कमिसनको लोभमा एम्बुलेन्स चालकहरूले लखनउ तथा भारतका विभिन्न निजी क्लिनिक तथा अस्पतालमा मिलेमतोमा बिरामीलाई झुक्याएर लैजाने गरेको पाइएको छ । ओलीको मृत्यु घटनाले यहाँभित्रको बेथितिलाई थप उजागर गरेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबई घर भएका यातायात व्यवसायी २६ वर्षीय खड्कबहादुर ओली कात्तिक २० गते बिरामी भएर कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना भए । उनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भनेर चिकित्सकले २१ गते बिहान बिरामीलाई अझ राम्रो उपचार हुने ठाउँमा लैजान रिफर गरे ।
आफन्तहरूले उनलाई लखनउ लैजाने निधो गरे र एम्बुलेन्स बोलाए । बिरामीको निगरानीका लागि एक जना स्वास्थ्यकर्मीसमेत, भेन्टिलेटर र आईसीयूसहितको सेवा उपलब्ध रहेको एम्बुलेन्स चाहिने भनिएकोमा नेपाल न्यु भिजन बाँके नामक संस्थाद्वारा सञ्चालित भे१च ३२३१ नम्बरको एम्बुलेन्समा उक्त सबै सुविधा भएको चालक कमल वाल्मिकीले फोनमा बताए ।
तर, बोलाएको डेढ घन्टापछि मात्रै एम्बुलेन्स अस्पताल आइपुग्यो । ‘२१ गते बिहान १० बजे रिफर गरिएका बिरामीलाई बोक्न ल्याइएको एम्बुलेन्समा त न भेन्टिलेटर थियो, न धड्कन जाँच्ने मेसिन,’ बिरामीसँगै एम्बुलेन्समा रहेका बबईकै सुशील पुनले भने, ‘ब्लड प्रेसर जाँच्ने मेसिन पनि नचल्ने रहेछ, अक्सिजन नाप्ने, औषधी लगाउने मेसिनहरू केही पनि रहेनछ ।’
त्यसपछि एम्बुलेन्ससँगै आएका आफूलाई डाक्टर बताउने व्यक्ति आत्तिन थाले । कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयनिर पुग्दानपुग्दै उनीहरूले एम्बुलेन्स रोके । मेसिनहरू चलाउन प्रयास गर्न थाले । तर चलेनन् । त्यसपछि बिरामीका आफन्तले उनी आबद्ध यातायात व्यवसायी समितिका साथीहरूलाई जानकारी गराए । समितिकी एक कर्मचारीले लापरबाही भए र उपकरण नभएर तलमाथि भए राम्रो नहुने भन्दै एम्बुलेन्स चालकलाई सचेत गराइन् । तर, एम्बुलेन्स सोही हालतमै नेपालगन्जतर्फ बढाइयो ।
यातायात व्यवसायी समितिका एक कर्मचारी पनि सँगै एम्बुलेन्समा थिए । चालकसँगै बसेका उनले फोनमा कसैसँग चालकले लखनउमा आफ्नो पहिले नै सम्पर्कमा रहेको अस्पतालमा लग्ने विषयमा कुरा गरिरहेको थाहा पाए । त्यसपछि उनले फेरि कार्यालयमा उक्त विषयमा जानकारी गराइदिए । त्यस विषयमा पुनः कार्यालयकी कर्मचारीले कमिसनको लोभमा जस्तो पायो त्यस्तो अस्पतालमा नलग्न चेतावनी दिइन् । उक्त फोनपछि चालकले एम्बुलेन्सलाई भेरी अस्पतालतर्फ मोडे र अस्पतालको इमरजेन्सीमा लगेर छोडिदिए ।
भेरी अस्पतालमा पुगेपछि पनि चिकित्सकले बिरामीलाई अन्यत्र लैजान सल्लाह नदिएको सुशील पुनले बताए । ‘उहाँहरूले पनि चेकजाँच गर्ने, केही औषधी लगाउने गर्नुभयो । तर बिरामीको अवस्था झन् बिगँ्रदै छ, अन्यत्र लैजानुस् केही पनि भन्नुभएन,’ पुनले भने । यसैबीच २१ गते नै करिब साढे ४ बजेतिर बिरामीको मृत्यु भइहाल्यो ।
‘कोहलपुर मेडिकल कलेजबाट निकाल्दा बिरामी बोल्न सक्ने अवस्थामा थिए । तर, एम्बुलेन्समा चाहिने साधन नै नभएपछि र निगरानी राम्रो नभएपछि बचाउन सकिएन । लखनउ पु¥याएपछि बाँच्थे कि भन्ने लागिरहेको छ,’ पुनले पछुतो व्यक्त गरे । मृतक खड्कका दाइ जनक ओली पनि एम्बुलेन्समा सँगै गएका व्यक्तिहरूको कुरा सुन्दा र घटनाक्रम हेर्दा एम्बुलेन्स सञ्चालक संस्था, चालक र सँगै रहेका आफूलाई डाक्टर बताउने व्यक्तिको लापरबाहीले भाइको सम्भावित उपचार गर्न नसकिएको बताउँछन् । जनकले भने, ‘हामी शोकमा भएकाले र परिवारलाई सम्हाल्न नै नसकिएकाले यसबीचमा प्रहरीमा जाहेरी दिन सकेका छैनौँ । तर, यस विषयमा जाहेरी दिने सोचिरहेका छौँ ।’
मृतक ओलीका आफन्त, छिमेकी र उनी आबद्ध यातायात व्यवसायी समितिका व्यक्तिहरू एम्बुलेन्स चालकले कमिसनका लागि बिरामीलाई लखनउका निजी अस्पतालमा बेच्न नपाउँदा बिरामीलाई मृत्युको मुखमा पु¥याइदिएको बताउँछन् ।
उनीहरू एम्बुलेन्समा हुनुपर्ने उपकरण नहुनुले नै एम्बुलेन्स चालक र सञ्चालक संस्थाको गल्ती पुष्टि हुने बताउँछन् । यसका साथै एम्बुलेन्सका निगरानीका लागि भनेर आएका व्यक्ति पनि असली डाक्टर नभएको उनीहरूको आरोप छ । अमितकुमार चौधरी नाम बताउने ती व्यक्तिले मिसन टुडेसँगको टेलिफोन कुराकानीमा आफूले चिकित्सकको लाइसेन्स (एनएमसी नम्बर) नलिएको स्वीकार गरे । तर, आफूले एमबीबीएस उत्तीर्ण गरेको, तालिम लिएको दाबी उनको छ । भेट्नका लागि समय माग्दा उनले समय दिन सकेनन् ।
अर्काेतिर भे१च ३२३१ नम्बरको एम्बुलेन्सको सञ्चालक संस्था नेपाल न्यु भिजन बाँकेका सदस्य सुरेशकुमार वाल्मिकीले उक्त एम्बुलेन्स ‘ख’ वर्गको भएको बताए । तर, उक्त एम्बुलेन्समा न ‘ख’ वर्ग उल्लेख गरिएको छ, न ‘ख’ वर्गको एम्बुलेन्सका लागि सरकारले तोकेको रङ प्रयोग गरिएको छ । नेपाल न्यु भिजन बाँकेका सदस्य वाल्मिकीले एम्बुलेन्सको ‘ख’ वर्गको इजाजत पत्र माग्दा उपलब्ध गराउन सकेनन् ।
उनले एम्बुलेन्समा सामानहरू बिग्रिएको अथवा उपलब्ध नभएको विषय पनि इन्कार गरे । सोमबार मिसन टुडेसँगको भेटमा एम्बुलेन्स निरीक्षण गराइदिन भन्दा वाल्मिकीले उक्त एम्बुलेन्स बिरामीलाई लिएर लखनउ गएको बताए ।
बेथितिको दलदलमा एम्बुलेन्स सेवा
नेपालगन्जको एम्बुलेन्स सेवा बेथितिको दलदलमा रहेको छ । बबईका खड्कबहादुर ओलीको मृत्युको घटनाले यस बेथितिले पार्नसक्ने प्रभावलाई देखाइदिएको छ । कमिसनको लोभमा एम्बुलेन्स चालकहरूले लखनउ तथा भारतका विभिन्न निजी क्लिनिक तथा अस्पतालमा मिलेमतो गर्ने, ती क्लिनिक र अस्पतालमा बिरामीलाई झुक्याएर लैजाने गरेको गुनासो धेरै नागरिकको छ । त्यस्ता मिलेमतो भएका क्लिनिक एवम् अस्पतालमा जान नमानेमा लापरबाही गर्ने र दुःख दिने गरेको आरोप नागरिकको छ ।
एम्बुलेन्स चालक संघ लुम्बिनी प्रदेशका अध्यक्ष राजीवकुमार गुप्ता पनि पछिल्लो समय एम्बुलेन्स सेवामा गलत मानिसहरूको प्रवेशले पेसा नै बदनाम हुने अवस्था आएको बताउँछन् । उनले पनि भारतमा कमिसनको लोभमा बिरामीलाई फसाउने र दुःख दिने प्रवृत्ति बढ्दै गएको बताए । खड्कको केशमा पनि एम्बुलेन्स चालकको लापरबाही र असंवेदनशीलता देखिएको उनले बताए । यस विषयमा छानबिन हुनुपर्ने र प्रशासनले प्रभावकारी अनुगमन गरी बेथितिलाई रोक्नुपर्ने उनले बताए ।
नेपालगन्जमा अर्का एक एम्बुलेन्स सञ्चालक संस्थासँग आबद्ध व्यक्तिले पनि कमिसनको लोभमा बिरामीहरूलाई एम्बुलेन्स चालकले निजी क्लिनिकमा लगिदिने गरेको सत्य भएको बताए । उनले यस विषयमा राज्यका कुनै पनि निकायहरूको अनुगमन र निरीक्षण नहुँदा बेथिति मौलाइरहेको बताए ।
एम्बुलेन्स चालक संंघ लुम्बिनी प्रदेशका अध्यक्ष गुप्ताले आफूहरूले केही महिनाअघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस्ता बेथितिका विषयमा अनुगमन गर्न र रोकथाम गर्न आग्रह गरेको बताए । तर, त्यसपछि पनि प्रशासनबाट कुनै कदम नचालिएको उनको दुःखेसो छ । ‘हामीले एम्बुलेन्सको बेथिति रोक्न माग गरेर सीडीओ साबलाई भेटेका पनि हौँ । तर, कुनै पहल भएन । अहिले यहाँको एम्बुलेन्स सेवामा बेथिति गर्नेहरूले बदनाम गराइरहेका छन् । उनीहरूको प्रतिरक्षा गर्न पनि लाज लाग्ने अवस्था छ,’ गुप्ताले भने ।
ढाँट्दै प्रमुख जिल्ला अधिकारी
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सहरूको अनुगमन गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने समितिलाई दिइएको छ । उक्त निर्देशिकामा एम्बुलेन्सको वर्गअनुसार हुनुपर्ने उपकरण र जनशक्तिको बारेमा स्पष्ट व्यवस्था गरेको छ ।
तर, उक्त मापदण्डमा रहेर सञ्चालन भइरहेका एम्बुलेन्सहरूको संख्या नगन्य मात्रमा रहेको स्वयम् एम्बुलेन्स चालकहरू बताउँछन् । न एम्बुलेन्सका उक्त निर्देशिकाले तोकेको रङ प्रयोग गरिएको छ, न चालकको ड्रेस । चालकको योग्यतादेखि लिएर उपकरणहरूको व्यवस्थापनमा त झनै चिन्ताजनक अवस्था रहेको एम्बुलेन्स चालक संंघ लुम्बिनी प्रदेशका अध्यक्ष राजीव गुप्ताले बताए । तर, यस विषयमा अनुगमन भएको आफूले जानकारी नपाएको उनको भनाइ छ ।
यता बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने नियमित अनुगमन भएको भन्दै ढाँटेका छन् । उनले सोमबार मिसन टुडेसँग कुरा गर्दै यसैवर्ष एम्बुलेन्सको अवस्थाबारे अनुगमन भएको बताए । तर, उनी बाँकेमा आएको अवधिमा कुनै अनुगमन भएको पाइएको छैन । प्रजिअ रिजालले भने, ‘करिब दुई महिनाअघि एउटा बैठक बसेर यस विषयमा छलफल भएको हो । एम्बुलेन्सहरू बाहिर जिल्लाबाट आएर यहीँ बसिदिने गरेको, कमिसनको लोभमा बिरामीलाई मिलेमतो भएका अस्पतालमा लगिदिने गरेको भन्ने कुरा आएको थियो । हामीले अनुगमन पनि गरेका छौँ । अनुगमनबाट अहिले त्यस्तो अवस्था छैन भन्ने कुरा आएको हो ।’
तर, प्रजिअ अधिकारीको भनाइ उनकै अध्यक्षता रहने जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीको भनाइसँग मेल खाँदैन । उनले यस विषयमा एकपटक छलफल भए पनि अनुगमन भने नभएको बताए । ‘अनुगमन गर्ने भनेर एउटा निर्णय पनि भएको हो । तर अनुगमन भएको छैन । हामीले यहाँबाट अनुगमन गरेर हुने पनि केही छैन । प्रदेशलाई सबै अधिकार दिएको छ,’ शाहीले भने ।









प्रतिक्रिया दिनुहोस्