पछिल्लो समय पशुपालन घट्दै जानुका कारण पराललगायतका कृषिजन्य अवशेषहरूको खपत कम हुन थालेपछि किसानहरूले ती अवशेषहरू जलाइदिने गरेका छन् । त्यस्तै हिजोआज मेसिनको प्रयोग बढेकाले बालीको धेरै अवशेष खेतमै छोड्ने र त्यहीँ जलाउने गरिएको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारकसिद्ध भएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरका रामकुमार यादव खेतमा धानको कुन्यूँ बनाउँदै थिए । उनको खेतको छेउमा रहेको अर्का किसानको खेतमा परालमा लगाइएको आगोबाट धुवाँ निस्किरहेको थियो । ‘मेरो खेतको पराल पनि यसरी नै जलाउनुपर्नेछ,’ रामकुमारले भने, ‘एउटा भैँसी छ । उसले कति खाओस् । चार पाँच वटा खेतको पराल आवश्यक नै छैन । त्यसैले एउटा भैँसीलाई पुग्ने पराल राखेर बाँकी जलाइदिने हो ।’
आइतबार रामकुमारले यसो भनिरँदा नेपालगन्जको वातावरण तुवालो जस्तो धुँवाले ढाकेको थियो । नेपाल सरकारको वातावरण विभागले गर्ने हावाको गुणस्तर चेकजाँचको नतिजाले नेपालगन्जको हावाको गुणस्तर अस्वस्थको तहमा रहेको देखाइरहेको थियो ।
वातावरणविद् एवम् नेपाल सरकारको वातावरण विभागका सिनियर डिभिजनल केमिस्ट दीपक ज्ञवाली यसरी पराल जलाउनु र वायुको गुणस्तर खस्किनुको सिधा सम्बन्ध हुने बताउँछन् । अहिले भारत र पाकिस्तानमा पनि वायुको गुणस्तर खस्किनुमा कृषिजन्य अवशेषहरू जलाउनु मुख्य कारणको रूपमा देखिएको उनले बताए । विभिन्न अध्ययन प्रतिवेदनहरूले पनि भारत र पाकिस्तानमा कृषिजन्य अवशेष जलाउनुले वायु प्रदूषणलाई थप बढावा दिएको देखाएका छन् ।
पछिल्लो समय पशुपालन घट्दै जानुका कारण पराललगायतका कृषिजन्य अवशेषहरूको खपत कम हुन थालेपछि किसानहरूले ती अवशेषहरू जलाइदिने गरेको पाइएको छ । कृषक यादव भन्छन्, ‘पहिले मेरै घरमा चार पाँचवटा भैँसीहरू हुन्थे । तिनलाई खुवाउनका लागि पनि पराल आवश्यक पथ्र्याे । कत्ति पनि जलाउँथेनौँ । अहिले पराल किन राखिराख्ने ? आवश्यकता नै छैन । त्यसैले जलाइदिन्छौँ ।’ अर्काेतिर पछिल्लो समय कम्बाइन हार्भेस्टर मेसिनले बालीनाली काट्ने क्रम बढेको छ ।
उक्त मेसिनको प्रयोगले बालीको धेरै अवशेष खेतमै छोड्ने हुँदा त्यस्ता अवशेषहरू किसानहरूले जलाइदिने गरेको पाइएको छ । सन् २०२१ मा इसिमोडले लुम्बिनी प्रदेशका तीन जिल्लाहरू नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लामा गरेको एक अध्ययनले पनि मेसिनको प्रयोग गर्दा बालीको अवशेष जल्ने सम्भावना ५४ प्रतिशत बढी हुने देखाएको थियो । पशुपालन गर्ने कृषकहरूले कम्बाइन हार्भेस्टर प्रयोग गर्ने सम्भावना २६ प्रतिशतले कम देखिएको थियो ।
यसरी पशुपालन घट्नु र बाली काट्न मेसिनको प्रयोग गर्नुले हावाको गुणस्तरमा असर गरिरहेको छ । बाली स्याहार्ने मौसममा हावाको गुणस्तर थप खस्किने गरेको छ । साइकल यात्री गगनसिंह थापा पनि आफ्नो यात्राका क्रममा किसानहरूले पराल जलाउने क्रम बढ्दै गएको र यसले वायु प्रदूषण बढाउने चिन्ता व्यक्त गर्छन् ।
वातावरण विभागका सूचना अधिकारी एवम् सिनियर डिभिजनल केमिस्ट ज्ञवाली पनि पराल जलाउने क्रमलाई रोक्न स्थानीय स्तरबाटै जनचेतना जगाउनुपर्ने बताउँछन् ।
‘स्थानीय सरकार र कृषि क्षेत्रका निकायहरूले किसानहरूमा यसको प्रभावबारे जनचेतना जगाउन आवश्यक छ । हामीले त वातावरणको अवस्था यस्तो भनेर बताइदिने हो । अन्य निकायले त्यसलाई आधार मानेर काम गर्नुपर्छ,’ ज्ञवालीले भने ।
कृषि सूचना तथा प्रसार केन्द्रले एसएमएस मार्फत किसानहरूलाई कृषिजन्य अवशेषहरू नजलाउन भनेर सूचना प्रसारण गरेको जनाएको छ । तर, यसैलाई केन्द्रमा राखेर कुनै विशेष योजना भने रहेको आफूले नपाएको केन्द्रका सूचना अधिकारी रविन थापा बताउँछन् ।
नेपाल सरकारको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले पनि कृषकहरूमा जनचेतना जागृत गर्ने र स्थानीयस्तरमा भइरहेका समस्याहरूबो नीतिगत सुधारका लागि दबाब दिने जिम्मा स्थानीय सरकार, प्रदेश सरकारको भएको बताए । स्थानीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रममा कृषिजन्य अवशेषहरू जलाउने क्रमलाई रोक्नका लागि कुनै कार्यक्रमहरू रहेका देखिँदैनन् ।
प्रदूषण बढ्दै जाने प्रक्षेपण
हावाको गुणस्तरबारे तथ्यांक राख्ने आईक्यू एयरका अनुसार पछिल्लो केही दिनयता नेपालगन्जको हावाको गुणस्तर निरन्तर खस्किँदै छ ।
शुक्रबार सामान्य रहेको हावाको गुणस्तर शनिबार बढेर बिरामी, वृद्ध र बालकहरूका लागि अस्वस्थको तहमा पुगेको छ ।
आइतबार साँझ ८ बजे नेपालगन्जको हावाको गुणस्तर सूचकांक (एक्यूआई) एक सय ५३ पुगेको थियो । जुन सबैका लागि अस्वस्थको तह हो ।
वातावरण विभागकै मापनमा पनि सोमबार साँझ ६ बजेर ३७ मिनेटमा हावाको गुणस्तर खस्केर एक्यूआई १५८ पुगेको थियो । जुन देशभरमा भक्तपुरपछि दोस्रोमा बढी प्रदूषित हावा रहेको अवस्था थियो । यो यस साताभरि निरन्तर रहने आईक्यू एयरको प्रक्षेपण छ । आईक्यू एयर स्वीट्जरल्यान्डमा केन्द्रीय कार्यालय रहेको विश्वव्यापी रूपमा वातावरण प्रदूषणबारे निगरानी गर्ने संस्था हो ।
हावाको गुणस्तर सूचकांक एक्यूआई शून्यदेखि ५० सम्म भएमा राम्रो अवस्था मानिन्छ । ५० देखि माथि १०० सम्म सामान्य, ५० देखि १ सय ५० सम्म भएमा संवेदनशील समूहका लागि अस्वस्थ र १ सय ५० भन्दा माथि जानुलाई सबैका लागि अस्वस्थ मान्ने गरिन्छ । अहिले नेपालगन्जको हावा स्वास्थ्यलाई नै हानि गर्ने खालको भएकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।
हावामा धुवाँको प्रभाव बढी हुँदा खोकी लाग्ने, आँखा जलन हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, छालाको जलन महसुस हुने र श्वासप्रश्वाससम्बन्धी समस्या बढ्नसक्ने अध्ययनहरूले देखाएका छन् । यसैगरी श्वासप्रश्वासको एलर्जी प्रत्यक्ष रूपमा वायु प्रदूषणसँग जोडिएको हुन्छ ।









प्रतिक्रिया दिनुहोस्