बाँके।
प्रतियोगिताको नियमविपरीत खेलाडी खेलाएको भन्दै नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई कारबाही गरिएको छ । प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स र मंगल प्रसाद उच्च मावि हुने तय थियो । तर सेन्ट जेभियर्सले बढी उमेरका खेलाडी र अन्य विद्यालयमा अध्ययन गरिरहेका खेलाडीलाई आफ्नो टिमबाट खेलाएको प्रोटेस्ट परेको थियो ।
उक्त प्रोटेस्ट अनुसार सेन्ट जेभियर्सले नियमको उल्लंघन गरेको पाइएपछि प्रतियोगिताको फाइनल खेल्नबाट वञ्चित गरिएको आयोजक ज्योति स्पोर्टस एकेडेमीले जनाएको छ । आयोजकले बिहीबार एक विज्ञप्ति जारी गर्दै अब प्रतियोगिताको फाइनलमा मंगल प्रसाद उच्च मावि र नेपालगन्ज मोडेल एकेडेमीबीच हुने जनाएको छ ।
नेपालगन्ज सेन्ट जेभियर्सले मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपालगन्ज मोडेल एकेडेमीलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समूह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल छन् । प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्