कोहलपुर विकासको बाधक मदिरा : मेयर आचार्य



कोहलपुर ।

मदिरा र लागूऔषध समग्र कोहलपुर नगर विकासका लागि बाधक भएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताएका
छन् । बिहीबार कोहलपुरमा नगरपालिकाले आयोजना गरेको स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘हाल कोहलपुरको समस्याको रूपमा मदिरा र लागूऔषध देखिएका छन्,’ नगर प्रमुख आचार्यले भने, ‘मदिरा र लागूऔषध समग्र कोहलपुर नगर विकासका लागि बाधक छन् ।’

नगरबासीको सदाचार, सद्भाव, स्वास्थ्य, आर्थिक हित, सामाजिक सद्भाव कायम राख्नका लागि मदिराको उत्पादन तथा बिक्री वितरण र निकासीलाई नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि कार्यविधि कार्यान्वयन गर्न आवश्यक भएको उनले दाबी गरे ।

सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै उनले मदिरा बिक्री वितरणले समाजमा नकारात्मक असर जाने बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले अत्यधिक मदिरा सेवन र लागूऔषध दुव्र्यसनीले महिलाहरू बलात्कृत भएको बताए ।

‘महिला र बालबालिका हिंसामा परेका घटनामा समग्रमा मदिरा र लागूऔषधको सम्बन्ध देखिन्छ,’ उनले भने, ‘समाजमा अपराधका घटनामा वृद्धि भइरहेका छन् । मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनु आजको आवश्यकता हो ।’

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार