बाँके ।
पाटे बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिकामा एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका–३ भग्रैया नजिक पाटे बाघको आक्रमणमा परि स्थानीय ५५ वर्षीया कली वंशी मगरको ज्यान गएको हो ।
नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रबार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परि महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले जानकारी दिए ।
बाघले आक्रमण गरि महिलालाई जङ्गलतर्फ पु¥याएको थियो । खोजी गर्ने क्रममा सम्झना सामुदायिक वनमा एउटा हात बाघले खाएको अवस्थामा महिलाको शव फेला परेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताए ।
नजिकैको सामुदायिक वन र राष्ट्रिय वनभित्र घाँस, दाउरा लिन र च्याउ तथा साग खोज्न जङ्गल जाने क्रम पनि बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।
जङ्गल नजिकैका स्थानीय जङ्गल जाने कारणले हरेक वर्ष बाघ आक्रमणका घटना हुने गरेको डिभिजन वन कार्यालय बर्दियाको भनाइ छ । खाता जैविकमार्ग क्षेत्रमा बाघ लगायतका वन्यजन्तुको दिनहुँ त्रास रहेको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्