स्नातकोत्तर गरेका पोख्रेल दम्पत्ती गाईपालनमा



खगेन्द्र दाहाल
कोहलपुर, चैत्र १९
टिरिङ्ग टिरिङ्ग गरि जोडले बज्ने अलार्म घन्टीले बिहान ४ बजे नै विस्तारा छोड्न बाध्य तुल्याउँछ । जीवनसंगिनी सारदासँगै बिहानै गाई बस्तुको सरसफाई, दाना पानी गर्नमा नै व्यस्त हुन्छन् विष्णु पोख्रेल । पोख्रेल दम्पत्तीको पेशा नै गाई पालन हो । स्नातकोत्तर गरेका कोहलपुरका विष्णु र सारदा गाई पालन कृषककोे रुपमा
चिनिन्छन् । पहिले भूमि अधिकार मञ्चमा ८ वर्ष सम्म काम गरेका विष्णुले त्यो जागिर अहिले छाडिसकेका छन् । विष्णुकी श्रीमती शारदाले भने अझै महिला उपकार मञ्च कोहलपुरमा लघु वित्त म्यानेजर पदमा कार्यरत
छिन् । दुवैले समाजशात्रमा स्नाकोत्तर गरेका छन् । उनीहरुमा शुरुमा सरकारी जागिर खाने रहर जागेपनि गाई पालन शुरु गरेपछि त्यो रहर जाग्न छाडेको छ । २०६८ सालमा बर्दिया पशुपति नगरबाट एक जर्सि गाई २२ हजारमा खरिद गरेर घरमा ल्याउँदा पोख्रेल दम्पत्तीसँग गाई राख्ने गोठ सम्म पनि थिएन ।
घरमा गोवर ग्याँस भएकाले त्यसलाई प्रयोगमा ल्याउन गाई भित्राएका पोख्रेलले विस्तारै दुध पनि विक्रि गर्न थाले । उनले अर्को गाई पनि केहि महिना भित्रै खरिद गरे र पालन पोषण गर्न थाले । पोख्रेल दम्पत्तीलाई लाग्न थाल्यो कि दुई वटा गाई पाल्दा दिनुपर्ने समय र अरुलाई पनि दिने समय बराबर लाग्ने भएपछि उनिहरुले थप गाई खरिद गरेर ६ वटा बनाएर जिल्ला पशु सेवा कार्यालयमा प्रकृति नामबाट गाई फार्म दर्ता
गरे । अहिले उनिहरुसँग साना ठूला गरेर ३४ वटा छन् । माउ गाई १९ वटा, ८ वटा कोरली, ५ बाच्छी र २ बाच्छा रहेका छन् ।
३४ वटा गाईहरुको स्याहार एक जना सहयोगी बाहेक उनिहरु आफै गर्छन् ।
कोहलपुर साझा चोक नजिकै रहेको पोख्रेल दम्पत्तीको गाई फार्ममा दुध लिन आउनेहरुको बिहानै देखि भिडभाड हुने गर्छ । ‘प्राय ः दुध घरबाटै विक्रि हुन्छ’ शारदाले भनिन् ‘बाँकी रहेको दुध नजिकैको सिर्जना दुध डेरीमा विक्रिका लागि लैजान्छौ ।’
दैनिक १ सय ५० लिटर दुध विक्रि गर्ने उनिहरुले प्रतिलिटर ६० का दरले घरमा आएका ग्राहकलाई र डेरीमा ल्याक्टो र फ्याटका आधारमा ३८ देखि ४२ रुपैँया सम्ममा विक्री हुने गरेको
छ । उनिहरुले घरबाटै घ्यु पनि विक्रि गर्छन् । ‘मोही पार्नका लागि आधुनिक मेसीन समेत ल्याएका छाँै’ कृषक विष्णुले भने ।
आम्दानीको ५० प्रतिशत खर्च हुने भएपनि ५० प्रतिशत बचत हुने गरेको उनको भनाई छ । उनले व्यवसायिक गाई पालन गरेको आम्दानीले गाई थप गर्ने, छोरा छोरीलाई काठमाडौ पढाउने, गोठ सुधार गर्ने लगायतका काममा खर्च गर्ने गरेका छन् ।
एकसय वटा गाई पाल्ने लक्ष्य अनुरुप व्यवसायलाई अगाडि बढाउँदै लगेको पोख्रेल दम्पत्तीले बताए । पालेका गाईबाट राम्रो उत्पादन लिन पौष्टीक घाँस खुवाउने गरेका छन् । घाँसमा नेपियर, इपिल, किम्मु, वर्सिम, मकैचरी आदी लगाएका छन् । गाईलाई घाँसले मात्र पुगाउन नसकिने हुँदा भुस र पराल समेत खुवाउँदै आएका छन् उनीहरुले । भुस र परालको लगानी गाईको गोवर मलले उठाउँदै आएको छ ।
व्यवसायिक रुपमै गाई पालन गर्दै गर्दा दुध विकास बोर्डले एकलाख रकम पशु उत्पादनका लागि उनीहरुलाई रकम सहयोग गरेको छ । त्यस्तै जिल्ला पशु सेवा कार्यालय बाँकेले पनि प्राविधिक सहयोग, घाँसको बिउँ लगायत सहयोग गरेको छ । पशु पालनले आफुहरुको जोस जाँगरलाई थप बढाउदै लगेको पोख्रेल दम्पत्तीको अनुभव छ । उनले आफ्ना सम्पुर्ण गाईहरुलाई १६ लाखको विमा पनि गराएका छन् । गतवर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार समेत प्रकृती गाई फार्मले प्राप्त गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १९ गते शुक्रबार