8 September 2024  |   आइतवार, भदौ २३, २०८१

जलवायु सम्मेलनमा ओबामाले भने– अमेरिकाले आफ्नो भूमिका बुझेको छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२  

पेरिस, मंसिर १५ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रसंघीय जलवायु सम्मेलन एक महत्वपूर्ण घुम्ती हुन सक्ने बताएका छन् ।

फ्रान्सको राजधानी पेरिसमा हिजोबाट शुरु भएको जलवायु सम्मेलनमा बोल्दै ओबामाले विश्वव्यापी तापमान बृद्धिमा सहायक मानिने हरितगृह ग्यासको दोस्रो ठूलो उत्सर्जक राष्ट्रका रुपमा अमेरिकाले समस्या सिर्जनामार त्यसको समाधानमा आफ्नो भूमिका बुझेको बताए । उनले जलवायु परिवर्तनले परेको संकट समाधानका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति ओबामाले जलवायु परिवर्तनको समस्या निम्त्याउन अमेरिकाको पनि भूमिका रहेको स्वीकार गर्दै यसको अन्त्यका लागि आफूहरुले पनि जिम्मेवारी लिएर सजग भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पहिलो ठूलो उत्सर्जक राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङले जलवायु परिवर्तनसम्बन्धी हुने सन्धीले गरिब देशका लागि सहायताको विषय पनि समेट्ने बताए । उनले गरिब देशका जनताको जीवनस्तर सुधार गर्ने मौका दिनुपर्ने बताए ।

वातावरण प्रदुषण गर्ने कार्बन सबैभन्दा बढी उत्सर्जन गर्ने देशको सूचीमा चीन अगाडि छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ । १४७ देशका नेता सहभागी दुई हप्ते सम्मेलनमा विश्वमा बढ्दो हरितगृह ग्याँस, प्रदूषित नदी, इन्धनको बढ्दो खपत र पानीको बचतलगायत विषयमा छलफल गरिने छ ।

यो सम्मेलनले विश्वको बढ्दो तापक्रम नियन्त्रण गर्नका लागि सहमति काम गर्ने बताइएको छ ।

पेरिस आक्रमणका कारण अत्यन्त कडा सुरक्षा व्यवस्थाबीच शुरु भएको सम्मेलनको उद्देश्य जलवायु सम्बन्धमा एक कानुनी बाध्यकारी र सर्वसम्मत सम्झौता गर्नु रहेको छ । त्यसैगरी ग्लोबल वार्मिङलाई २ डिग्री सेल्सियसभन्दा कम राख्ने समेत सम्झौता हुन सक्ने बताइएको छ । (एजेन्सी)

प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२     1:39:53 PM  |