28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

 भावनात्मक पत्र : मायाकी खानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२  

 शुबिहानी !

मानिसहरु भन्छन् छोराछोरी आफ्नै शरीरको विस्तारित रुप हो भनेर । सायद यसो भन्नुको मतलब भौतिक रुपमा सधैं सँगै हुनु भनेको होला । तर, तिमी हाम्रो प्रेमको, भावनाको, कल्पना, चाहना, धेरै कुराको विस्तारित रुप हौ । पत्र मार्फत तिमीलाई हाम्रो बाध्यताका निहँु सुनाएर आफ्नो मनको असन्तुष्टि, ग्लानी र पछुतो पखाल्ने प्रयास गर्दैछौं । हुन त तिमीले एउटै प्रश्न; “मम्मी बाबा, तपाइँहरुको लागि प्राथमिकता म हो या अरु केही ?” भनेर सोध्यौ भने हाम्रा यि सबै कुराहरु व्यर्थ हुन्छन्, हरेक कारणहरु अफसोच हुन्छन् । यत्ति सम्झ, यो तिम्रो बाबुआमाको मन बुझाउने एउटा बहाना हो ।

तिमी गर्भमा आयौ । हाम्रो प्रेमको प्रतीक तिमी यो धर्तीमा आउनुपूर्वको तिम्रो प्रतिक्षा तिम्रो जन्मसँगै पुरा भयो । नौ महिनासम्म तिमीलाई कोखमा बोक्दादेखि नै शारीरिक रुपमा अलि कमजोर भएँछु । त्यसैले तिमी नौ महिना पुग्नु १५ दिन अघि नै अप्रेशन गरेर यस धर्तीमा पैदा गर्यौँ । सब दुखाई र पिडा बिर्सीएर तिम्रो कोमल शरिर सुम्सुम्याउँदै, हेर्दै रमाउँदै गर्दा अचानक तिमी गहिरो बिमारी हुन पुग्यौ । तिमी १६ दिनकी थियौ । तिम्रो जन्म र हाम्रो खुशि सपना जस्तै भयो । एक महिनासम्म तिमीलाई हस्पिटलमै राख्यौँ । धन्न, विज्ञान र प्रविधिको यो आधुनिक युगमा तिमीले रोगलाई जित्यौ र हामीलाई हर्षविभोर बनायौ । छोरी खास कुरा के भने नि, तिमी जन्मेको ३ महिना पुगेर ४ लाग्दा नलाग्दै तिमीलाई घरमा छाडेर हामी काममा हिंड्न बाध्य भयौँ । साह्रै मन पोल्छ यो कुराले ।

Fullscreen capture 312016 31207 PM

सधैं विवाद भयो मनभित्र, मनमनै द्वन्द्व चल्यो, धर्म, कर्म र प्रेम विचको भिन्नतालाई लिएर । वाध्यता, परिस्थिति, बहाना र सम्बन्धबिचको प्राथमिकतालाई लिएर । तिमी हाम्रो प्रेम, तिमी हाम्रो जिम्मेवारी, प्राथमिकता जे भने पनि तिमी हौ हाम्रो, अनि फेरी हाम्रो काम ? जसले तिम्रो बाबुआमालाई एक बनायो जिवनभरलाई । हाम्रो कर्म हाम्रो धर्म पनि त हो छोरी । तर कहिलेकाहीँ मन भारी हुन्छ, अनि आफ्नै मनले आफैँसँग प्रश्न गर्छ, दुनियाँ हँसाउन हिँडेका हामीले कतै तिमीलाई पो रुवायौँ की ?

तिमी जन्मिदै हाम्रो भाग्य बनेर जन्मिएकी छौ छारी । तिमी जन्मेपछि नै हामीलाई सरकारले सरसफाई दुत घोषणा ग¥यो । सारा देशभर बाट फोहोरमैला हटाउने, स्वच्छताको एउटा अभियन्ता बनायो । तिमीलाई छोडेर हामी देशका ३० जिल्ला गयौं । सरसफाइ सम्बन्धी चेतना फैलायौं । तर कसम, हरेक साँझ तिम्रो सम्झनामा मन आत्तिन्थ्यो, रुन्थ्यौं हामी तिमीलाई सम्झेर । पूर्व मेचीदेखि पश्चिम कालीसम्म पुग्दा हरेक निर्दोष बाल चेहरामा हामी हामै्र निर्दोष तर सजाय पाइरहेकी शुविहानीको देख्थ्यौँ ।

xori1
छोरी, त्यसपछि पनि हामी तिमीबाट अझै टाढा, सात समुन्द्र पारी अमेरिका प्रस्थान गर्यौँ । त्यतिबेला तिमी १४ महिनाकी थियौ । दुध चुसाउन नपाउँदा छाति नै अपवित्र भएको भानले साह्रै मन पोल्थ्यो । सबभन्दा ठूलो पाप गर्दैछु की भन्ने पीरले कयौँ रात निदाउन सकिन । छोरी, हामीलाई सबैभन्दा असह्य बज्रपात तब प¥यो, जतिबेला ७.६ म्याग्नीच्युडको महाभूकम्प गयो देशमा । भूकम्पका कारण यता देशमा धरहरा ढल्दै थियो, घर, भवन र संरचनाहरु ध्वस्त हुँदै थिए, उता हाम्रो मनमा त्यो भन्दा ठूलो कम्पन जारी थियो । काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, गोरखा ध्वस्त भएको, हजारौं मानिसहरु पुरिएका र ज्यान गुमाएका खबरहरु सबभन्दा ठूलो सनसनी हाम्रै लागि भयो होला । नहोस् पनि कसरी, हाम्रो मुटुको टुक्रा त्यही भूकम्पको भूमरीमा छ । धेरै बेर फोन लागेन, अत्तोपत्तो छैन । छोरी, साँच्ची त्यो बेला हामी दुवै पागल नै भएका थियौं । न शरीरले काम गर्छ न दिमागले । तिमीलाई छोडेर आएको ग्लानीले यत्ति पोल्यो नि, मुटु नै खरानी भएको आभाष भयो । क्वाँ क्वाँ डाको छोडेर रुन पनि सकिन । छोरी, साँच्चै भन्दा मैले आमाको महत्व त्यो बेला मात्र बुझें । मेरी आमा पनि त्यहि भूकम्पको भूमरीमा हुनुहुन्थ्यो नी, तर कसम होला मलाई तिम्रो मात्र याद आयो । माया साँच्चै उँदो बग्दो रहेछ । त्यो मायाले आमाको महत्व र माया कस्तो हुँदो रहेछ भन्ने कुराको महसुस गरायो ।

जब फोनमा तिमी सकुशल रहेको थाहा पायौं, अनिमात्र सास फेर्न सकियो । छोरी खै कसरी बाच्यौं हामी त्यो पलसम्म, सास फेरेको सम्झनै छैन । हामी अमेरिका हाम्रो कर्मका लागि गएको । हाम्रो धर्म नै मानिसको मुहारमा मुस्कान ल्याउने हो, तर सुविहानी, तिम्रो मुहारको मुस्कान हामीलाई लामो समयसम्म खड्कियो । तिम्रो सानो आवाजले त्यो बेला हामीलाई फेरी एकपटक जिवन दियो छारी । दिनदिनै टि भि, पत्रपत्रिका र अनलाइनहरुमा आउने समाचार र तस्विरहरु, सामाजिक सञ्जालमा देखिएका चित्रहरुले हामीलाई घायल बनायो । हजारौं मानिसहरु पुरिएको, ज्यान गुमाएको खबरले हामीलाई हँसाउन दिएन । अमेरिकामा कार्यक्रम गरेर हँसाउन मनले मान्दै मानेन । हामी सबै कार्यक्र रद्द गरेर तुरुन्तै नेपाल फर्कियौं । अमेरिकामै हुँदा सानो बच्चा पुरिएको र जिवितै उद्धार गरिएको अनि अर्को त्यस्तै बच्ची पुरिएको ठाउँमा मृत भेटिएको दृश्य हेर्दा त म चिच्याउन पुगेंछु थाहै नपाई । हामी नेपाल फर्कियौं, एयरपोर्ट देखिनै मन कुँडिन थाल्यो । त्रास, हतास, पीडा, आतेस सबै एकैपटक महसुस भयो । हामी सिधै तिमीलाई भेट्न घर आइपुग्यौं । आउने वित्तिकै तिमीलाई च्याप्पै अँगालो मारेर रुन थालेंछु । तिम्रो निदोंश हातको स्पर्श, सासको गन्धले मभित्र प्राण भरिदियो छोरी । तिमी मुसुक्क मुस्कुरायौ हामीलाई हेरेर । त्यतिबेला मैलै तिमीलाई देवीको रुपमा देखें । यति मिठो मुस्कान सहित, कति सजिलै हामीलाई माफ ग¥यौ है । पछि मात्र थाहा भयो भूकम्पमा परी मेरी आमाको ढाड भाँचिएको रहेछ । मैले आमाको बारेमा त सोच्नै भुलेको रहेँछु । तिमीलाई भेटेपछि मात्र याद आयो । आमाको मनले पनि सजीलै माफ गरीदिनुभयो ।

xori
तिम्रो मुस्कानले हामीलाई आनन्दित मात्र बनाएन उर्जा र शक्ति पनि दियो । तिम्रो हाँसो देशभरका भूकम्पपीडितहरुको मुहारमा ल्याउन मन लाग्यो । कति तिमी जस्तै बालबालिका होलान् जसको हाँसो हरायो होला यो भूकम्पसँगै, कति विचल्लिमा परे होलान् भन्ने पीरले औडाहा भयो । मन मान्दै मानेन चुप लागेर बस्न, तिम्रो हाँसोको उर्जा लिएर हामी फेरी हिंड्यौं सकेसम्म धेरैको आँसु पुच्छ्न । फेरी तिमीलाई छाड्यौं हामीले छोरी । तिमी बुझ्छ्यौ होला नी यति ज्ञानी छौ । तिमीलाई एक्लै पारेर भएपनि तिमी जस्तै अवोध बालबालिकाको पीडाहरु कम गर्न निस्एिका हौं छोरी हामी । गाँस, बास, कपास नै गुमाएकाको सानो भएपनि साहारा बन्न हिंडेका हौं हामी । आखिर तिमी त हामी नहुँदा पनि तिम्रा बाबुआमा जति नै माया गर्ने, ठूलोबाबा, ठूलोमामुको साथमा छौ नी । वहाँहरुको साथको हामी पनि सधैं ऋणी छौं । भूकम्पमा कतिले त बाबु आमा र आफन्त नै गुमाएर टुहुरा समेत भएका छन् । त्यसपछि हामी अहोरात्र उद्धार र राहत वितरणमा लाग्यौं । सानै भएपनि धेरै ठाउँमा सहयोग बाँड्न सफल भयौं । तिमीलाई एक्लै रुवाएर भएपनि धेरै ओठहरुमा मुस्कानको बिऊ रोप्यौं । यो बेला फेरी कर्मले हामीलाई जित्यो । ११ वटा जिल्ला पुगेर, म्याट, त्रिपाल लगायतका आवश्यक सामाग्री बाँड्यौं । हाम्रो टेलिसिरियल छायङ्कन स्थानमा पुगेर धेरै सहयोग वितरण ग¥यौं । नुवाकोटको ओखरपौवामा ४० वटा चर्पी निर्माण ग¥यौं । नुवाकोटकै महाकाली निमाविको ७ कोठे भवन निर्माण सकेपछि त्यहाँका बालबालिकाको खुशी हामीलाई तिम्रो हाँसो जस्तै लागेको थियो । उनीहरुलाई, झोला, कापी, किताब वितरण गर्दा हामीलाई एकदम आनन्द भएको थियो छोरी ।

त्यसपछि हामी अर्को महान काममा लाग्यौं । काभ्रेको डाँडागाउँको पहरी बस्तीमा एउटा बस्ती नै बसाल्न सफल भयौं जसलाई हामीले धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती को नाम दियौं । १८ परिवारले ति घरमा ओत पाए । तिमीजस्ता धेरै बच्चाहरु यो जाडोमा कठ्याङ्ग्रिनु परेन छोरी । यो झण्डै ३ महिनाको अवधिमा मैले त तिमीसँग कहिलेकाहीँ भेटीरहेँ । तिम्रो बाबाले १÷२ पटक मात्र भेट्न पाउनुभयो । आशा छ तिमीले हामीलाई बुझ्ने छौ । आजभोली पनि त हामी विभिन्न कार्यक्रममा हिंडी रहन्छौं । धुर्मुस सुन्तली सरसफाइ अभियान देशभर जारी छ । अचेल त तिमी हाँसी हाँसी विदा दिन्छौ । साह्रै आनन्द लाग्छ । तिम्रो माया हाम्रोलागि शक्ति हो छोरी । यहि मायाको साहारामा हामी बाँचुञ्जेल सबैलाई हँसाइरहने पहल गर्ने छौं । तिमी पनि सधैं यसरी नै हाँसीरहनु ।

उहि, तिमीलाई धेरै माया गर्ने
बाबा, मामु÷धुर्मुस, सुन्तली
यो पत्र बिबिसी मिडिया एक्सनको कार्यक्रम साझा सवालमा प्रशारण भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२     4:46:22 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *