नारायण न्यौपाने/प्रकाश सिलवाल काठमाडौं, माघ २६
लामो समयदेखि अर्बुद (क्यान्सर) रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म जुटिरहेका थिए। उनलाई पुनः पार्टी सभापतिका प्रत्यासीका रुपमा समेत हेरिएको थियो । पार्टीमा तीन प्रमुख नेता (आफू, शेरबहादुर देउवा, रामचन्द्र पौडेल) मध्येका प्रमुख कोइरालाको निधनले काँग्रेसमा अपूरणीय क्षति पुगेको छ। उनको निधनसँगै महाधिवेशनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगन भएको छ।
सहमति, सहकार्य र मेलमिलापका अगुवा
त्यागी र निष्ठावान् नेताका रुपमा स्थापित तथा सादा जीवन एवम् उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यतामा दृढ थिए।
पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो। उनको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने कृष्णप्रसाद कोइरालादेखि जोडिने पारिवारिक शृङ्खलामा सुशील पनि एक थिए। उनका ६ भाइ र तीन दिदीबहिनी छन् ।
दोस्रो संविधानसभामा ठूलो काँग्रेस पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए।
निर्वासन र कारागार यात्रा
राजनीतिका क्रममा डेढ दशक निर्वासन जीवन व्यतित गर्नुभएका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ परेका थिए। पक्राउपछि उनलाई दिल्ली कारागारमा राखिएको थियो । कारागारमा रहँदा उनले अत्यन्त क्रूर र अमानवीय यातना भोग्नुपरेको थियो ।
६ वर्ष जेल जीवन र निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किएर उनी सभापति विश्वेश्वरप्रसाद कोइराला र नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागेका थिए। जननायक विश्वेश्वरप्रसादको निधनपछि पार्टी कामका लागि उनी युरोपेली मुलुकमा खटिएका थिए।
युरोपबाट स्वदेश फर्किएर उनी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिए। विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उनको सक्रिय भूमिका थियो । विसं २०४८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए। उसबेला मन्त्री पदका लागि आग्रह गरिँदा उनले सार्वजनिक पदभन्दा पार्टीलाई प्राथमिकता राखेर पार्टीकै काममा खटिएका थिए।
विसं २०५६ को संसदीय निर्वाचनमा उनी पुनः बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए। विसं ०६२÷६३ को जनआन्दोलनमा उनले अहम् भूमिका निर्वाह गरेका थिए।
विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उनी बाँकेबाट पराजित भएका थिए। त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी बाँके र चितवनबाट सभासद्मा विजयी भएका थिए।
सार्कस्तरमा कोइराला
कोइरालाकै प्रधानमन्त्रीत्वकालमा गत ०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन भूमिका निर्वाह गरेका थिए। कोइराला ‘सोसलिस्ट इन्टरनेसनल’को उपाध्यक्षसमेत बन्नेका थिए।
बिपीदेखि गिरिजाप्रसादसम्म नजिक
नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गरेका थिए। उनले पत्रकारका रुपमा काम गरेका थिए। उनका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गरेका थिए। रासस
प्रतिक्रिया दिनुहोस्