वैज्ञानिकहरुले मानिसको सरीरभित्र हुने एक जैविक रासायनिक प्रतिक्रिया पत्ता लगाएका छन् जुन मानिसमा दम रोग उत्पन्न गराउन जिम्मेवार हुन्छ ।
यो प्रतिक्रियाले सामान्य अवस्था तथा दम भएको अवस्थामा फोक्सोको संचालनको बारेमा जानकारी उपलब्ध गराउँदछ ।
दम मानिसमा लामो समयसम्म दुख दिने तथा गम्भीर खालको स्वास प्रस्वासजन्य समस्या हो । यसले स्वासनलीलाई प्रभावित गर्दछ ।
स्वासनलीबाटै फोक्सोमा हावा जाने र फोक्सोबाट बाहिर निस्किने बाटो हो । त्यस्तै फोक्सोमा पनि निकै स साना एयर ट्युबुल्स अर्थात् वायुनलिकाहरु हुन्छन् ।
यिनै नलिकाहरु मांशपेशीले घेरिएका हुन्छन् र सोही मांसपेशीले फोक्सो भित्र जाने र बाहिर आउने हावाको मात्रा निर्धारण गर्नका लागि नलिकाको व्यासमा घटबढ गराउँदछ । तिनै मांशपेशीहरु बढि खुम्भिएर नलिकाहरुमा अवरोध हुँदा वा साँघुरिँदा मानिसलाई दम हुन्छ ।
बेलायतको लेसेस्टर विश्वविद्यालय तथा मेडिकल रिसर्च काउन्सिलका वैज्ञानिकहरुले मुसामा गरेको अध्ययनका क्रममा फोक्सोमा हावा कुन प्रकारले भित्र जान्छ र कुन प्रकारले बाहिर आउँदछ भन्ने कुराको परीक्षण गरेका हुन् ।
फोक्सो तथा स्वासनीको सामान्य क्रियाकलापमा अवरोध पूराउनका लागि एक विशेष खालको जैविक रासायनिक प्रतिक्रिया जिम्मेवार हुने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका छन् । यो नयाँ शोधबाट प्राप्त नतिजाले दमको रोकथाम तथा उपचारमा नयाँ अध्याय स्थापित गरेकेा दाबी शोधकर्ताहरुको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा साढे २३ करोड मानिस दमबाट ग्रसित छन् । दमबाट हुने मृत्युमध्ये ८० प्रतिशत मध्यम तथा न्यून आय भएका देशका मानिसहरु हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्