तुल्सितपुर- थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीको नेतृत्वमा ‘थारु युवा स्वयंसेवक’ दस्ता गठन भएको छ। दाङको तुल्सिपुरमा आयोजित तीन दिने राष्ट्रिय भेलाले ११ सदस्यीय स्वयंसेवक दस्ता गठन गरेको हो। थरुहट थारुवान संयुक्त संघर्ष समितिले गर्दै आएको थारु आन्दोलनलाई सशक्त र निर्णायक बनाउन युवाहरु परिचालन गर्ने उद्देश्यले दस्ता गठन गरिएको भेलाले जनाएको छ। भेलाले देशभरिका जागरुक युवालाई यही दस्तामा गोलबद्ध गर्नेसमेत निर्णय गरेको छ।
त्यस्तै चितवनदेखि झापासम्मका युवाहरुको लागि बाराको पथलैयामा युवा भेला गर्ने बताइएको छ। दाङमा आयोजित भेलामा पूर्वी तराईका युवाहरु यातायात कठीनाइले उपस्थिति हुन नसकेपछि उनीहरुका लागि पथलैयामा भेला राख्ने निर्णय भएको अध्यक्ष चौधरीले बताए।
भेलाले थरुहट थारुवान संयुक्त संघर्ष समिति प्रभावकारी बनाउन नेतृत्व तहलाई भौतिकरुपमै आन्दोलनमा होमिन दबाब दिने बताएको छ। ‘थारुहरुको साझा मुद्दा र सबालमा सम्पूर्ण राजनीतिक दलका थारु सभासद् एवं नेताहरुलाई एकताबद्ध भएर सामूहिक संघर्षको लागि गोलबद्ध गराउने,’ निर्णयमा उल्लेख छ।
भेलाले हरेक जिल्ला र गाउँगाउँमा जनजागरण र भण्डाफोर अभियानसमेत सञ्चान गर्ने भएको छ। त्यसका लागि ‘एक गाउँ सय थारु युवा जाउँ’नामक अभियानको थालनी गर्ने भेलाले निर्णय गरेको छ।
थारु आन्दोलन र पहिचानविरोधी तत्वहरुलाई खबरदारी गर्दै राजनीतिक समाजिक बहिष्कार गर्ने भेलाको निर्णयमा उल्लेख छ। त्यस्तै भेलाले दैनिक उपभोग्य र पेट्रोलियम पदार्थमा कालोबजारी गर्नेहरुलाई कडा कारबाही गर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस्