15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

बाल विवाहले लुटेको खुशी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३  

गोमा परियार
बाँके कोहलपुर नौबस्ताका महेश थापा र मुना पुनले २०६४ सालमा भागेर बालविवाह गरे । त्यति बेला महेश १७ बर्षका थिए, उनि कक्षा ९ मा पढ्थे भने मुना १५ बर्षकी थिइन् उनि कक्षा ८ मा पढ्थिन् । मुनाको परिवारले त्यो विवाहलाई स्विकारेनन् । मुना र महेशलाई अलग्याउन धेरै प्रयास भए । यति हुदाँहुदै पनि मुना र महेशको प्रेम छुटेन र अन्ततः यी दुईलाई परिवारले स्विकार्नै पर्ने अवस्था आयो । विवाह भएको तीन वर्षसम्म मुना र महेशको जिवन खुशीनै रह्यो । पारिवारिक कारणले गर्दा मुनाले आफ्नो पढाइलाई कक्षा ८ मा आएर रोकिन् । महेशले भने कक्षा १२ पास गरेर केही समय गाउँकै बोर्डिङ स्कुलमा पढाए अनि २०६९ सालमा नेपाल प्रहरीमा भर्ती भए । जब महेश भर्ती भएर दाङमा थिए मुनाले घरमा छोरा जन्माइन् । केही महिनासम्म त महेशले मुनालाई गर्ने माया पहिलेजस्तै रह्यो । तर बिस्तारै, बिस्तारै श्रीमती मुनाप्रति महेशको माया र आकर्षण घट्दै जान थाल्यो । २०७० साल असारमा महेशले दाङमै दोस्रो विवाह गरे । ‘विवाह पहिला त्यति धेरै माया देखाएका महेशले बाचा र कसम खाई बिहे ग¥यौ’ मुना भन्छिन् ‘उहाँलेनै धेरै जवरजस्ती गर्नुभयो अनि धेरै बाचा, कसम खानुभयो र त्यहि भएर बिश्वासमा बिहे गरेँ तर अहिले धेरै रुन र पछुताउनु प¥यो मलाई । ’  माइती परिवारले छुट्टाउन धेरै कोशीस गर्दापनि महेशकै विश्वास र मायामा अन्धी बन्दा अहिले जिन्दगीनै अन्धकार बनेको मुनाको भनाई छ । आफूसँगै पढेका साथीहरूमध्ये कोहीले जागिर खाएको र कोही अहिले ढुक्कका साथ उच्च शिक्षा पढ्दै गरेको भन्दै मुनाले भनिन्, ‘उमेर नपुग्दै विवाह गरेर मैले आफ्नो जिन्दगी आफै बिगारे ।’ महेशले दोस्रो बिहे गरेपछि घरपरिवारले पनि पहिलेको जस्तै माया र हेरचाह गर्न छोडेपछि मुना अहिले अलग्गै बस्दै आइरहेकी छन् । महेश भने अहिले जागीर छोडेर दोस्री श्रीमती पुष्पासंग दाङ मातीघरमै बस्ने गर्छन् । साथमा रहेको एउटा छोरालाई कसरी पढाउने भन्ने समस्यामा छिन् मुना । ‘मुद्दा–मामिला गरेर सौता फिर्ता जाँदिनँ अनि श्रीमान पनि पहिलेको जस्तो हुँदैन,’ मुना भन्छिन्, ‘फाटेको मन लिएर त्यही श्रीमान्सँग बस्न पनि सकिँदैन, त्यसैले मुद्दा–मामिलामा लागिएन ।’ पितृसत्तात्मक सामाजिक संरचना, चेतनाको अभाव, झन्झटिलो कानुनी प्रक्रियालगायत प्रहरी र न्यायिक निकायबाट उचित सहयोग नहँुदा महिला बहुविवाह गर्ने श्रीमान्विरुद्ध कानुनी कारबाहीमा जान सकेका छैनन् । चुपचाप पीडा सहेर जिउन बाध्य छन् । बाँके कोहलपुर चप्परगौडीकी संगीता क्षेत्रीले जीवनमा यति ठूलो बज्रपात पर्ला भनेर कल्पनासमेत गरेकी थिइनन् । ७ बर्ष पहिले कैलाली टीकापुरका दीपक केसीसंग प्रेम विवाह गरेकी संगीताको जीवनमा खुसीका पल लामो समय टिक्न सकेनन् । संगीता दिपकसंग विवाह गर्दा मात्रै १५ बर्षकी थिइन् भने दिपक १८ बर्षको । आफ्नो फुपुको घरमा घुम्न गएकी संगीताले २०६६ सालमा उतै बिहे गरेर बसिन् । संगीताका २ छोरी छन् । संंगीता भन्छिन् ‘सासुससुरासंग अलग्गै भएर बसेका हामी २ छोरी संग खुशीनै थियौं । तर पछि दीपकको व्यवहार परिवर्तन हुन थाल्यो । सधैँ परिवार र छोरीहरुलाई माया गर्ने दीपक दिनहुँ रक्सी खाएर आधारातमा घर आउन थाले । रक्सीले मातेको अवस्थामा मलाई तथानाम गाली र कुटपिटसमेत गर्न थाले । ’
त्यति हुँदासम्म सहेर बसेकी संगीताको जीवनमा सोच्दै नसोचेको घटना भयो । उनका श्रीमानले २०७१ सालमा दोस्रो विवाह गरे र भएभरको जायजेथा बेचेर संगीतालाई एक्लै छाडेर भारततिर पलायन भए । ‘उनको मन कसरी फेरियो, मैले अहिलेसम्म बुझ्न सकेकी छैन,’ संगीता थप्छिन्, ‘त्यति धेरै माया गर्ने श्रीमान्ले बिचल्ली पारेर छोडे ।’ कैलालीमा आफ्नो स्वामित्वको टेक्ने जमिन पनि नभएपछि उनी दुई छोरी बोकेर माइतीको शरणमा आइपुगिन् । अर्की श्रीमती लिएर भारत पलायन भएका श्रीमान्ले त्यसपछि संगीताको खोजी गरेनन् । माइतीले बस्ने घर बनाईदिएपछि संगीता अहिले दुई छोरीसंगै बस्दै आएकी छिन् । आफुसँगैका साथीहरू पढीलेखी जागीर खाँदैछन् र उमेर पुगेर विवाह गरेको भन्दै संगीताले थपिन्, ‘पढ्ने बेलामा माया, विवाह नै ठूलो जस्तो लाग्यो, अहिले पछुतो मानेर, रोई कराई के गर्नु ?’ विश्वास गरेको मान्छेले नै धोका दिएपछि उनी भन्छिन्, ‘उसले त मलाई छोडेर अलपत्र बनायो, तर यो साथमा रहेका दुई छोरीलाई कसरी पाल्न, पढाउने भन्ने चिन्ता छ । यिनैको लागि यतिका पीडा र दुख सहेर बाँचेकी छु ।’ आफुले भने अनुसारको बाटोमा नहिँड्दा छोरीले दुःख पाएको र आफ्नो अहिले यहि छोरीकै चिन्तामा दिन बितिरहेको संगीताकी आमाको भनाई छ । संगीताकी आमा भन्छिन् ‘के गर्नु यस्को दुःख हेर्न सक्दिन छोरी हो भोकै राख्न सक्दिन यसकै पिरले खान लाग्यो मलाई ।’ संगीताको जीवन दुःख र आशुमा बितिरहेपनि उनिसंगैका केही साथीहरुको जीवन भने खुशी र सुखमय बितिरहेको छ । सानै उमेरमा विवाहलाई भन्दा पढाईलाई धेरै महत्व दिएर पढेकी संगीताकी साथी अन्जली भने अहिले गाउँकै स्कुलमा पढाउँछिन् । स्नातक पास गरेकी २४ वर्षकी अन्जलीले उमेरपुगेपछी मात्र २०७२ मंसीरमा विवाह गरेर आफ्नो घर बर्दियामा बस्छिन् ।
कोहलपुर नगरपालीका ५ शान्तिगरका १८ बर्षका मनोज बिक र १७ बर्षकी सुनिता पुनको विवाह १ बर्षपनि टिक्न सकेन । विवाह भएको ९ महिनामै मनोज र सुनिता छुट्टिए । कक्षा १० मा पढ्दै गरेका मनोज अहिले भारत छन् भने सुनिता आफ्नो माईती मै । सुनिता भन्छिन् ‘कीन र के कारणले हामी छुट्यौ थाहा छैन तर हामी अब एक कहिले हुँदैनौं ।’ महिला तथा बालबालीका कार्यालय बाँकेकी फोकल पर्सन बिन्दु कुँवर भन्छिन् ‘सन २०३० सम्ममा बालविवाह अन्त्य गर्ने भनेर कार्ययोजना निर्माण भैसकेको छ । तर, पनि कार्ययोजना भने कार्यान्वयन भैसकेको छैन । यो आर्थिक बर्षदेखि कार्यान्वयन हुने आधारलाई मानेर बाँकेमा बालविवाह बिरुद्ध पञ्चबर्षिय रणनीति योजना बनिसकेको र कार्यान्वयनमा आइसकेपछि कार्यक्रमहरु सुरु गरिन्छ ।’ बालविवाह गाउँमा हुने, कतिपय जानकारीमा नै न आउने जिल्ला प्रहरी कार्यालय र बिभीन्न संघसस्थामा आउने हुनाले पनि महिला तथा बालबालिका कार्यलयमा बालविवाहको एकिन तथ्याङक नभएको कुँवरको भनाई छ । तर, यो बर्ष भने महिला तथा बालबालिका कार्यलयमा ८ वटा निबेदन बालविवाह रोकी पाउँ भनी आएको र ८ वटै रोकिएको कँुवरले बताइन् । अधिवक्ता बसन्त गौतमका अनुसार बालबिाह हुनुको मुख्य कारण अशिक्षा, गरीवीलाई मानिएको छ । गौतम भन्छन् ‘कानुन छ कार्यान्वयन छैन यस बारेमा जनचेतना फैलाउन जरुरी छ । बालविवाह अपराधिक क्रियाकलाप हो, कानुनले बन्चित गराएको कुरा हो । बालविवाह गराएको अवस्थामा कानुनको दायरामा आइन्छ कार्वाहीमा भोग्नुपर्छ भन्ने कुरामा जनचेतना जगाउन जरुरी रहेको छ, जनचेतना नभएको कारणले गर्दापनि बालविवाह भैरहेको छ ।’ कान्नको आखा छल्नलाई कतिपय भारतमा गएर पनि बालविवाह गर्ने गरेको गौतमको भनाई छ । बालविवाहले बालिकाको मानसिक र शारीरिक असर पुर्याउने भएकाले यसलाई रोक्न हरेक क्षेत्रबाट सबै लागीपर्ने गौतमको भनाई छ । गौतम थप्छन्‘बालविवाहले महिला हिंसा, बलात्कारका घटनाहरु निम्त्याउने गर्दछ । सानै उमेरमा बिहे गरिदिने सामाजिक, आर्थिक र धार्मिक पक्षका साथै आर्थिक र अशिक्षाको कारणले गर्दा बालविवाह सम्बन्धी बनेका कानुनहरुको कार्यान्वयनमा चुनौती देखिएका छन् ।’
बाँकेमा पहिलेको तुलनामा बालविवाह बिस्तारै कम हँुदै गैरहेको छ, तर पुर्ण रुपमा नियन्त्रण हुन सकिरहेको छैन र जनचेतना जगाउने, कानुन कार्यान्वयन गर्ने निकायले प्रभावकारी रुपमा कानुनको कार्यान्वयन गर्न लाएको अवस्थामा बालविवाह नियन्त्रण हुन सक्ने अधिबक्ता गौतमको भनाई छ । महिला चिकित्सक कल्पना थापाका अनुसार सानै उमेरमा बिहे भएमा छिट्टै बच्चा हुने हुनाले बालिकाहरुमा निकै समसया देखिने गर्दछ । उनी भन्छिन् ‘बालविवाह गरेका बालिकाहरु आफुपनि हुर्कीरहेका हुन्छन् र पेटमा बच्चा पनि जसले गर्दा बच्चा जन्माउदा डेलिभरी हुन गाह्रो हुने गर्दछ । रक्त अल्पता, ब्लड प्रेसर हुने जस्ले गर्दा ज्यान सम्म जान सक्छ ।’ हालको परिमार्जित कानुन अनुसार केटा र केटीको उमेर २० बर्ष पुगेपछि मात्र बिहे गर्न पाइन्छ । तर, मुलुकी ऐनको विवाहबारी महलमा अभिभावकको स्वीकृति भएमा १८ र नभएमा २० वर्ष नपुगी विवाह गर्न पाइदैन भनिएको छ । सोही ऐनको विहेबारी महलअनुसार १० वर्ष कम उमेरकोलाई विवाह गराएमा ६ महिनादेखि ३ वर्षसम्म कैद र १ देखि १० हजारसम्म जरिवाना हुन्छ । १० देखि १४ वर्षकोलाई विवाह गराएमा ३ महिनादेखि १ वर्ष कैद र ५ हजारसम्म जरिवाना हुन्छ । १४ देखि १८ वर्षको विवाह गराएमा ६ महिना कैद वा १० हजारसम्म जरीवाना वा दुवै सजाय हुनसक्ने कुरा उल्लेख गरिएको छ । नेपालको कानुनमा १६ वर्ष र अन्तर्राष्ट्रिय कानुनमा १८ वर्ष मुनिकालाई बालबालिका भनिएको छ ।  बालबालिका ऐन २०४८ मा बालक भन्नाले १६ वर्ष पूरा नगरेको बालबालिका सम्झनु पर्दछ भन्ने उल्लेख छ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार १ लाख ३८ हजार बालबालिकाको १० वर्ष नपुग्दै विहे भएको देखिन्छ । यसमध्ये १ लाख १५ हजार बालिकाको बालविवाह भएको छ भने २२ हजार ८ सय ६५ जना बालकहरुको मात्र बालविवाह भएको देखिन्छ । यसवाट के देखिन्छ भने बालक भन्दा बालिकाको विहेको अनुपात अत्यधिक छ । १० देखि १४ वर्षको उमेर समूहका बालबालिकाको विवाहको स्थ्ति के छ भनि हेर्ने हो भने १३ लाख ६३ हजार १ सय ७ जनाले बालविवाह गरेकोदेखिन्छभने ११ लाख १ हजार ८ सय ८५ बालिका नै छन् । आजको २१ औं शताब्दीमा, बालबिवाह हुनु अत्यन्त दुःखद कुरा हो । यसले राज्यको सर्वाङगिण विकासमा ठूलो असर पारिरहेको छ । यसको रोकथामका लागि राज्यले कडा कदम चाल्न अति आवश्यक छ ।
(यो आलेख, अमेरीकी सहयोग नियोगको सहयोगमा संचालित साझेदारी विकास परियोजनाका लागि इक्वल एक्सेसले तयार पारेको हो । यसमा प्रसारित कुनै पनि सामग्रीले अमेरिकी सरकार अथवा अमेरिकी सहयोग नियोगको आधिकारीक धारणा व्यक्त गर्दैन ।)

प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३     12:49:49 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *