलाई गर्नु हुँदैन । चिया पसलमा गफ हाँके जसरी श्रम र मेहनत सँगसँगै देशप्रतिको चिन्ता र विकासको सम्भावनालाई मध्यनजर गर्नु अहिलेको टड्कारो आवश्यकता हो । यता दिन प्रतिदिन नयाँ दल र कार्यकर्ता जन्मिरहेकाछन् । बीबीसी नेपाली सेवाको जागिर छाडेर पत्रकार रविन्द्र मिश्र सरकारले स्थानिय चुनाव घोषणा गरेसँगै हतार हतारमा राजनीति दल खोल्ने घोषणासहित नयाँ राजनीतिक दोकान खोल्न आइपुगेका छन् । यसले एक किसिमको अन्योलता पैदा गरेको छ । एउटै साझा धारणा र विचार बनाउन छाडेर नेपाली समाज र यहीँका हावापानीमा हुर्केका मनुवाहरु सबै आ–आफ्नो तर्क र बितर्कमा एकले अर्कोलाई तल पार्ने खेलमा लाग्दा निश्चिय नै अन्योलता छाएको छ । तर, युवाहरुले अब यो अन्योलतालाई चिरेर नेपाल र नेपालीकोे भविष्य चम्काउने दायित्वबहन गर्न आनाकानी गर्नु हुँदैन । झुट, गुन्डागर्दी, घुष, भ्रष्टाचार, अनियमितता र अनेकता जसरी फैलिरहेको छ, त्यसका विरुद्ध युवाको एकता अपरिहार्य भएको छ । त्यसैले समृद्द नेपालको पहिचान र अस्तित्व जोगाउन सबै युवा जुट्नु आजको आवश्यकता हो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३     1:22:28 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *