एनपिएल अक्सनमा ध्यान खिँचेका सुदूरपश्चिमका दुई बलर



काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि शनिबार भएको अक्सनमा विभिन्न आठ टोलीले ३७ खेलाडी भित्र्याए । पाँच टोलीले ५–५ खेलाडी र बाँकी तीन टोलीले ४–४ खेलाडीलाई टोलीमा भित्र्याएसँगै सबै टोलीमा नेपाली खेलाडीको सङ्ख्या ११–११ पुग्यो । अक्सनमा नाम चलेका तथा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीमा सबैको आँखा थियो । जसमा आदिल अन्सारीलाई भित्र्याउन आठ टोली नै अग्रसर देखिएका थिए ।

अक्सन दुई युवा बलरमा पनि टोलीहरूको चासो देखियो । नेपालको यू–१९ टोलीबाट खेलिसकेका युवराज खत्री र अस्ट्रेलियामा बसेर स्थानीय क्रिकेट खेलिरहेका आदित्य महतालाई एकभन्दा बढी टोलीले भित्र्याउने चासो देखाउँदा अधिकतम मूल्यमा ब्रिकी भए । आदित्य कञ्चनरपुर कृष्णपुरका हुन् । देब्रे हाते स्पिनर आदित्य गत वर्ष अस्ट्रेलियाको महिला टोलीका लागि नेट बलर बनेसँगै चर्चामा आएका थिए । महिला टोलीको विश्वकपको तयारीको क्रममा महताले अस्ट्रेलियाको महिला टोलीका लागि नेट बलिङ गर्ने मौका पाएका थिए ।

उनले अस्ट्रेलियाको विभिन्न स्थानीय टोलीबाट समेत खेलेका छन् । आदित्यले सुदूरपश्चिमको सिनियर टोलीबाट खेलिसकेका छन् । उनले सन् २०२२ मा प्रधानमन्त्री कप खेलेका थिए । त्यतिबेला उनले सुदूरपश्चिमका लागि ४ खेलमा ९ विकेट लिएका थिए । त्यसपछि अस्ट्रेलिया गएका उनले यो सिजनको एनपिएलका लागि सी श्रेणीमा नाम दर्ता गराएका थिए । न्यूनतम २ लाख रूपैयाँबाट उनीमाथि बोली लाग्दा अधिकतम ५ लाख रूपैयाँ भित्र्याउन सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स तयार देखिएका थिए ।

अन्ततः उनी ‘लक्की ड्र’मार्फत जनकपुरमा ५ लाखमा आबद्ध हुन सफल भए । दोस्रो सिजनको अक्सनमा ‘सी’ श्रेणीबाट अधिकतमा ५ लाखमा बिक्री हुने दुई खेलाडीमध्ये आदित्य एक हुन् । अर्का ‘सी’ श्रेणीका खेलाडी विशाल पटेल पनि ५ लाख रूपैयाँमा लुम्बिनी लायन्समा आबद्ध भएका खेलाडी हुन् । यता १७ वर्षीय युवा लेग स्पिनर युवराज खत्रीमाथि पाँच टोलीले बोली लगाए । उनी यो सिजनको अक्सनका लागि ‘बी’ श्रेणीमा थिए ।

नेपालको यू–१९ टोलीबाट एसिया कप र विश्वकप छनोट खेलेका युवराज सिनियर टोलीका प्रशिक्षक स्टुअर्ट लको आँखामा परेका स्पिनर हुन् । पछिल्ला दुई वटा बन्द प्रशिक्षणमा लले उनलाई स्थान दिइसकेका छन् । भलै अन्तिम टोलीमा नपरे पनि उनलाई नेपाली क्रिकेटको भविष्यको रूपमा लिने गरिन्छ । अछाम जिल्लाको चौरपाटीका युवराज सानै उमेरमा क्रिकेटप्रति मोहित थिए ।

घरेलु ब्याट र बलले क्रिकेटको यात्रा सुरू गरेका युवराजलाई उनका दाई जीवनले आठ वर्षको उमेरमा क्रिकेट सिकाउन काठमाडौँ ल्याएका थिए । काठमाडौँको एन्जल हाट्र्स एकेडेमीमा भर्ना भएर पढाइ र क्रिकेट सँगै अघि बढाए । सुरुमा काठमाडौँ जिल्लाबाट क्रिकेट खेलेका उनले पछि सुदूरपश्चिम प्रदेशबाट घरेलु उमेर समूहका क्रिकेट खेले ।

त्यसपछि नेपालको उमेर समूहको टोलीमा परेका युवराजले गत वर्ष मुलपानीमा भएको यू–१९ विश्वकपमा छनोटमा उत्कृष्ट खेल देखाए । त्यतिबेला नेपाली यू–१९ टोलीका प्रशिक्षक शक्ति गौचनले युवराजलाई नेपाली टोलीको ‘ट्रम्प कार्ड’ भनेका थिए । उमेर समूहबाट सिनियर टोलीको बन्द प्रशिक्षणसम्मको यात्रा गरेका युवराजलाई भित्र्याउन एनपिएलका पाँच टोलीले चासो देखाए । उनलाई भित्र्याउन सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, विराटनगर र चितवनले बोली लगाएका थिए । लक्की ‘ड्र’मार्फत युवराज कर्णालीमा १० लाख रूपैयाँमा आबद्ध भए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार