बर्दिया ।
गुलरिया नगरपालिका–५ स्थित सुहेलवा गाउँमा २० वर्षीय बरुण घिमिरेको हत्या आफ्नै निकट साथीहरूबाट भएको खुलेको छ । घटनामा संग्लन रहेको आरोपमा बर्दिया प्रहरीले ८ जनालाई पक्राउ गरेपछि साथी भनेर बरुणको हत्या गरिएको खुलेको हो । दुई वर्षअघि सामान्य कुटपिट भएको घटनालाई लिएर साथीहरूले नै उनको हत्या गरेका हुन् ।
पहिला हत्याका मुख्य अभियुक्त शुलभ थापा र बरुण घिमिरेबीच सामान्य कुटपिट भएको थियो । सो बेला समाजले सामान्य कुटपिट भएको भन्दै शुलभ र घिमिरेको झगडा मिलाएका थिए । निर्वाचनको अवधिमा हत्याका मुख्य अभियुक्त शुलभ निर्वाचनका लागि म्यादी प्रहरी थिए ।
झगडा भएको लामो समय भएकाले शुलभ र बरुण दुवै पक्षले रिस साँध्ने कम सम्भावना भएको आँकलन गरिएको थियो ।
शुलभले समेत पुरानो बदलाको भावना नरहेको बताउने गरेका थिए । त्यसयता शुलभ र बरुणको रिसिबी दोस्तीमा परिणत भइसकेको प्रहरी बताउँछ । लक्ष्मी पूजाको दिन बरुण र शुलम छुट्टाछुट्टै भएर देउसी भैलो खेल्न हिँडेको अवस्थामा मुख्य अभियुक्त शुलभले गुलरिया नगरपालिका–५ स्थित कृषि विकास बैंक नजिक बरुणलाई देखेका थिए ।
बदलाको भावना लिएर शुलभ पछि लागेर धारिलो हतियार देखाएर बरुणलाई नियन्त्रणमा लिएको अनुसन्धानबाट खुलेको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले जानकारी दिए ।
(१२ः३०) बजे मध्यरातमा साथीको नाटक गरेर बरुणलाई शुलभले सुहेलवा गाउँ नजिक एकान्तमा जुस फ्याक्ट्री नजिक लिएर गएपछि उक्त घटना घटेको उनले बताए ।
धारिलो हतियार बरुणको घाटीमा तेस्र्याएर शुलभले बरुणका साथी २० वर्षीय रन्जन कुँवर र २१ वर्षीय मोहित पुनलाई समेत घटनास्थलमा बोलाएका थिए । वरुणका साथी (मोहित र रन्जन) लाई बोलाउँदा शुलभले बरुणको मोबाइल प्रयोग गरेको पाइएको छ ।
मोहित र रन्जन आउने बेलासम्म शुलभले अन्य साथीलाई बोलाएपछि बरुण, रन्जन र मोहित माथि निर्मम तरिकाले आक्रमण गरेको अभियुक्तले प्रहरीसमक्ष बयान दिएका छन् ।
शुलभलगायतले बरुणको हत्या गर्ने उद्देश्यले हेलमेट, चिर्पट र खुडा (चक्कु) बारम्बार प्रहार गरेको खुलेको छ । बरुणको मिल्ने साथी भएकाले शुलभलगायतले रन्जन र मोहितलाई आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ । बरुणको हत्या गर्ने ८ जना पक्राउ परे पनि अझै ३ जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
पक्राउ पर्नेमा शुलभ थापा, धिरज ठाकुर, दिपेश बुढामगर, सन्दिप थारू र दिनानाथ चौधरी रहेका एसपी शाहीले जानकारी दिए । उनका अनुसार सहयोगी भूमिकामा नाम खुलेका रोशन थापा, निश्चल थापा क्षेत्री, तर्क भण्डारीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
फरार रहेका सुरेश थापा, आलोक आश्रित, सुमन सुनारको भने खोजी जारी राखिएको एसपी शाहीले बताए । हत्याका आरोपीहरूबाट प्रहरीले धारिलो हतियार चक्कु, चिर्पट दाउरा, हेलमेटलगायतका सामग्री बरामद गरेको छ ।









प्रतिक्रिया दिनुहोस्