बाँके ।
सामाजिक सरोकार मञ्च कोहलपुरले अगैया घाटलाई राप्तीसोनारीको शम्शेरगन्ज नजिकै राप्ती नदीमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । आइतबार भएको मञ्चको बैठकले शम्शेरगन्ज नजिकै राप्तीसोनारी गाउँपालिका– २ को राप्ती नदीमा अगैया घाट व्यवस्थापनको लागि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको हो ।
मञ्चका संयोजक राजेन्द्रकुमार श्रेष्ठले अगैया घाट व्यवस्थापन लगायतका विषयमा बैठकले निर्णय गरेको जानकारी दिए । उनका अनुसार घाट व्यवस्थापनका लाग्ने रकमका लागि प्रदेश सांसद, संघीय सांसद, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र जिल्ला समन्वय समितिसँग अनुरोध गरिनेछ ।
‘पटकपटक कुरा उठ्दै आएको घाट व्यवस्थापनको लागि मञ्चले निर्णय गरेर सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको हो,’ संयोजक श्रेष्ठले भने, ‘रकमका लागि सांसद, स्थानीय सरकारलाई अनुरोध गर्नेछौं ।’
बैठकले शम्शेरगन्ज नजिकै राप्ती नदीमा बन्ने घाटको नाम श्री कृष्ण प्रणामी मोक्ष आर्यघाट (समाधीस्थल) प्रस्ताव गरेको छ । मञ्चले यातायातको शाखा कार्यालय कोहलपुरमा ल्याउनको लागि पहल गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी कोहलपुरमा बोटानिकल पार्कसहितको चिडियाखाना स्थापना गर्नको लागि तीनै तहका सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्