काठमाडौँ ।
पूर्वकराते खेलाडी तथा प्रशिक्षक नारायणदेव राणाले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली काँग्रेसको भातृ संगठनको रूपमा ११ वर्ष अगाडि गठित लोकतान्त्रिक खेलकुद संघको निर्वाचन यही भदौ २२ गते हुँदैछ । निर्वाचनमा देशभरबाट ९०० भन्दा बढी खेलकुदमा आबद्ध व्यक्तिले मतदान गर्नेछ । नारायणदेव नेपाली काँग्रेस ललितपुर क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि हुन् ।
नारायणदेवले पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरे । उम्मेदवारी घोषणा कार्यक्रममा वागमती प्रदेशका पूर्वखेलकुदमन्त्री मीनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, करातेका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ (माने), साफका स्वर्णधारी गंगाराम महर्जन, रवि महर्जन लगातयको उपस्थिति थियो ।
नारायणदेवले निष्क्रिय संघलाई चलायनमान बनाउने र संघको उद्देश्यअनुसारको काम गर्ने लक्ष्यका साथ नेतृत्वमा आउने चाहेको धारणा राखे । ‘खेलकुद विकासको ठुलो जिम्मेवार निकाय रहेर पनि विगतमा हाम्रो संगठनले खेलकुद क्षेत्रमा खासै प्रभावकारी काम गर्न सकेको देखिएन । मेरो लक्ष्य निस्कृय संघलाई चलायनमान बनाउने र उदेश्य छुने हो,’ कार्यक्रममा नारायणदेवले भने ।
पूर्वमन्त्री महर्जनले खेलकुद क्षेत्रमा गर्ने प्रशस्त कामहरू भएता पनि विगतको नेतृत्व असक्षम बनेकोले लोकतान्त्रिक खेलकुद संघ जोगाउन राणाको समर्थनमा आएको बताए । उनले भने, ‘पुरानो नेतृत्वले काम नै गरेन । अब काम गर्ने सक्षम व्यक्ति त चाहियो । नारायणदेवमा त्यो क्षमता छ ।’ नारायाणदेवले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघमा सन् २००७ र सन् २०१० मा गरी दुई पटक अध्यक्षको जिम्मेवारीमा रहँदा आफ्नो नेतृत्व क्षमता पुष्टि गरेका थिए ।
कराते खेलाडीका रूपमा सन् १९८५ देखि १९९९ सम्म सक्रिय रहँदै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएका नारायणदेवले १९९२ को दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण तथा १९९१ को एसियन एसकेएफ शिखर कराते डो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । उनले प्रशिक्षकको रूपमा २००६ दोहा एसियाड, २०१२ हडकड र २०१८ इन्डोनेसिया एसिया प्यासिफिक कराते प्रतियोगितामा नेपाली टोलीलाई नेतृत्व गरेका थिए । करातेको अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा पनि उनले लामो समय योगदान गरेका छन् । नारायाणदेवले नेपाल कुस्ती संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्