सिधिनियाघाट व्यवस्थित गर्न जग्गाको खोजी



नेपालगन्ज ।

हिन्दु समुदायको मृत्युपछि अन्त्येष्टि गर्ने जिल्लाकै प्रमुख स्थान सिधिनियाघाटलाई बिस्तार र व्यवस्थित गर्न सरोकारवालाहरूले माग गरेका छन् । राप्ती नदीमा रहेको उक्त घाट अव्यवस्थित रूपमा पूर्वाधारको अभाव झेलिरहेको भन्दै व्यवस्थित गर्न माग गरिएको हो । शनिबार नेपालगन्जका विभिन्न क्षेत्रका अगुवाहरू सिधिनियाघाटको अवलोकन गरेर फर्किएका छन् ।

नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कनोडिया, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, शैक्षिक क्षेत्रका अगुवा ईश्वर पोखरेल, इन्सेक संयोजक भोला महत त्यहाँ पुगेका थिए ।

त्यहाँ अवलोकन गर्दा घाटलाई व्यवस्थित बनाउन अत्यावश्यक भएको महसुस गरेको डा. कनोडियाले जानकारी दिए । यसका लागि आवश्यक सहयोग जुटाउन पहल गर्ने पनि उनले बताए ।

यस्तै, सिग्देलले सिधिनियाघाट व्यवस्थापन गर्नका लागि कम्तीमा पाँच कठ्ठा जमिन आवश्यक भएको बताए । त्यसका लागि दाताको खोजी गरिने पनि उनले जनाए । ‘यदि कसैले बेच्न चाहे किन्न पनि तयार छौँ,’ उनले भने ।

इन्सेक संयोजक महतले सुविधासम्पन्न अन्तिम घर निर्माणका लागि सहयोगी हात जुट्ने आशा व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार