उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सकियो छठपर्व



चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन शुक्रबार बिहान तराईका बाँके, बर्दिया, कपिलवस्तु, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व बिदा गरिएको थियो ।

तस्बिर सौजन्यः सन्जय मण्डल

तस्बिर सौजन्यः सन्जय मण्डल

बाँके ।

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै शुक्रबार छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठपर्वको चौथो दिन शुक्रबार बिहान मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न भएको हो ।

विभिन्न विधि गर्दै चार दिनसम्म मनाइने छठको चौथो दिन शुक्रबार तराईका बाँके, बर्दिया, कपिलवस्तु, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व बिदा गरिएको थियो ।

शुक्रबार बिहान नेपालगन्जस्थित बागेश्वरी मन्दिरको तलाउसहित देशभरका विभिन्न जलाशयहरूमा श्रद्धालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिएका थिए । तलाउ तथा जलाशयहरूमा जम्मा भएका श्रद्धालु भक्तजनहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठपर्वलाई बिदा गरेका हुन् । खासगरी तराई/मधेशमा धुमधामले मनाइने छठपर्व पछिल्लो समय काठमाडौँलगायतका देशका पहाडी तथा हिमाली भूभागमा समेत भव्य रूपमा मनाउने गरिएको छ ।

पछिल्लो समय छठपर्व पूर्व मधेश क्षेत्रका मानिसहरूले मात्रै नभई सबै क्षेत्रका समुदायले आस्थापूर्वक मनाउन थालेको छठपूजा समिति नेपालगन्जका अध्यक्ष जितेन्द्र ठाकुर बताउँछन् । उनका अनुसार छठपूजाको समयमा तलाउमा आएर पूजा गर्नेहरूमा पहाडी समुदायका महिलाहरू पनि बढ्दै गएका छन् ।

‘छठी मैयालाई राखेको भाकलअनुसार जोसुकैले पूजा गर्न सक्छन् । छठको व्रतले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सोही आस्थाले पहिले नमनाउने यहाँका मधेशी समुदायदेखि पहाडी समुदायले पनि छठ बनाउन थालेका छन् । अहिलेको छठमा समेत यो सङ्ख्या बढेको देखियो ।’ ठाकुरले भने ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । पोखरी, नदी, तलाउहरू झकिझकाउ पारिएका थिए ।

साँझ बर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सूर्योपासनाको यो छठपर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।

षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए ।

छठ पर्वमा हिन्दूहरूले आराध्यदेव मान्ने सूर्य र सूर्यकी बहिनीको रूपमा छठी मैयाको आराधना गरी पूजा गरिन्छ । छठ पर्व विधिपूर्वक मनाएमा सूर्य र छठी मैयाको आशीर्वादले छालासम्बन्धी रोग निवारणदेखि सन्तान प्राप्तिसमेत हुने विश्वास गरिन्छ । यसैगरी व्रतको प्रभावले अभाव र दरिद्रता नहुने तथा परिवारमा सुख हुने जनविश्वास रहीआएको छ ।

सूर्यको आराधनाले विश्वकल्याण, एकता, सौभाग्य र समानताको सन्देश प्रवाह गर्ने ठाकुरले बताए । महाभारतकालीन द्रौपदीले र रामसीताले पनि छठ पर्व मनाएको शास्त्रमा वर्णन पाइने हुनाले छठ सदियौँदेखि मनाइँदै आएको बुझिने उनले बताए । उनले सूर्य देवता शक्तिको प्रतीक भएको, सूर्यको ऊर्जाले नै जगत् चलायमान रहेकाले छठमा सूर्यको पूजा गरिनुले गहिरो अर्थ बोकेको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार