नेपालको संविधान २०७२ ले बाल हिंसालाई पूर्णरूपमा निषेध गरेको छ । संविधानको धारा ३९ मा बालबालिकासम्बन्धी हकको व्यवस्था छ । धारा ३९ को उपधारा ६ मा कुनै पनि माध्यम वा प्रकारले बालबालिकामाथि दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने उल्लेख छ । यसैगरी सोहीधाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने व्यवस्था छ । यदि यी व्यवस्थाविपरीतका कार्य भए दण्डनीय हुने स्पष्ट व्यवस्थासमेत संविधानमा गरिएको छ ।
बालबालिकामाथि हुने हिंसालाई कानुनले निषेध गरे तापनि व्यावहारिक रूपमा बालबालिकामाथि हिंसा रोकिएको छैन । संघीय कानुनसँग नबाँझिने गरी स्थानीय तहले कार्यविधि र निर्देशिका बनाएर काम गर्ने अधिकार पनि संविधानले गरिदिएको छ तर पनि बालअधिकार सुनिश्चितताका लागि प्रभावकारी काम भएको पाइँदैन् । सबै स्थानीय तहमा नगर र वडास्तरमा बालअधिकार प्रवद्र्धनसहित बालबालिकाको हितमा काम गर्ने व्यवस्था रहे तापनि प्रभावकारी काम भएको भने देखिँदैन् ।
सबै स्थानीय तहमा बालकल्याण अधिकारीको नियुक्ति गरी बालहितमा काम गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ । बालबालिका असुरक्षित हुनुमा राज्यको कमजोरी छँदैछ अर्कोतर्फ अभिभावककको बेवास्ता पनि त्यत्तिकै जिम्मेवार छ । घर, विद्यालय, छात्रावास, बालआश्रमहरूमा समेत उनीहरू सुरक्षित हुन सकेका छैनन् । बालबालिकामाथि हुने हिंसाजन्य घटनाबाट जोगाउनका लागि अभिभावककको भूमिका महत्वपूर्ण हुन्छ किनभने उनीहरूको पहिलो सुरक्षाकर्ता भनेकै आमाबुबा हुन् । बालबालिकालाई शोषणरहित वातावरणमा हुर्कने अवसर अभिभावककले तयार गर्न आवश्यक छ ।
आमाबुबा विखण्डनमा परेका, परिवारको मायाभन्दा निकै पर रहेका बालबालिकाहरू मुख्य गरी यस प्रकारका हिंसामा परेका देखिने गरेका पाइन्छन् । स्थानीय तहले बालमनोसामाजिककर्ताको व्यवस्था गर्नुपर्ने कानुनमा व्यवस्था छ । तर धेरैजसो स्थानीय तहले बालमनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरेको पाइँदैन् । जसका कारण समस्यामा परेका बालबालिकाको पहिचान गरी दुर्घटनाबाट जोगाउन सकिने अभ्यास हुन सकेको छैन । कुनै पनि बालबालिका पारिवारिक वा व्यक्तिगत समस्याले विचलित भएको अवस्थामा मनोसामाजिक परामर्श दिन सकियो भने सम्भावित दुर्घटनाबाट जोगाउन सकिन्छ ।
कलिला बालबालिकालाई यौनको भोक मेट्ने साधनको रूपमा समेत जबरजस्ती प्रयोग गरेका पाइन्छ । हरेक बालिकाहरूलाई त्रसितमात्रै नबनाएर उनीहरूको अस्तित्व नै धरापमा पार्ने काम समेत हुने गरेको छ । विशेषगरी बालबालिकामाथि हुने हिंसाजन्य घटनाबाट जोगाउनका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकाका लागि पहिलो सुरक्षाकर्ता बुबा–आमा नै हुन । बालबालिकालाई शोषणरहित वातावरणमा हुर्कने अवसर अभिभावकले तयार गर्ने हो तर कतिपयका घरपरिवारमा त्यस्तो देखिँदैन् । बालिकामाथि हुने हिंसा, बलात्कारमा संलग्न जो–कोहीलाई पनि कारबाहीको संरक्षण गर्नु अर्को अपराध भइरहेको पनि देखिन्छ । जब दुर्घटना हुन्छ त्यसलाई सामान्य रूपमा लिएर विभिन्न संघ–संगठनहरू पीडकलाई उन्मुक्ति दिने प्रपञ्चमा लिप्त हुने गरेका नजिरहरू पनि पाइन्छन् ।
समाजमा घटनाहरू सामसुम पार्ने खेलहरू हुने गरेको पाइन्छ । त्यति मात्र नभएर घरपरिवार तथा अभिभावककै कारण कतिपय बालबालिकाहरू घर छाडेर भाग्ने, गलत संगततिर लाग्ने, कुलतमा फँस्ने गरेका हुन्छन् । बालबालिकाहरूलाई घरमा राम्रो वातावरण तयार गर्ने भनेकै अभिभावकहरूले हो । उनीहरूसँग झट्केर बोल्ने बानी, रिसाएर बोल्ने बानी लगायतले गर्दा उनीहरूको दिमागमा नराम्रो छाप पर्न जान्छ र उनीहरूले गलत बाटो रोज्न सक्छन् । बालबालिकाहरूलाई जन्माएर मात्र हुँदैन् । उनीहरूलाई राम्रो खानपान, असल शिक्षा, राम्रो संस्कार दिनु अभिभावकको मुख्य कर्तव्य हो । तसर्थः बालबालिकाको भविष्य सुधार्न र उनीहरूलाई असल व्यक्ति बनाउनका लागि अभिभावक जिम्मेवार बन्नुपर्छ ।









प्रतिक्रिया दिनुहोस्