काठमाडौँ महानगरद्वारा ढाँटलाई दुई लाख रूपैयाँसहित सम्मान



काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाख रूपैयाँसहित सम्मान गरेको छ । यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रूपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ । खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ ।

सम्मान कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो । यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो । उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए । कार्यक्रममा केसीले भने, ‘महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ ।’

नेपालका रवीन्द्र ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । सम्मान ग्रहणपछि ढाँटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए । उनले भने, ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ।’

त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय ब्यहोरेको थियो । खोखो टोलीका कप्तानले मन्तव्य राख्दै सम्मानले हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे । उनले भने, ‘हामी खो–खो खेलमा जाँदा जस्तो उत्साह थियो, त्यस्तै उत्साह अहिले काठमाडौँ महानगरपालिकाले सम्मान कार्यक्रम गरेर थपिदिएको छ । हामी खेलाडीको तर्फबाट यो सम्मानले निकै खुसी लागेको छ । गुरुहरू र सबैलाई धन्यवाद दिन चाहन्छु ।’

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार