नेपालगन्ज (बाँके) ।
दुर्घटना न्यूनीकरण भन्दै जिल्ला ट्राफिक प्रहरीले नेपालगन्ज–कोहलपुर सडकखण्डमा सञ्चालन हुने सबै म्याजिक गाडीको फालो फाल्ने अभियान चैत दोस्रो सातादेखि सुरु ग¥यो । कडाइका साथ फालो फाल्ने अभियान चलाएको ट्राफिक प्रहरीले उक्त गाडीका फालो त फाल्यो तर, बिडम्वना यो अभियान बीचमै रोकियो । पहिला जस्तो थियो अहिले उस्तै भएको छ । निरन्तर गाडी पछाडिको फालोमा झुन्डिएर यात्रा गरिरहेको देखिन्छ ।
ट्राफिक प्रहरीले फालो फाले पनि अहिले यातायात व्यवसायीले पुुनः फालो जोडेका छन् । जसले ट्राफिक प्रहरीले सञ्चालन गरेको फालो फाल्ने अभियानलाई गिज्याइ रहेको छ । फालो फाल्ने अभियानलाई कडाइका साथ कार्यान्वयन नगर्दा पनि यातायात व्यवसायीले पुनः फालो जडान गर्न थालेका हुन् । फालो फाल्ने अभियानमा प्रहरी असफल हुँदा दुर्घटनाको जोखिम निम्तिएको छ ।
म्याजिक गाडीमा अनुमतिभन्दा धेरै यात्रुहरु राख्ने गर्दा सहचालकसमेत बस्ने ठाउँ हुँदैन । जसले गर्दा पुनः फालो जडान गरिएको स्वयम् यातायात व्यवसायी बताउँछन् । ‘पहिला ट्राफिक प्रहरीले कडा गरेको थियो,’ नाम नबताउने सर्तमा एकजना म्याजिक गाडी चालकले भने, ‘उक्त अभियान करिब हप्ता÷१० दिन जति चल्यो फेरि उस्तै भएको छ ।’
सहचालकका लागि म्याजिकभित्र बस्ने ठाउँ नहुँदा पुनः फालो जडान गरिएको उनले बताए । ‘दुर्घटनाको जोखिम त हुन्छ,’ उनी भन्छन्, ‘यस्तो महँगी छ । जसरीतसरी यात्रु त चढाउनै प¥यो नि ।’ पछिल्लो समय ट्राफिक प्रहरीले देखे पनि नदेखेझै गर्दा फालोमा सहचालक झुन्डिने गरेको उनको भनाइ छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक तिलक सुनारले यो कुरा आंशिकरुपमा स्वीकार गरे । ‘फालो फाल्ने अभियान त रोकिएको छैन,’ उनी भन्छन्, ‘तर केही गाडीले पुनः फालो जडान गरेका छन् ।’ सहचालकका लागि गाडी साहुले फालो जडान गरेको उनी स्वयम् बताउँछन् ।
फालो नफाल्नेलाई पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवानासमेत तोकिएको उनको भनाइ छ । ‘पहिलो चरणमा सम्झाउँछौं । सम्झाउँदा नमाने पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना असुल्छौं,’ उनी भन्छन् । यति मात्र होइन जिल्ला ट्राफिक प्रहरीले करिब आधा दर्जनभन्दा बढी अभियान चलाएको छ । तर, ति अभियान उपलब्धिविहीन जस्तै देखिएका छन् ।
राडार गणबाट चेकिङ पनि स्थगित
जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहिलोपटक बाँकेमा राडार गणबाट सवारी चेकिङ गरिएको भन्दै प्रचार बाजी ग¥यो । सवारी साधनको टाढैबाट गति परीक्षण गर्ने विधि बाँकेमा सुरु हुँदा यसले दुर्घटना न्यूनीकरणमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो । सोहीअनुसार ट्राफिक प्रहरी चर्चाको केन्द्रमा पुग्यो ।
तर के गर्ने, फालो फाल्ने अभियान तुहिएजस्तै यो अभियान पनि सफल हुन सकेन । राडार कपिलवस्तुबाट केही दिनका लागि भाडामा ल्याइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आफ्नै राडार गण नहुँदा उक्त अभियान चर्चाबीचनै सेलायो । अहिले बाँकेमा राडार गण छैन । ‘बाँकेमा हाम्रो आफ्नै राडार गण छैन,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुनारले भने, ‘हामीले प्रयोग गरेको उक्त राडार अहिले बर्दियामा छ ।’ उक्त राडार बाँकेमा करिब १०÷१५ दिनसम्म मात्र चलेको उनको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरीले चर्चा कमाउनकै लागि विभिन्न अभियान सञ्चालन गर्ने र त्यसलाई निरन्तरता नदिँदा दुर्घटनाको जोखिम यथावत रहेको सर्वसाधारणहरुको भनाइ छ । ‘ट्राफिक प्रहरीले राडार गण ल्यायोभन्दा खुसी लागेको थियो,’ कोहलपुरका बिर्खबहादुर शाह भन्छन्, ‘ट्राफिक प्रहरीले त राडार चर्चा कमाउन देखाउनका लागि मात्र ल्याएको रहेछ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेका अभियान दीर्घकालीनरुपमा नसोच्दा र चर्चाकै लागि मात्र सञ्चालन गर्दा उक्त अभियानहरु सफल हुन नसकेको देखिन्छ ।
कार्यान्वयन नहुँदा अवस्था उस्तै
जिल्ला ट्रापिक प्रहरीले सञ्चालन गरेको अर्काे अभियान हो, ‘रिक्सा सचेतिकरण अभियान र चालक र सहचालकसँग ट्राफिक प्रहरी ।’ यसमा ट्राफिक नियमका कुराहरुमा ट्राफिक प्रहरीले जानकारी दिन्छ ।
यसभित्र सडकको बीचमा गाडी र रिक्सा रोकेर यात्रु आराल्ने र चढाउने गर्नु हुँदैन भन्ने कुरा पनि ट्राफिक प्रहरीले चालक र सहचालकलाई सिघाउँछ । तर, तपाईं आफैँ सडकमा आएर र्हेनु उक्त नियम चालक र सहचालकले पालना गरेको देखिँदैन ।
अभियान चलाएर पनि प्रभावकारीरुपमा कार्यान्वयन नहुनुको यो एउटा गतिलो उदाहरण हो । नेपालगन्ज–सुर्खेत रोडमा बीच सडकमै गाडी र रिक्सा रोकेर यात्रु ओराल्ने र चढाउने गरेको देखिन्छ । यसले दुर्घटनाको जोखिम अझ बढी देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्