नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा आज साउने सङ्क्रान्ति तथा देउडा पर्व धुमधामका साथ मनाइँदै छ । कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वलाई विशेष महत्व दिएर आज सार्वजनिक बिदा पनि दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो । २०८१ चैत १७ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
आजको दिन तीनै तहका सरकारको चालू आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो । सरकारी तथा सांस्कृतिक दुवै हिसाबले आजको दिन निकै महत्वपूर्ण मानिन्छ । यस पर्वको अवसरमा कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज जुम्ली एकता सेवा समाज सुर्खेतले दिउँसो देउडाको आयोजना गरेको छ भने साँझ राँका बाल्ने तयारी छ । जुम्ला खलङ्गालगायत माथिल्लो कर्णालीका सबै जिल्लामा यो पर्व विशेष महत्वका साथ मनाइँदै छ ।
कर्णालीका हिमाली जिल्लामा अनौठो तरिकाले साउने सङ्क्रान्ति मनाउने प्रचलन छ । यहाँका जुम्ला, डोल्पा, मुगु, कालिकोट र दैलेखमा राँको बालेर मात्रै नभई एक बस्तीले अर्को बस्तीलाई ‘दिल खोलेर गाली गर्ने’ प्रचलन पनि छ । जुन अत्यन्त रोचक मानिन्छ । साउने सङ्क्रान्तिको साँझ, असार महिनामा धान रोप्दा लागेको हिलो पखाल्न र छाला रोगबाट बच्न लुतो फाल्ने प्रचलन छ । यस अवसरमा मिठा परिकारहरू खाने चलन पनि रहेको छ ।
कर्णालीको परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती जस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेको राक्षसको पूजा गरिन्छ । बेलुकी अगुल्टो फाल्ने विधि अहिले निकै चर्चित छ, जसलाई लुतो फाल्ने भनिन्छ। साँझ सबैले आआफ्नो घरको छत तथा आँगनमा सल्लाको झरोबाट आगो बालेर सोही बलेको आगो फाल्दै गाली गर्ने चलन छ ।
साउने सङ्क्रान्तिको दिन सम्पन्न गरिने लुतो फाल्ने विधिअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टी बजाउने र ढोका बन्द गर्ने गरिन्छ भने आज आफ्ना आफन्तहरुलाई घरमा बोलाएर खीर, पनिर, तरकारी, अचारलगायतका मिठा–मिठा परिकार बनाउँदै खाएर साउने सङ्क्रान्ति मनाइने चलन छ ।
जुम्लाका संस्कृतविद् रमानन्द आचार्यका अनुसार समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो–पुतो, रिस–राग, रोग–भोग, विकृत्ति–विसङ्गति सकिएर जाओस् भन्दै आज साँझ राँको बाल्ने र अन्तमा जलेर सकिन लागेको राँकोसँगै विकृत्ति र समस्याको कुटिरो (पोका) फालेर साउने सङ्क्रान्ति मनाइँदै छ । यता जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले सुर्खेतमा दिनभर देउडा खेल्ने र बेलुका राँको बालेर लुतो फालेर साउने सङ्क्रान्तिको समापन गर्ने तयारी रहेको बताए ।
उनका अनुसार साउने सङ्क्रान्ति पर्व देशभर मनाइरहँदा परम्परागतरूपमा कर्णालीमा भने फरक तरिकाले मनाउने मान्यता स्थापित भएको छ । साउने सङ्क्रान्ति सबैतिर मनाइने भएपनि यसका विधि एवं प्रक्रियामा एकरुपता पाइँदैन । धेरैजसो भेगमा भने यस दिन आफ्नो खेतबारीमा उत्पादन भएका वा पाकेका फलफूल चढाउने, कतिपय औषधीय वनस्पतिलाई घरमा सजाउने गरिन्छ । कण्डारक नामक रात्रिचर (राति हिँड्ने)को पूजा गरिन्छ । त्यसपछि ‘उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सकाल आइज’ भन्दै अगुल्टो फ्याँक्ने प्रचलन छ । वर्षायामसँग हैजा, घाउ–खटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ । फलफूल, नैवेद्य चढाएर कण्डारकको पूजा गरेपछि दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ । यस दिन नुहाएर तिउरी लगाउने पनि चलन छ । यसैगरी अनिकाल वा प्राकृतिक विपत्ति झेल्न नपरोस् भनी कामना गरिन्छ । अन्नदाता एवं प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिन्छ ।
ज्योषित विज्ञान र धार्मिक आस्थानुसार
ज्योषित विज्ञानअनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्छ । त्यही कारण यस दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यस दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ लाग्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ । सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
धार्मिक आस्था राख्नेहरुले यस महिनालाई पवित्र मान्ने गर्छन् । यस अवधिमा स्नान, होम, श्रद्धा, दान जस्ता काम गर्नु लाभदायक हुने विश्वास छ । साउनको पहिलो दिनदेखि नै सौभाग्यको प्रतिक र वस्त्र पहिरिने गरिन्छ । महिलाहरुले हात एवं नङमा मेहेन्दी लगाउने चलन छ ।
भगवान शिवको पूजा आराधना गरिन्छ । उपवास एवं ब्रत बसिन्छ । मासुजन्य एवं तामासी भोजन त्याग गरिन्छ । शरीरलाई शुद्ध गरेर मनलाई भक्ति–भजनमा लगाइन्छ ।








प्रतिक्रिया दिनुहोस्