नेपालगञ्ज, ६ मंसिर/ वामगठबन्धनका उम्मेदवारहरु व्यक्तिगत चिनारी र विकासे एजेन्डा सहितको प्रतिवद्धतापत्र लिएर जनताको घरदैलोमा पुगेका छन् । मंगलबार नेपालगञ्जको उपमहानगरपालिका–९, बाँकेगाउँमा वामगठबन्धनका उम्मेदवार नेता–कार्यकर्ता सहित घरदैलो गरेका हुन् ।
चारबाहिनी चोकमा प्रचण्डपुत्र प्रकाश दाहालप्रति एक मिनेट मौन धारण र श्रद्धाञ्जली अर्पण गरी गठबन्धनले घरदैलो शुरुवात गरेको थियो । सो अवसरमा बाँके क्षेत्र नं. २ का निर्वाचन परिचालन कमिटिका संयोजक दामोदर आचार्यले प्रकाशको निधनले कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको भए पनि वामगठबन्धन शोकलाई शक्तिमा बदलेर निर्वाचनमा लाग्नु पर्ने बताए ।
श्रद्धाञ्जली पश्चात वामगठबन्धनका उम्मेदवार तथा नेता–कार्यकर्ताहरु वडा नं. ९ को घरघरमा पुगेर मत मागेका थिए । घरदैलोका क्रममा गठबन्धनको निर्वाचन परिचालन कमिटिले उम्मेदवारको व्यक्तिगत चिनारी र विकासे एजेन्डा समेटिएको प्रतिवद्धतापत्र बाँडेको थियो । बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार पशुपतिदयाल मिश्र, प्रदेश सभा क र ख का उम्मेदवारहरु क्रमशः कामता खटिक र विजयकुमार गुप्ताको शिक्षादेखि अहिलेसम्म गरेका राजनीतिक यात्रा र उनीहरुले प्रतिवद्धता गरेका विकासका एजेन्डाहरु समेटिएका छन् ।
तिनै जना उम्मेदवारको साझा प्रविद्धतामा ३० बुँदे रहेको छ । नेपालगञ्ज विश्वविद्यालय, राँझ विमानस्थलको स्तर वृद्धि, राप्ती नदी कटान, डुवान रोक्ने र बाढीपीडितलाई सुरक्षित बसोबास गराउने, नेपालगञ्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र, सबै गाउँमा सडकसञ्जाल जोड्ने, भेरी अञ्चल अस्पतालको स्तर वृद्धि,गर्ने । त्यस्तै लोडसेडिङ अन्त्य, स्वास्थ्य बिमा, शुद्ध पिउने पानीको व्यवस्था, प्राथमिक शिक्षा अनिवार्य, माध्यमिक शिक्षा निशुल्क र उच्च शिक्षामा सुलभ पहुँच पु¥याइने बताएका छन् ।
पर्यटनको विकास र जिल्लालाई प्रवेशद्वारका रुपमा विकास गर्ने, धार्मिक सद्भावमा विशेष जोड, राप्तीघाटलाई व्यवस्थित, सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउनेबुँदाहरु समेत प्रतिवद्धतापत्रमा समेटिएका छन् । कृषि तथा औद्योगिक क्षेत्र विकास गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने, फोहोर व्यवस्थापनलाई पुनः प्रयोगका परियोजना सञ्चालन गर्ने, तराई मधेससमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता, समृद्धि सुनिश्चित गर्ने सम्मका आश्वासन रहेका छन् ।
देश र जनताको आवश्यकता अनुसार संविधान कार्यान्वयन, परिमार्जन र विकास गर्दै तराई मधेसका साथै समग्र राष्ट्रको आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धताहरु रहेका छन् । आफ्ना प्रतिवद्धताहरु लिएर घरघरमा पुगेका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु उत्साहित देखिएका छन् । ‘हाम्रो अभियान सफल भएको छ ।
घरघरमा पुग्दा आम जनताले माया, सद्भाव देखाएका छन्, बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले भने’ । नेपालगञ्जको घरदैलोमा उम्मेदवारहरु पशुपतिदयाल मिश्र, विजयकुमार गुप्ता, जिल्ला निर्वाचन परिचालन कमिटिका संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ, प्रदेश ‘ख’ का संयोजक रविन्द्र लम्साल, सचिव दत्तप्रसाद आचार्य, एमालेका जिल्ला सहसचिव प्रमोद धिताललगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्