नेपालगन्ज।
नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर गरेका १९ जनालाई बाँके जिल्ला अदालतले बिहीबार सजाय तोकेको छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले अधिकतम ५ वर्ष कैद सजाय र जरिवाना कायम गर्ने आदेश गरेको हो । आदेश अनुसार सहकारीका पूर्वअध्यक्ष हरदेव बक्स चौधरी र अम्बरबहादुर खड्कालाई ५० हजार जरिवानासहित पाँच–पाँच वर्ष कैद सजाय तोकेको छ ।
त्यसैगरी, सुरतराम खटिक र किरण श्रेष्ठलाई ५–५ वर्ष कैद सजाय तोकिएको छ । त्यस्तै, सिद्दीकुमार महर्जनलाई २ वर्ष ६ महिना, रवीन्द्रकुमार थापालाई तीन वर्ष, स्थिरमणि बज्राचार्य र लीला शाहलाई १–१ वर्ष, तुषार शाहलाई २ वर्ष, सन्दीप शर्मालाई १ वर्ष, ओमप्रकाश चौधरीलाई २ वर्ष सजाय तोकिएको छ । त्यस्तै, शारदा थापालाई १ वर्ष, गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुणकुमार पाठक, सूर्यबहादुर विक, लीलाप्रसाद ओली, बलराम यादव र गौरव श्रेष्ठलाई ४–४ वर्ष कैद तोकिएको छ । उनीहरूलाई जरिवाना सहित बिगोसमेत बुझाउन आदेश गरिएको छ ।
अध्यक्षको भूमिकामा रहँदा सिद्दी कुमार महर्जन, अम्बरबहादुर खड्का र हरदेब बक्स चौधरीले कार्यकारी भूमिकामा रहेर काम गरेको तर आर्थिक हिनामिना रोकथाम गर्नेतर्फ प्रभावकारी भूमिका निर्वाह गरेको नदेखिएको अदालतको ठहर छ । खड्का र चौधरीले संस्थाको रकम हिनामिना कार्यमा संलग्न कसूरदारहरूबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा फाइदा लिएको देखिन आएको र महर्जनले आफू तथा आफ्ना नातेदारको नाममा प्रक्रिया पुरा नगरी ऋण प्रवाह गरेको, संस्थाको धितो लिलाम सकार गरेको आदेशमा उल्लेख छ ।
उक्त सहकारी संस्थाको व्यवस्थापकीय भूमिकाको विभिन्न पदमा कर्मचारीको रूपमा कार्यरत रहेका प्रतिवादीहरू गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण कुमार पाठक, सूर्यबहादुर विक, लीला भन्ने लीलाप्रसाद वली, गौरव श्रेष्ठ, किरण श्रेष्ठ, सुरतराम खटिक र बलराम यादवको हकमा अदालतले फरक–फरक बिगो र सजाय निर्धारण गरेको छ । प्रमुख प्रबन्धक पदमा कार्यरत रहेका गोपाल भण्डारीको हकमा ४ करोड ४८ लाख ९ सय ५९ बिगो कायम हुनेगरी कसूर निर्धारण भएको छ । उनलाई बिगोसहित कैद र सजाय तोकिएको हो ।
गंगाधर सुवेदीको हकमा २ करोड ८३ लाख ७३ हजार २ सय ९५ बिगो कायम हुनेगरी कसूर निर्धारण गरिएको छ । अरुणकुमार पाठकको हकमा २४ करोड ९१ लाख ३३ हजार ४ सय २८ बिगोसहित कैद कायम गरिएको छ । बलराम यादवको हकमा ५३ लाख ७९ हजार ६ सय ५२, सूर्यबहादुर विकको हकमा ३३ लाख ६० हजार ६ सय ८१, लीलाप्रसाद वलीको हकमा ८९ लाख २९ हजार ७ सय २५, गौरव श्रेष्ठको हकमा १ लाख २९ हजार ४ सय ९१, किरण श्रेष्ठको हकमा ४६ लाख ३५ हजार ४ सय ५४, सुरतराम खटिकको हकमा ९८ लाख ४८ हजार २ सय ४७ बिगोसहित कैद तोकिएको छ ।
अदालतले बिगो कायम भएका र सजाय निर्धारण खण्डमा प्रतिवादीहरूले तिर्नु बुझाउनुपर्ने ठहरेको बिगो तत्काल असूलउपर गरी पीडित जाहेरवालाहरूलाई भराइदिनुपर्ने भएकाले बिगो कायम भएका प्रतिवादीहरूले अदालतमा राखेको जेथा धरौट तथा निजहरूले सहकारी संस्थामा राखेको जेथा जमानतसमेतबाट कानूनबमोजिम यथाशीघ्र असूलउपर गरी पीडित जाहेरवालाहरूलाई भराइदिनसमेत आदेश गरेको छ ।









प्रतिक्रिया दिनुहोस्