सुशिल खड्का
सुर्खेत, ९ साउन
मध्यपश्चिमका १५ जिल्लामा ८० प्रतिशत धान रोपाईँ सकिएको छ । केही जिल्लामा शतप्रतिशत नै रोपाई भएको छ । अघिल्लो वर्षको तुलनामा समयमै मनसुन भएकाले यस क्षेत्रका कृषकहरुले साउन पहिलो हप्तामा धान रोप्ने काम करिव अन्तिम चरणमा पुगेको हो ।
कर्णालीका हुम्ला, जुम्ला र डोल्पामा धान रोप्ने काम सम्पन्न भएको छ । तर अन्य जिल्लाहरुमा भने २० प्रतिशत रोपाई बाँकी छ । हालसम्म दाङमा ६५, बाँकेमा ७५, बर्दियामा ९२, सल्यानमा ९४, प्युठानमा ९५, रुकुममा ८६, रोल्पा ८६, सुर्खेतमा ६५, दैलेखमा ७५, जाजरकोटमा ९७, मुगुमा ९३, कालिकोटमा ९० प्रतिशत रोपाई सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरीले जानकारी दिए ।
समयमै रोपाई हुँदा धान उत्पादन वृद्धि हुने उनको अनुमान छ । समयमा बीउ राख्न पर्याप्त पानी परेकाले पहाडी भेगमा जेठ मध्य साताबाटै रोपाई सुरु भएका थिए । पहाडी जिल्लामा धेरैजसो खहरे खोलाकै पानीबाट रोपाई गरिन्छ । साउन १५ सम्म सवै जिल्लामा धान रोप्ने काम सकिने मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक पूर्ण थापाले जानकारी दिए । ‘समयमै परेको पानीले साउनको पहिलो सातासम्म धान रोप्ने काम सकिएको हो ।’ थापाले भने,–‘उच्च लेकाली र पहाडी क्षेत्रमा धान रोप्ने काम अन्तिम चरणमा पुगेको छ ।’
निर्देशनालयका प्राविधिक सहायक थापाले मध्यपश्चिममा एक लाख ८६ हजार २ सय २९ हेक्टर क्षेत्रफलमध्ये ५५ हजार १२ हेक्टरमा धान खेती गरिएको बताए । तराईका अधिकांश जिल्लामा सिंचाई सुविधा पुगेकाले कम वर्षाले ठूलो असर नपुगेको उनको दाबी छ । हिमाली–पहाडीभन्दा तराईका तीन जिल्लामा बढी धान खेती हुन्छ । यसमध्य बर्दियामा ५२ हजार, दाङमा ३८ हजार पाँचसय र बाँकेमा ३६ हजार पाँचसय हेक्टरमा धान खेती हुने गरेको सरकारी तथ्याङ्ग छ ।
अझै पनि मध्यपश्चिमका सवै जिल्लाहरुमा प्रयाप्त सिँचाई नपुगेकाले कतिपय कृषक भने आकाशे पानीको भर पर्नु परेको थापा बताएका छन् । सिँचाई सुविधा नपुगेका हिमाल र पहाडका कृषकहरु प्रयाप्त वर्षातपछि धान रोप्न बाध्य छन् । यता तराईका दाङ, बाँके र बर्दियाका अधिकाँश कृषकहरु आकाशे पानीकै भरमा धान रोप्न बाध्य छन् ।
मध्यपश्चिमको कुल धान उत्पादन हुने क्षेत्रमध्य १ लाख १६ हजार २३४ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा छ । तर ६९ हजार ९९५ हेक्टर क्षेत्रका कृषक आकाशे पानी कुर्न पर्ने अवस्था छ । बर्दियामा सबैभन्दा बढी सिंचाई सुविधा पुगेको जिल्ला हो । मध्यपश्चिमका अन्न भण्डार मानिने बाँके, बर्दिया, दाङ र सुर्खेत जिल्लामा अघिल्लो वर्षभन्दा यो वर्ष बढी धान उत्पादन हुने अनुमान निर्देशनालयको छ ।
बर्दियामा ४२ हजार, दाङमा १८ हजार ७८० र बाँकेमा १५ हजार हेक्टर सिंचित क्षेत्र हो । पहाडी जिल्ला मध्य दैलेखमा ७ हजार ९९७, सल्यानमा ६ हजार २७४, प्युठानमा ५ हजार ५६०, सुर्खेतमा ४ हजार सातसय, रोल्पामा ३ हजार ९३१, रुकुममा २ हजार ७५० र जाजरकोटमा २ हजार ५६२ हेक्टर सिँचित क्षेत्र रहेको निर्देशनालयका थापाले जानकारी दिए । यता हिमाल पाँच जिल्ला मध्य बाह्रैमास पानीको सुविधा भएका जिल्ला जुम्ला पहिलो हो । जुम्लामा २ हजार ८३९, मुगमा १ हजार ८७५, कालीकोटमा १ हजार ४८०, हुम्लामा २८४ र डोल्पामा २०२ हेक्टर क्षेत्र मात्रै सिँचाई पुगेको
छ ।
प्रकाशित मिति : २०७३ साउन ९ गते आइतबार









प्रतिक्रिया दिनुहोस्