आर्थिक संकटले नयाँ घरेलु उद्योग सञ्चालनमा गिरावट



नेपालगन्ज ।

नेपालगन्ज–४ का राजकुमार थापा बेकरी उद्योग सञ्चालनको तयारीमा थिए । पाँच वर्ष कतार बसेर फर्किएका उनी अब स्वदेशमै इलम गर्न चाहिरहेका थिए । तर, बिडम्वना पछिल्लो समय देखापरेको आर्थिक संकटका कारण उनले व्यवसाय गर्ने आँट गर्न सकेनन् । ‘मसँग थोरै लगानी थियो तर कारोबार नै हुँदैन भन्ने बजारको अवस्था देखेर लगानी गर्नै चाहिनँ,’ थापाले भने, ‘केहीवर्ष फेरि कतारमै फर्किने गरी योजना बनाएको छुँ ।’

खजुरा गाउँपालिका–४ का विकास सुनारले पोल्ट्री व्यवसाय गर्दै आएका थिए । तर व्यवसाय सञ्चालन गर्न कठिनाइ भए पनि छ महिना अघि उनी पोल्ट्री उद्योग बन्द भयो । अब फेरि पनि खाडी जाने गरी तयारी गरिरहेका छन् । सुनार भन्छन्, ‘मेरो त विदेशको कमाइ पनि व्यापारमा डुब्यो । अति नै भए पनि फेरि विदेश जाँदै छुँ ।’

यि अर्थतन्त्रको मेरुदण्डसमेत मानिने घरेलु उद्योग हाँकेका व्यवसायीका पीडा हुन् । विदेशमा पसिना बगाएर कमाएको पैसा स्वदेशमै केही गरौं भनेर लगानी गरेका युवा हतोत्साहित भएर फेरि विदेशी फर्किँदैछन् । पछिल्लो आर्थिक संकट, अस्पष्ट नीति जस्ता कारणले घरेलु उद्योग सञ्चालनमै सर्वसाधारणको आर्कषण कम भएको पाइएको छ ।

आर्थिक संकटको सोझो प्रभाव घरेलु उद्योगमा परेको देखिएको छ । भएकै उद्योग सञ्चालन धौँधौँ परिरहेका बेला बाँकेमा नयाँ उद्योग दर्ता घटेको हो । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ वटा उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा आठ सय ७६ उद्योग मात्रै दर्ता भए । दर्ता भएकै मध्ये कति उद्योग सञ्चालन हुँदैनन् । कार्यालय निमित्त कार्यालय प्रमुख रमेशबहादुर बुढाले विगतको वर्षको तुलनामा घरेलु उद्योग दर्ता ह्वात्तै घटेको बताए ।

घरेलु तथा साना उद्योग व्यवसायी महासंघ बाँकेका महासचिव जिआर भुषाल आर्थिक संकट, घरेलु उद्योगप्रति अस्पष्ट नीति र युवाहरुको विदेश पलायनका कारण उद्योग दर्तामा कमी आएको बताउँछन् । उनी भन्छन्, ‘कोभिडले घरेलु उद्योग धरर्मराएको थियो भने अहिले ठप्पै बनाएको छ । यो अवस्था चालु आवमा अझ घट्ने मेरो अनुमान छ । अर्थतन्त्रको खम्बासमेत मानिने क्षेत्रलाई प्रोत्साहन गर्ने काम कहिँकतैबाट भएन ।’

महासचिव भुषालले सरकारबाट तर्फबाट घरेलु तथा साना उद्योगको संरक्षण गर्न नसकेको कारण लगानी धराशायी हुने खतरासमेत बढेर गएको चिन्ता व्यक्त गरेका छन् । खुला सिमानाको कारण सीमापारिको बजारबाट अनाधिकृतरुपमा भित्रिने विभिन्न सामानहरुको कारण नेपाली उद्योग सुक्दै गएको, लगानी सुरक्षित नभएको जस्ता गुनासाहरु उद्योगीहरुबाट आएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधु खड्काले भनिन्, ‘सरकारले यो क्षेत्रलाई बलियो बनाउन चासो दिनुपर्छ ।’ महासंघ बाँके महासचिव भुषालले बाँकेका घरेलु तथा साना उद्योगले उर्जा, सुरक्षा, राजनीतिक अस्थिरता र बजारीकरणको समस्या झेलिरहेको बताए । उनले भने, ‘भारतसँग सीमा जोडिएको जिल्ला भएका कारण हाम्रो उत्पादनले अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेको छैन ।’

  • No tags available
प्रकाशित मिति : २०८० साउन २३ गते मंगलबार