घरधनीले स्मार्ट टेलिकमले घरमा टावर राखेबापतको भाडा त पाएनन्, पाएनन् । उसले विद्युत् महसुलसमेत नतिरिदिएपछि विद्युत् प्राधिकरणले बक्यौता नतिरे घरको लाइन काट्ने भन्दै पत्र पठाएपछि घरधनी तनावमा छन् । स्मार्ट टेलिकमले बाँकेसहित विभिन्न जिल्लाका डेढ दर्जन घरधनीलाई टावर राखेबापतको घरभाडा तिरेको छैन ।
कमल डाँगी । नेपालगन्ज ।
खारेजीमा परेको स्मार्ट टेलिकमले बाँकेसहित विभिन्न जिल्लाका डेढ दर्जन घरधनीलाई टावर राखेबापतको घरभाडा तिरेको छैन ।
लामो समयदेखि भाडा नपाएका ती घरधनीलाई यतिबेला विद्युत् प्राधिकरणको एउटा पत्रले तनाव दिएको छ । स्मार्ट टेलिकमले टावरका लागि खपत गरेको विद्युत् बक्यौता नतिरेको भन्दै बक्यौता असुलीका लागि लाइन काट्ने ताकेतासहितको पत्र पठाएपछि तनाव भएको घरधनीहरू बताउँछन् ।
‘घरभाडा त पाएका थिएनौँ नै । झन् विद्युतको महसुल तिर्न ताकेता गर्दै पत्र आएपछि तनाव भएको छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका चिरञ्जीवी ओलीले भने । नेपालगन्ज–४, पुष्पलालचोकमा रहेको उनको घरमा स्मार्ट टेलिकमले टावर राखेको छ । घरभाडा पाउन त सकिएको छैन उल्टो विद्युत् महसुलले घरकै लाइन काटिने अवस्था आएको छ । यो समस्या अन्य घरधनीले पनि झेल्दै आएको बताएका छन् । स्मार्ट टेलिकमको टावर घरधनीका लागि घाँडो भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालगन्ज वितरण केन्द्रअन्तर्गत ९, कोहलपुर वितरण केन्द्रअन्तर्गत २, बर्दियाको गुलरिया वितरण केन्द्रअन्तर्गत ४ र दाङको घोराही वितरण केन्द्रअन्तर्गत ३ वटा गरी १८ वटा घरमा स्मार्ट टेलिकमले टावर राखेको थियो ।
त्यसबापत करिब ६० लाख विद्युत बक्यौता असुली गर्न बाँकी रहेको प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।
नेपालगन्ज वितरण केन्द्रअन्तर्गतका ९ वटा घरबाट ९ लाख ९३ हजार र कोहलपुर वितरण केन्द्रअन्तर्गत २ वटा घरबाट ३४ लाख रूपैयाँ बक्यौता तिर्न बाँकी छ । सो रकम चालु आर्थिक वर्षको असार मसान्तसम्मको हो । अहिलेसम्म बक्यौता अझ बढेको छ । प्राधिकरणका क्षेत्रीय प्रमुख पाण्डेका अनुसार टावर राख्दा नै कम्पनीले महसुल नबुझाएको खण्डमा घरधनीबाट असुली गर्ने मन्जुरीनामा गरिएका कारण घरधनीलाई जवाफदेही बनाइएको बताए ।
‘यो विषयमा मात्रै होइन जुनसुकै क्षेत्रमा पनि घाडामा लिनेसँगै दिनेलाई पनि जवाफदेही बनाइन्छ । कुनै पनि फर्म वा कम्पनीले नतिरे घरधनीले तिर्नुपर्छ,’ प्रमुख पाण्डेले भने, ‘त्यही भएर यस्ता विषयमा घरधनी सचेत र सजग बन्नुपर्छ, अन्यथा दुःख पाइन्छ ।’ प्राधिकरणले तिहारपछि टावर भएका घरको लाइन काट्ने योजना बनाएको छ ।
टावर राखेको भाडा र प्राधिकरणलाई महसुल नतिरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसेन्स) स्वतः खारेज भएको हो ।
स्मार्ट टेलिकमले नवीकरणको २१ अर्ब ८६ करोड र त्यसको १५ प्रतिशत जरिवाना बुझाउनुपर्ने हुन्छ । प्राधिकरणले यसअघि नै सम्पत्ति व्यवस्थापन नियमावली जारी गरिसकेको छ । सो नियमावलीअनुसार अब स्मार्ट टेलिकमको भ्यालुएसन गरी सरकारले बिक्री गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्