काठमाण्डु, १४ मंसिर– नेपालको लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट आवश्यक इन्धन र ग्यास ल्याउने भए आफूहरु ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएकी छिन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन्,‘ नेपालको संकट बारे हामी जानकार छौँ तर, ईन्धन र एलपी ग्यास हामी आफै उत्पादन गर्दैनौँ । हामी पनि उत्पादक मुलुकहरुबाट खरिद गर्छाँ । त्यसैले नेपालले तेस्रो मुलुकबाट ल्याउने हो भने हामी ट्रान्जिटको रुपमा बन्दरगाह प्रयोग गर्न दिन्छौँ ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा राजदूत साम्सले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको जानकारी दिँदै नेपाल सरकारले हवाई ईन्धनको कारोवारको लागि आग्रह गरिसकेको र त्यसमा आफूहरु सकारात्मक रहेको स्पष्ट पारिन् ।
नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै तत्काल मोटर भेईकल एग्रिमेन्ट गर्नु पर्ने आवश्यकता औल्याईन । उनले बंगलादेश छिमेकीसँगको सम्बन्ध क्षेत्रीय रुपमै राम्रो बनाउन चाहना राखेको भन्दै सार्क मुलुकका राष्ट्रहरुवीचको सम्बन्ध सुमधुर बनाउनु पर्ने बताईन् ।
उनले रोहनपुर सिहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने भन्दै नेपालबाट बंगलादेश निर्यात गर्न २०८ बस्तुमा शुन्य भन्सार गर्ने प्रस्तावलाई तत्काल नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने विश्वास ब्यक्त गरिन ।
राजदूत साम्सले नेपाल र बंगलादेशको ब्यापार बर्षेनि १२ देखि १५ प्रतिसतले बढीरहेको भन्दै यो वर्ष बंगलादेशबाट नेपालमा ४० वटा बस्तुको आयात कारोवार भएको जानकारी दिईन ।
सन् १९७१को बंगलादेश स्वतन्त्रता आन्दोलनमा नेपालले नैतिक र भौतिक सहयोग गरेको स्मरण गर्दै बंगलादेशले पनि नेपालमा महाभुकम्पपछि तत्कालै खाद्यान्न, मेडिकल टिम, औषधीसहित १२ मिलियन डलरको सहयोग गरेको जानकारी दिईन ।
नेपाल र बंगलादेशवीच ऐतिहासिक सम्बन्ध भएको उल्लेख गर्दै नेपालको ठमेलमा आएर बौद्ध धर्म प्रचार गरेका दिपंकर बंगलादेशको बिक्रम पुरमा जन्मेको बताईन ।
साम्सले बंगलादेश ससरकै पाँचौ धान उत्पादक , चौथो माछा उत्पादक र रेडिमेट गार्मेन्ट, छाला र ईलेक्ट्रोनिक बस्तुको उत्पादक भएकोले नेपालले बंगलादेशसँगको ब्यापारबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरिन ।
उनले नेपालको उर्जा विकासकोलागि साझेदारी गर्न बंगलादेश तयार रहेको भन्दै त्यससँगै जारी छात्रबृत्तिले कालान्तरमा दुई मुलुकका जनताबीचको सम्बन्धलाई अझै जनस्तरबाटै बलियो बनाउने विश्वास गरिन ।
प्रतिक्रिया दिनुहोस्