27 September 2021  |   सोमवार, अशोज ११, २०७८

मप विश्वविद्यालयमा चुनावी रौनक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १, २०७३  

गोविन्द देवकोटा
सुर्खेत, भदौ १
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिँकिदै गर्दा विभिन्न संगठनका विद्यार्थी नेताहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । यही भाद्र ८ गते हुने स्ववियु निर्वाचनका लागि विभिन्न राजनीतिक घटकका विद्यार्थी संगठनहरु केह सातायता चुनाव प्रचारप्रसारको दौडधुपमा लागेका हुन् । नेपालका धेरै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुन नसकिरहेका बेला मध्यपश्चिम विश्वविद्यालयमा स्थापनापछि ऐतिहाँसिक रुपमा हुन लागेको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । नेपाली कांग्रेसको निकट नेविसंघ लगायत अन्य केही दल निकट विद्यार्थी संगठनहरुले निर्वाचन मिति सार्ने भन्दै विवाद सिर्जना गरेपनि विश्वविद्यालय र संगठनहरुबीच विभिन्न सहमति भएपछि तोकिएकै मितिमा निर्वाचन हुन लागेको छ ।
यतिबेला मध्यपश्चिम विश्वविद्यालयमा चुनावी माहोल तातेको छ । मुख्य गरी काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । विभिन्न संगठनका केन्द्रीय नेताहरु सुर्खेत आएर चुनाव प्रचार प्रसार गर्ने र आफ्नो पक्षमा विद्यार्थीहरु तान्ने प्रयास जारी राखेका छन् । जसका कारण विद्यार्थीहरु निर्वाचनको पक्षमा उत्सुक देखिएका छन् भने, चुनावी प्रचारका लागि विद्यार्थी नेताहरुको प्रचार अभियानले केही हदसम्म विद्यार्थीहरुको पढाई प्रभावित समेत भएको छ । प्रचारप्रसार अभियानकै क्रममा यसअघि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नविना लामा सहित चर्चित दोहोरी गायक बद्री पंगेनी र हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमै आएर अनेरास्ववियुलाई जिताउनको लागि आग्रह गरेका थिए । यस्तै नयाँ शक्ति विद्यार्थी युनियनले आफ्ना केन्द्रीय प्रतिनिधि र हाँस्य कलाकार सुवोध गौतमसहित अन्य राष्ट्रिय कलाकारहरु ल्याएर आफ्नो पक्षमा मतदान गर्नको लागि अपिल गरेको थियो । चुनावी माहोलकै क्रममा अखिल क्रान्तिकारीले पनि केन्द्रीय उपाध्यक्ष सहित विभिन्न पदाधिकारी र कलाकारहरु सुर्खेत ल्याएको छ । क्रान्तिकारीका उपाध्यक्षहरू सुरेन्द्र बस्नेत, गंगाराम तिमल्सिना र पन्चा सिंहलगायतको टोली काठमाडौंबाट सुर्खेत आएको छ । उनीहरुसँगै अखिल क्रान्तिकारीका सचिव तथा ६ नम्बर प्रदेश इञ्चार्ज खेमबहादुर सिंह र प्रदेश संयोजक केशव शाही पनि प्रचार प्रसारमा व्यस्त छन् ।२८ वर्षे उमेर हद मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हद लागू गरेको छ । भदौ ८ गते स्ववियू निर्वाचन हुँदैछ र त्यसको निर्वाचन तालिका पनि सार्बजनिक भइसकेको छ । देशको सबैभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन र उम्मेदवारको लागि उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषय छलफलकै क्रममा छ । तर, करिब २ हजार बढी विद्यार्थी अध्ययनरत मध्यपश्चिम विश्वविद्यालयले भने विद्यार्थी संगठनहरुकै सहमतिमा २८ वर्ष उमेर हद लागू गरेको छ । कुनैपनि पदाधिकारीमा उम्मेदवारी दर्ता गराउनका लागि २८ वर्ष ननाघेको हुनुपर्ने छ । निर्वाचन तालिका सार्वजनिक मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतका अनुसार भदौ एक गते पहिलो मतदाता नामावली प्रकाशित हुनेछ । त्यसलाई सच्याउनुपर्ने देखिएमा अन्तिम नामावली भदौ ३ गते प्रकाशित हुनेछ । स्ववियु निर्वाचन समिति सदस्य आन्दप्रसाद सुवेदीका अनुसार विश्वविद्यालयले मतदाता हुनको लागि साउन २६ गतेसम्म भर्ना गरिसक्नुपर्ने बताएको थियो । साउन २७ गते सम्म एकहजार पाँचसय विद्यार्थीले भर्ना गरेपनि धेरै विद्यार्थीहरुको मतदाता नामावली छुटेको थियो । छुटेको नामावली सहित आज सम्पूर्ण मतदाता नामावली प्रकाशन गर्ने तयारी रहेको सदस्य सुवेदीले बताए । भदौ ४ गते ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिने छ भने, निर्वाचन कार्यतालिका अनुसार ५ गतेसम्म मतदाता परिचयपत्र उपलब्ध गराइने बताइएको छ । ५ गते उम्मेदवारी फिर्ता लिन चाहनेलाई फिर्ताको मौका दिइने भने सोही दिन ६ पछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची पेश गर्ने समय भने भदौ भदौ ६ गते तोकिएको छ । निर्वाचन भने भदौ ८ गतेदेखि बिहान ८ बजेदेखि सुरु हुने मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ । स्ववियु सभापतिको लागि अखिल क्रान्तिकारीले राजेन्द्र बुढाको उम्मेदवारी हुने पक्का भएको छ । हालको निर्वाचनले दुईवर्षे कार्यकालको लागि नतृत्व चयन गर्ने छ । कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले भने उम्मेदवार तय गरिसकेका छैनन् । तर अनेरास्ववियुको सभापतिका उम्मेदवारहरुमा प्रेम खड्का र भुपेन्द्र शाहीको नाम चर्चामा छ । यसैगरी नेविसंघबाट नारायण शर्मा र मोहन रानाको नाम चर्चामा छ । सबै संगठनहरुले निर्वाचन आफ्नो पक्षमा हुने दाबी गरेका छन् ।

प्रकाशित मितिः बुधबार, भदौ १, २०७३     11:17:04 AM  |