दुई लाख लिटर एसिड बोकेको रेल दुर्घटना



अस्ट्रेलिया, पुस १३ । अस्ट्रेलियामा एसिड बोकेको एउटा रेल दुर्घटना भएको छ । दुई लाख लिटर सल्फ्युरिक एसिड बोकेको रेल क्वीन्सल्याण्ड राज्यको पश्चिमोत्तर क्षेत्रमा दुर्घटना भएको हो ।

सो रेलमा एसिडका साथै डिजेलसमेत रहेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा रेलका तीन कर्मचारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताललगिएको छ ।

दुर्घटना भएको क्षेत्रमा आपतकालिन स्थिती घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएको क्षेत्रको दुई किलोमिटर दायरामा सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाका कारण जमिनमा कति एसिड पोखिएको छ भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरुको भनाई छ । दुर्घटना भएको क्षेत्र बाढीको चपेटामा परेका कारण उद्धारमा समेत कठिनाई भइरहेको छ ।

सल्फ्युरिक एसिड मानिसको छालामा पर्नासाथ त्यसले घाउ बनाउन सक्ने बताइन्छ । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ पुस १३ गते सोमबार