शुभाकर विश्वकर्मा : कोहलपुर (बाँके)
घरको नाजुक आर्थिक अवस्था । अभिभावक नहुँदा झनै समस्या । कलिलो उमेरमै घरधन्दा धान्नुपर्ने बाध्यता । यस्तै, बाध्यताले साढे एक वर्षअघि भारतको बैंगलोर पु¥याएको थियो, बर्दियाको बारबर्दिया–८ औँरी गाउँकी रेखा सुनारलाई ।
कापी कमल बोकेर स्कुल जाने उमेरमा उनी घरको गर्जो टार्ने विकल्पको खोजीमा भारत हान्निएकी थिइन् । उनका बुबाको निधन भइसकेको छ । बुढी आमा अशक्त छिन् । भाइ सानो छ । दिदीहरू विवाह गरेर पराइको भइगए । उमेरले दुई दशकमा टेक्दै गरेकी रेखालाई जिम्मेवारीको भारीले थिचेको छ । अभिभावकको लालनपालनमा हुर्किनुपर्ने उमेरमा आफैँ अभिभावकको भूमिकामा छन् ।
उनी भन्छिन्, ‘मजदुरी नगरेर साँझ बिहान खान पुग्दैन । गाउँमै रोजगारी छैन । घरमा कमाइधमाइ गर्ने मान्छे छैन । कुनै विकल्प नभएपछि भारतमा मजदुरी गर्न गएँ ।’ छोरी मान्छे त्यसमा पनि अर्काको देश, न भाषा नै जानेको, न त मान्छे नै चिनेका । सुरु–सुरुमा एकदमै समस्या भोग्नुपरेको अनुभव सुनाउँछिन्, रेखा । रेखाले मजदुरी गरिरहेकी थिइन् । कमाएको तनखा ‐तलब) घर पठाउँथिन् । जेनतेन जिन्दगी चलिरहेको थियो ।
त्यहीबेला रेखाको भेट भयो, बर्दियाकै बाँसगढी–४ की १९ वर्षीय मधु विकसँग । निम्न वर्गीय दलित परिवारमा जन्मे हुर्केकी मधु पनि रोजगारीकै सिलसिलामा भारत पुगेकी थिइन् । रेखा र मधुको पहिलोपटक भारतमै भेट भएको हो । चिनजान, भेटघाट प्रेम सम्बन्ध हुँदै समलिंगी विवाहसम्म आइपुगेका छन्, उनीहरू । हाल उनीहरू औँरीस्थित रेखाकै घरमा बस्छन् । श्रीमान् र श्रीमतीका रूपमा । रेखा श्रीमान् हुन् भने मधु श्रीमती ।
मिसन टुडेसँग टेलिफोनमा कुराकानी गर्दै उनीहरूले संयुक्त स्वरमा भने, ‘अहिले सँगै छौँ । परिवारबाट धम्की आउन छोडेको छैन । मानिसले अनेकथरी सुनाउँछन् । यत्रो निर्णयमा पुगिसकेका छौँ । अब भने पछि हट्दैनौँ ।’
उसो त उनीहरू विवाह गरेर सँगै बस्न थालेको दुई महिना पुगेको छ । उनीहरूले समलिंगी विवाह गरेको विषय अहिले चर्चामा छ । केही दिनअघि बर्दियाकै युट्युबर पारस भट्टराईले उनीहरूको कुराकानी प्रसारणमा ल्याएपछि यो विषयमा बाहिर आएको हो । उक्त कुराकानीमा रेखा र मधुले एकअर्काको भेट, भारतमा अंकुराएको प्रेम सम्बन्ध, त्यसपछि आफूहरूले भोगेका दुःख, पीडा र विवाहसम्मको अवस्थाबारे खुलस्त बताएका छन् ।
उनीहरू श्रीमान् श्रीमतीकै रूपमा सँगै बसिरहेका छन् । उनीहरूको औपचारिक रूपमा विवाह त भएको छैन । एकअर्काको प्रेम सम्बन्धलाई सफल बनाउन संघर्षरत उनीहरूको कुनै दिन दुवै जनाका परिवार सहमत भएमा धुमधामसँग विवाह गर्ने योजना छ ।
रेखा भन्छिन्, ‘यति धेरै संघर्ष गरियो । कति कुटाइ खाइयो । कति पटक घरबाटै लखेटिनु प¥यो । तर, आफूले माया गरेको मान्छेलाई कहाँ छोड्न सकिँदो रहेछ । अन्ततः हामी विवाह गर्ने निर्णयमा पुग्यौँ ।’ परिवार र समाजको दबाबले छुट्टिन कोसिस नगरेका भने होइनन् । ‘तर माया गरेको मान्छेसँग छुट्टिनै नसकिँदो रहेछ,’ रेखा भन्छिन् ।
मधुसँगको सम्बन्ध थाहा पाएपछि परिवारले आफूलाई घरबाट बाहिर निस्कनसमेत नदिएको उनको भनाइ छ । धेरै समयसम्म भेट्न नपाउँदा रुँदै कैयौँ रात काटेको र परिवारको समेत कुटाइ खानुपरेको उनले बताइन् । आफूहरू एकअर्काबिना बाँच्नै नसक्ने भइसके पनि परिवार र समाजले आफूहरूको भावना नबुझेको उनी दुःखेसो गर्छिन् ।
आफूहरूसँग जिउँदा पनि सँगै जिउने र मर्दा पनि सँगै मर्ने कसम खाएर विवाह गर्ने निर्णयमा पुगेको उनले बताइन् ।
यता मधु पनि आफूले रेखालाई पाउन निकै संघर्ष गर्नुपरेको बताउँछिन् । आफूहरूले विवाह गर्न खोज्दा पाँचपटकसम्म छुट्याइएको मधुले उक्त कुराकानीमा बताएकी छन् । एकपटक भागेर सुर्खेत जाँदासमेत परिवारले आफूलाई छुट्याएर ल्याएको उनको भनाइ छ ।
‘कतिपटक कुटपिट गरे । कैयौँ दिनसम्म घरभित्रै हुल्दिने । रुँदै खानासमेत नखाएर कैयौँ दिन बिताएको छु । बिरामी भयो भनेर अस्पतालसमेत पु¥याए । धामी–झाँक्रीको समेत सहयोग लिए । धेरै दुःख पाइयो,’ मधुले सुनाएकी छन् ।
एकअर्काबीचको विश्वास नै मायाको रूप हो । हामीले कहिल्यै एक अर्कालाई अविश्वास गरेनौँ । हामी जन्मे हुर्केको समाज नै हाम्रा लागि बाधक बनिदियो । आफूहरूले समाजमा खुलेर बाँच्नसमेत नपाएको उनको गुनासो छ । घरपरिवारको असहयोग र समाजको तिरष्कार सहन नसकेर आफूले एकपटक विष सेवन गरेको पनि उनले जनाइन् ।
‘आफ्नो माया पाउन, इच्छा पूरा गर्न समाजसँग धेरै लडियो । सम्हाल्न नसकेर एकपटक त विषसमेत सेवन गरेँ । पछि अस्पताल लिएर बचाए । मर्न लेखेको रहेनछ । बाँचेँ । अब त आफ्नो माया गर्ने मान्छे पाएको छु । जस्तोसुकै संघर्ष गर्नुपरे पनि गर्छु,’ उनी भन्छिन् ।
उनले आफू सानै उमेरदेखि केटाहरूसँग कहिल्यै आकर्षित नभएको बताइन् । आफूले धेरैपटक आफ्नै आमालाई समेत यस्तो कुरा सुनाएको मधुको भनाइ छ ।
मधुले भनेकी छन्, ‘हरेक मान्छेको आफ्नो फिलिङ्स हुन्छ । इच्छा आकांक्षा हुन्छन् । मलाई पहिलेदेखि नै केटी मनप¥थ्र्यो । केटासँग कहिल्यै नजिक भइनँ । यो कुरा मैले आमालाई पनि भनेकी थिएँ । उहाँले मेरो भावना बुझ्नु नै भएन ।’
कुनै दिन आफूहरूको निर्णय परिवार र समाजले स्वीकार गर्ने आशमा छन्, रेखा र मधु ।









प्रतिक्रिया दिनुहोस्