मंसिर २३
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि पत्र काटेका २९ प्रभावशाली अनुहारमा आफ्ना पार्टीका वरिष्ठ नेतासमेत परेपछि सत्तारुढ प्रमुख दुई बामपन्थी दलभित्र तरंग पैदा भएको छ । तर, विपक्षी काँग्रेसले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया बाहिर ल्याएको छैन् ।
अख्तियारको पत्र काण्ड एमालेको चितवन भेला र एमाओवादीको पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा बहसमा आयो । सो पार्टीले अख्तियारको पत्रले गंभीर आशंका समेत जन्माएको निश्कर्ष निकालेको छ । पार्टी सधै सुशासन, सदाचार र पारदर्शी जीवनशैलीमा रहेको दावी गर्दै एमाले भेलाले पूर्वाग्रही ढंगले प्रतिसोध साध्न गरिने कुनै पनि गतिविधिको विरोध गर्ने निर्णय गरेको छ । त्यसअघि बालुवाटारमा बसेको एमाले स्थायी समिति वैठकमा पनि अख्तियारको कदमको विरोध गरिएको थियो ।
तर, बुधवार प्रकाशित जनआस्था साप्ताहिकले प्रधानमन्त्री केपी शर्मा ओली र एमाले उप–महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलको अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीसँग दैनिक जसो टेलिफोन संवाद हुने खुलासा गरिदिएको छ । उक्त पत्रिकाले लेखेको छ, ‘थोरैमा पनि दिनमा एकचोटी प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेलसँग कुराकानी गर्ने कार्कीले एमालेभित्र ओलीहरुले नरुचाउने राजेन्द्र, सुरेन्द्र पाण्डेका दाजुभाईसहित इच्छाराज तामाङ र डा.बिजय पौडेललाई भ्याइदिएका छन् । यस अघि पूर्ववत्र्ती सरकारकी उर्जामन्त्री राधाकुमारी ज्ञवाली र खेलकुद मन्त्री पुरुषोत्तम पौडेल यस्तै डिजाइनमा सिद्धाइएका थिए भन्ने बुझ्न २९ भाईका नाममा एमाले परेको अनुहार हेर्दैमा स्पष्ट हुुने खालको छ ।’ एमालेभित्र माधव नेपाल समूहका नेतालाई छानी छानी पत्र काटिएको विषय उठेकै बेला एमाले नजिक मानिने साप्ताहिक पत्रिका जनाआस्थाले यसबारे समाचार प्रकाशमा ल्याएको हो ।
उता पार्टी केन्द्रीय समिति वैठकमा मंसिर २२ गते केन्द्रीय सदस्य विषमलाल अधिकारी (दनुवार) ले अख्तियारले पुर्वमन्त्रीहरुलाई काटेको पत्रले देशमा हल्लिखल्ली मच्चिदा समेत पार्टी चुपचाप बसेको बारे प्रश्न गरे । त्यसपछि उनको प्रश्नको जवाफमा प्रचण्डले अख्तियारको कदमबारे ब्रिफिङ गरेका थिए ।
प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले उठाएको विषय प्रक्रियागत रुपमा बेठीक भएको बताए । अधिकारीले ‘अख्तियारले हाम्रो पार्टीको महासचिवलाई समेत पत्र पठाएको छ, यसबारे पार्टीको आधिकारी धारणा आउनुपर्दैन ?’ भने प्रश्न तेर्साएपछि प्रचण्डले जवाफ दिएका थिए । अख्तियारले पत्राचारका लागी छनोट गरेको समय सामान्य नभएकाले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति सुशील कोइरालासँग कुराकानी भएको पनि प्रचण्डले जानकारी दिएका थिए ।
सत्तारुढ दुई दल एमाले र एमाओवादीभित्र अख्तियारको पत्रले तरंग पैदा गरेको भएपनि विपक्षी कांग्रेस भने मौन नै देखिएको छ । कांग्रेस नेताहरुको यस विषयमा कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन् । प्रधानमन्त्री चुनाव हारेपछि कांग्रेस अहिले विपक्षीमा छ । फागुनमा हुने १३ औं महाधिवेशनका लागि कांग्रेस नेताहरु अहिले दौडधुपमा छन् । अख्तियारले पत्र काटेका २९ अनुहारमा कांग्रेस समर्थक पूर्वप्रशासकहरु रहेपनि राजनीतिक नेताहरु भने छैनन् । ‘आफ्ना पार्टीका नेताहरुको नाम नभएकाले काँग्रेसले यसवारे मुख नखोलेको हो’ काँग्रेस एक केन्द्रीय सदस्य भने ।
एमाले र एमाओवादीका नेताहरुले भने अख्तियारका प्रमुख आयुक्त कार्की भारतीय योजना अनुसार अगाडि बढेको दावी गरेका छन् । ‘छानी छानी राष्ट्रवादी छवि भएका नेताहरुलाई पत्र काटनु सामन्य हुँदै होइन’ एमालेका नेताहरु भन्दै आएका छन्, ‘यसका पछाडि कार्कीको ब्याकअपमा कुनै अन्तराष्ट्रिय शक्ति छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।’
प्रमुख आयुक्त कार्कीको कार्यशैलीका विषयमा अन्य आयुक्तले समेत असन्तुष्टी जनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्