खजुरामा फैलियो गाउँपालिकाले कोरिया पठाइदिने गलत हल्ला



नेपालगन्ज ।

नेपाल सरकारले मात्रै दक्षिण कोरियामा कामदार पठाउँछ । कुनै पनि म्यानपावर कम्पनीले पठाउन सक्दैनन् । तर बाँकेको खजुरा गाउँपालिकाका घर–घरमा भने दक्षिण कोरिया जाने गलत हल्ला फैलिएको छ ।

आकर्षक रोजगारीको गन्तव्य कोरिया पठाउने हल्ला कुन र कस्तो गिरोहले फैलाएर सोझा सर्वसाधारणहरूलाई ठगिरहेको छ भन्ने विषयमा कुनै पनि निकायले छानबिन गरेर यथार्थ पत्ता लगाउन सकेका छैनन् ।

सबै वडाका टोल–टोलमा समेत पालिकाकै संलग्नतामा मौसमी कामदार पठाउने भनेर हल्ला फैलाइएको छ । कोरिया पठाउनका लागि रु ३ लाख तिर्नुपर्ने र त्यसरी पैसा दिएकाहरूलाई चिठ्ठा प्रक्रियाबाट छनौट गर्नेसम्म भनिएको छ । कतिले त राहदानी समेत संकलन गरेको भनिरहेका छन् ।

आफूलाई वडा नम्बर ६ र ७ का केही भाईहरूले समेत पैसा दिउ की नदिउँ भनेर सोधेको खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले बताइन् । ‘गाउँपालिका बैठकमा समेत कोरिया पठाउनेबारेमा केही कुराकानी भएको छैन’ उनले मिसन टुडेसँग भनिन्, ‘खजुराले निर्णय पनि गरेको छैन । अहिलेसम्म कोरिया पठाउने योजना भएको मलाई थाहा छैन । तर केही भाईहरूले पैसा दिउँ की नदिउँ भन्नुभएको थियो । मैले उहाँहरूलाई आफैं निर्णय गर्नुहोस् भने ।’

खजुरा गाउँपालिका–३ का सबिन केसी स्थानीय सरकारको कोटा हो भन्दै कोरिया पठाइदिने झुटो हल्ला फैलिएको बताउँछन् । यस्तो झुटो हल्लाबारे सचेत रहन आग्रह गर्दै उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘कोरियन भाषा पास गरेर प्रक्रिया पूरा गरेर मात्रै जान पाइने सत्य कुरालाई बिर्सिएर कोही हल्लाकापछि नलाग्नुहोला ।’ यस्तो हल्ला अहिले खजुराभर भुसको आगोझैं फैलिएको छ ।

सर्बसाधारण ठगिने गरी फैलिएको भ्रमका बारेमा जनप्रतिनिधिदेखि जिल्ला प्रशासन कार्यालय बाँकेसम्मको ध्यानार्कषण भएको छ ।
यी निकायले कुन नियतले कसले यसरी हल्ला फैलाएको छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् । हल्ला मात्रै फैलिएको हो वा सर्बसाधारण ठगिएका छन् भन्ने विषयमा गहिरो अनुसन्धान गर्न जरूरी रहेको स्थानीयबासी केसी बताउँछन् ।

खजुरा गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर २ का अध्यक्ष धनराम ओलीले पालिका सरकारको तर्फबाट दक्षिण कोरियाका लागि कामदार पठाउन थालिएको विषय के हो ? भन्दै प्रश्न सोधेर हैरान पारेको बताउँछन् ।

‘पालिकाका कतीपय स्थानमा दक्षिण कोरिया पठाउने भन्दै रकम लिनेदिने कार्य भएको छ गरे ? हाम्रो वडामा कति जनाको कोटा छ ?’ भनेर प्रश्न सोधेर हैरान पारेको बताउँदै उनी भन्छन्, ‘सम्पर्क कहाँ र कसलाई गर्ने हो ? भन्दै अधिकांश हाम्रै सचेत वडाबासी र केही अन्य वडाबासीका तर्फबाट स्वयं वडाध्यक्ष, वडा सदस्य र कार्यालयका कर्मचारीहरूसँग समेत फोनबाट जानकारी लिन खोजिएको छ ।’

पालिकाभरी गलत हल्ला फैलिएपछि त्यसलाई रोक्न सूचनानै प्रकाशित गरेर सचेत गराइएको प्रवक्ता ओलीले जानकारी दिए ।

‘हालसम्म नेपाल सरकारको कुनैपनि निकायबाट वडा कार्यालयमा दक्षिण कोरियामा नेपाली कामदार पठाउने विषयमा आधिकारीक पत्राचार भएको छैन’ उनले मिसन टुडेसँग भने, ‘यस्तो नभएकाले अनर्गल रूपमा फैलिएको हल्लाकापछि नलाग्न अनुरोध गरिएको छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोखरेलले यस्तो गलत हल्लाको पछि नलाग्न अपील गरेका छन् । खजुरा गाउँपालिका क्षेत्रमा कोरिया रोजगारीको नाममा ठगी धन्दा सुरु हुन लागेको भन्ने हल्ला बाहिरिएको उनले जानकारी दिए ।

विगतमा यस्तै प्रकृतिको ठगी प्रकरण ईलाम जिल्लामा पनि भएको बताउँदै सिडिओ पोखरेलले त्यहाँ ठगिएका व्यक्तिहरूले प्रमाण राख्न नछुटाएका कारण न्याय दिन सकिएको बताए ।

‘खजुरा क्षेत्रमा पनि कोरियन रोजगारीको नाममा यदि कसैले ठगी धन्दा गरिरहेको छ भने ईलामेलीले जस्तै प्रमाण राख्न नभुल्नु होला । त्यस्ता दलालहरूको सूचना बेलैमा प्रशासन, प्रहरीमा स–प्रमाण दिनु होला’ उनले भने ।

कोरियाको रोजगारी जिटुजी अर्थात् सरकारबीचको सहमतिबाट मात्र हुने भएकाले अरु देशमा जस्तो म्यानपावरले वा कुनै व्यक्ति बिशेषले नपठाउने बताउँदै सिडिओ पोखरेल भन्छन्, ‘नेपाल सरकार र कोरिया सरकारबीचको सम्झौताअनुसार भाषा परीक्षाको माध्यमबाट छनौट भएकालाई एकलौटी नेपाल सरकारले मात्र पठाउन सक्छ ।’

‘मौसमी कामदार’ भन्ने पनि भ्रम मात्रै भएको उनी बताउँछन् । मौसमी कामदारको नाममा विगतमा भएको मानव तस्करीबाट पाठ सिकेर सरकारले अहिलेसम्म कुनै पनि स्थानीय तहलाई मौसमी कामदारको नाममा कोरिया पठाउने अनुमती नदिएको बताउँदै उनी भन्छन्, ‘यस्ता भ्रमहरूमा कोही नपरौं, रकम दिएको सबुत प्रमाण राखौं ! बेलैमा प्रहरी, प्रशासनलाई सूचना दिऔं । ठग्ने, ठगिने धन्दाबाट बेलैमा सतर्क रहौं ।’

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार