नेपालगन्ज ।
जानकी गाउँपालिका–३ का राम धोवी सामाजिक विकास केन्द्रका संयोजक हुन् । उनले बोर्डिङ स्कुल पढिरहेकी छोरी जयन्तीलाई गत वैशाखमा कक्षा ६ मा पढ्न नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयमा भर्ना गरे । राम भन्छन्, ‘घरअगाडि नै कन्या स्कुल खोलेपछि अरूका लागि पनि पाठ हुन्छ भनेर छोरीलाई पढाइरहेको छु ।’ उनकी छोरी जयन्ती पनि खुसी छन् ।
जानकी गाउँपालिकाले सञ्चालन गरेको कन्या विद्यालयमा छात्राको आकर्षण बढ्दै गएको छ । चालु शैक्षिक सत्रमा २ सय ७५ जना छात्राहरू रहेको प्रअ मालती शाही बताउँछिन् ।
उनी भन्छिन्, ‘छात्राहरू निसङ्कोच पढिरहेका छन् र उनीहरू खुसी छन् ।’ विपन्न बालबालिकालाई लक्षित गरी सञ्चालन गरेको विद्यालयमा पछिल्लो समय छात्राहरूको भर्ना संख्या बढ्दै गएको हो । छात्राहरूलाई घरधन्दामा मात्र सीमित गर्दै आएका जानकी गाउँपालिका क्षेत्रका समुदायले कन्या विद्यालय सञ्चालनमा आएसँगै अविभावक आफँैले छात्रा अभियानलाई तीव्रता दिएका छन् ।
जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि पालिकामा पहिलोपटक छात्राहरूका लागि कन्या विद्यालय सञ्चालन गरेको
हो । मधेसी र मुस्लिम समुदायको बाहुल्यता भएको जानकी गाउँपालिकाले छात्राहरूका लागि मात्रै यस वर्षदेखि कक्षा ६ सम्म अध्यापन सुरु गरेको छ । उक्त विद्यालय सञ्चालनको पहिलो आर्थिक वर्ष नै छात्राहरूको आकर्षण बढेको पाइएको छ । विद्यालयमा सोचेभन्दा राम्रो आकर्षण भएको प्रअ शाहीले बताइन् ।
कन्या विद्यालय सञ्चालनपछि अभिभावकहरू पनि खुसी देखिन्छन । पढ्नका लागि छोरीहरूलाई जति बढी सुविधा भए त्यति राम्रो
हुने अभिभावकहरू बताउँछन् । छोरीहरूले पढ्ने विद्यालयमा पढाउने शिक्षक पनि महिला नै रहने गरेको सुन्दा अझ बढी खुसी व्यक्त गर्छिन्, अभिभावक निता लोध ।
सुरक्षित, भयरहित, शुद्द लैङ्गिकमैत्री विशेषगरी महिलामैत्री विद्यालय स्थापना गर्नेगरी सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । गाउँपालिकाले आफ्नो प्रोजेक्टको रूपमा यो विद्यालय सञ्चालनमा ल्याएको र २०८४ सालसम्ममा कक्षा १० सम्म पु¥याउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीको भनाइ छ ।
छोरीहरू शिक्षाबाट वञ्चित नहोऊन् भनेर सबैको पहँुच र सुरक्षित वातावरणका लागि कन्या विद्यालय सञ्चालन गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । पालिकाले विद्यालयमा छात्राहरूका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोसाक र आउन जानका लागि निःशुल्क यातायातको पनि व्यवस्था गरेको अध्यक्ष खाँले जानकारी दिए ।
उक्त विद्यालयमा पालिकाका ६ वटै वडाका छात्राहरूलाई समावेश गर्नेगरी पालिकाले यातायातको व्यवस्था गरेको छ । विशेषगरी मधेसी तथा मुस्लिम समुदायका लागि कन्या विद्यालय नहुँदा छोरी बहिनीहरूलाई उमेर बढ्दै जाँदा विद्यालय नपठाउने गरिएको छ । जसले गर्दा जानकी गाउँपालिकाले यही शैक्षिक सत्रदेखि कन्या विद्यालय सञ्चालन गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्