18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नेपालगन्ज सिमा नाकामा आन्दोलनकारी र प्रहरी बिच झडप । दशगजा पारीबाट सयौंको सँख्यामा पेट्रोलबम प्रहार ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२  

तिलक गाउँले, नेपालगन्ज १५ मंसिर
नेपालगन्जको सिमा नाका जमुनाहामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरी बीच गएराति झण्डै दुइ घण्टासम्म झडप र ढुंगामुढा भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले दशगजाबाट प्रहरीलाई लक्षित गरी सयौंको संख्यामा पेट्रोलबम प्रहार गरेका छन् ।
पेट्रोल बम लागेर एकजना प्रहरी जवान घाइते छन् । राति करिब ८ बजेबाट दोहोरो झडप सुरु भएको थियो । प्रहरीले दशगजामा गाडिएको आन्दोलनकारीको टेण्ट नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएकोे हो । प्रहरीले आन्दोलनकारी धर्नामा बस्ने टेन्ट नियन्त्रणमा लिएपछी आक्रोसित मोर्चा कार्यकर्ताले प्रहरी माथि लगातार २ घण्टासम्म ढुंगा र पेट्रोल बम हानेका थिए । प्रहरीले आफनो भुमि सुरक्षित गर्न थालेपछी मोर्चाका कार्यकर्ताहरु दसगजा पारी भारतमै गएर ढुंगा र पेट्रोलबम प्रहार गरेका थिए । प्रहरी र आन्दोलनकारीहरुको लगातार ढुंगा र पेट्रोलबम हानहान भएपनी दुई घण्टासम्म भारतीय सीमा सुरक्षा बल (एसएसबी) चुपचाप बसेको थियो । तर, दोहोरो ढुंगा हानाहानले स्थिति थप तनावग्रस्त हुन थालेपछि करिब १० बजेतिर एसएसबीले माइकिङ गरेर दशगजा र आफनो भुमिमा रहेका आन्दोलनकारीलाई हटन दबाब दिएको थियो । मोर्चा कार्यकर्ताहरु आइतवारदेखि दशगजामै टेण्ट गाडेर बसेका हुन् । यसअघि उनीहरु नाकामा जाने र धर्नामा सहभागी भएर फकिर्ने गरेका थिए । तर, टेण्ट गाडेर राति पनि धर्ना दिन थालेपछि प्रहरीले एक्सन लिएको प्रहरीले जनाएको छ । यसैबिच हिजो २ घण्टा सम्म तनाबग्रस्त बनेको जमुनाहा अहिले भने केही शान्त बनेको छ । मोर्चाका कार्यकर्ताहरु दसगजामा नआएपनी भारतिय सिमा बजार रुपैडियाजमा जम्मा भएका छन । सिमा क्षेत्रमा नेपाल प्रहरी र ससस्त्र प्रहरीको बाक्लो तैनाथी बढाइएको छ । आज बिहान नेपाल तर्फ रोकीका केही गाडीहरु समेत भारत तर्फ पठाइएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १५, २०७२     9:03:44 AM  |