कोहलपुर, ७ मंसिर/ शहर बजारमा चुनावको रौनकता बढिरहेको बेला मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लाका वासिन्दाहरुलाई चुनावले छुन सकेको छैन । उनीहरु पहिलो चरणको निर्वाचन आउनका केही दिन मात्रै बाँकी रहेपनि कमाई गर्न भारत तर्फ गइरहेका छन् ।
मजदुरीको लागि भारत जाने नेपाली मतदाताहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको सिमा नाकामा हेर्दा प्रष्टै देखिन्छ । देशमा चुनावी सरगर्मी बढिरहेको बेला नेपालगन्ज भन्सार नाका हुँदै भारत जाने युवाहरुको संख्यामा कमि आएको छैन् ।
दैनिक ३ सय देखि ५ सय को हाराहारीमा युवाहरु नेपालगन्ज नाका हँदै भारत गइरहेको जमुनाहा ईलाका प्रहरी कार्यालय र आइएनएफ नेपालको तथ्याङमा रहेको छ । चुनाव आएर के गर्ने चुनावले खाना लाउन दिदैन, भारत जादै गरेका एक युवाले भने ।
चुनाव आएपनि वर्षभरीको परिवारको जोहो गर्नका लागि भारत जानै पर्नै सल्यान सारदा नगरापालिका–७ का नन्दविर कुमाईले बताए । स्थानीय तहमा पनि मतदान नगरेका कुमाईले यसपालि पनि भोट नहालेर भारतको हरियाणामा मजदुरी गर्नका लागि जान थालेको बताए ।
यस्तै कालिकोट धौलाका धन रोकाय पनि चुनावको मुखमा भारतको सिम्ला जादै छन् । कालीकोटमा यही मंसिर १० गते निर्वाचन हुँदैछ । तर निर्वाचन मुखमै हुँदा पनि मजदुरीका लागि भारत पस्नुपर्ने उनको बाध्यता छ । विगतका निर्वाचनमा नेताहरुलाई जिताए पनि गरिव दुखिको लागि मजदुरी बाहेक अरु कुनै विकल्प नभएकोले भोट नहालेरै भारत कमाउन हिडेको उनले बताए ।
स्थानीय सरकार आए पनि स्थानीय कै काम काजमा ढिलाई भएको बताउँदै आफु जस्ता युवा विदेशिनु परेको प्रति कसैको चासो नरहेको उनले गुनासो गरे । ‘घरमा खाना लाउनको लागि जग्गा छैन बालबच्चा पाल्नै प¥यो, त्यही भएर चुनावको मुख मै भारत कमाउन लागेको सल्यान लेकपोखरा–२ का राकेश नेपालीले भने ।’
नेपालगन्ज नाका हुँदै भारत कमाउन जाने दैनिक रुपमा बढदै गएका छन् । चुनाव नजिकिदै गर्दा पनि भारत कमाउन जानेको संख्यामा कमि नआएको जमुनाहा प्रहरी कार्यालयले जनाएको छ । मंसिर ५ गते नेपालगन्ज नाका हुँदै ४ सय ६२ जना भारत कमाउन गएको आइएनएफ नेपालको तथ्याङकमा उल्लेख गरिएको छ । यस्तै बुधवार ३ बजेसम्म ३ सय ९० जना भारत गएको तथ्याङक रहेको छ ।








प्रतिक्रिया दिनुहोस्