बर्दिया ।
बबई नदी खतराको चिह्नमाथि बग्न थालेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । तीन दिनदेखि लगातारको वर्षाले बबई नदीको जलस्तर मंगलबार बिहान ७ बजेसम्म ६ दशमलव ७ मिटरमाथि बगिरहेको छ ।
गुलरियाबाट करिब ५० किमी दुरीमा रहेको चेपाङ जलस्तर मापन केन्द्रमा ६ दशमलव ७ मिटर पानी बगिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । यो सदरमुकाम गुलरिया पुग्दा करिब ३ घन्टा लाग्छ ।
बाढी र कटानको जोखिम भएकोले सुरक्षाका सबै अंगलाई उद्धार कार्यमा तैनाथ रहन निर्देशन दिएको प्रजिअ रिसालले जनाए । सदरमुकाम र आसपासका क्षेत्रमा ५ दशमलव ५ मिटर पुग्न साथ बाढीको उच्च जोखिम हुन्छ । ०७१ सालमा बबई नदीमा आएको बाढीले ९० प्रतिशत भूभाग डुबान हुनाका साथै ३२ जनाको ज्यान गएको थियो ।
बबई तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिन बिहानै बाट सचेत गराइएको छ । यसैबीच कर्णाली नदीमा जलस्तर बढ्दै गएको छ । कर्णालीमा बिहान ७ बजेसम्म ७ दशमल ६८ मिटरमाथि पानी बगिरहेको प्रजिअ रिसालले बताए । कर्णालीमा १० मिटरमाथि पानी बगे बाढीको जाखिम मानिन्छ । पहाडी क्षेत्रमा पानी परिरहेकोले कर्णालीमा जलस्तर बढ्ने जोखिम रहेको छ ।









प्रतिक्रिया दिनुहोस्