हुम्ला ।
सात चरण पूरा गरेर सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालयले आयोजना गरेको यस वर्षको स्टार छनोट प्रतियोगितामा बखत सुनार प्रथम भएका छन् । आफ्ना पाँच जना सहयोगी प्रतिस्पर्धीलाई पछि पार्दै सुनारले प्रथम स्थान हासिल गरेका हुन् । बर्सेनि आयोजना हुँदै आएको बालमन्दिर स्टारमा यस वर्ष कक्षा दशमा अध्ययनरत छात्र सुनार पहिलो स्थान हुन सफल भएका छन् भने कक्षा दशकै छात्र दोर्पेस सुनार उपविजेता, कक्षा नौ की छात्रा शर्मिला शाही दोस्रो उपविजेता र कक्षा नौमा अध्ययनरत छात्रा अरुणिमा पुनमगर तेस्रो उपविजेता भएकी छन् ।
त्यसैगरी कक्षा आठकी छात्रा अनिशा लामा चौथो उपविजेता भएकी छन् । बालमन्दिर स्टारका सातौँ संस्करणको फाइनल चरणमा यो परिणाम आएको प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिए । स्टारमा बिजेता र उपविजेता छात्र÷छात्रालाई सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, सिमकोट गाउँपाकिला ५ का वडाध्यक्ष चीन रावत, शिक्षा विकास तथा समन्वय इकाई योगेस आलेमगर, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।
यसअघि ६ वटा चरण पूरा भइसकेका थिए । गायन क्षेत्रमा विद्यार्थीमा भएको कला र सीपलाई बाहिर ल्याउन विद्यालयले यो कार्यक्रम आयोजना गर्दै आएको छ । प्रतियोगितामा विद्यार्थीले आधुनिक, लोक, पप र सेन्टिमेन्टललगायत गीत गाएका थिए ।









प्रतिक्रिया दिनुहोस्