अवैध सुन कारोबारमा तानिए सुन व्यवसायी



मिसन संवाददाता
बुटवल, १८ असार
अवैध सुन बरामद प्रकरणमा बुटवलका दुई सुनचाँदी पसल मुछिएका छन् । बुटवलका बालाजी र लक्ष्मीपति सुन पसल अवैध सुन कारोबारमा तानिएका हुन् ।

केही दिन अघि रुपन्देहीको सिमानाकाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको झन्डै दुई किलो सुन बरामद गरेको थियो । यस विषयमा अनुसन्धानका लागि बुटवलका सुन व्यवसायी तानिएका प्रहरीले जनाएको छ । भैरहवा भन्सार कार्यालयले सुरु गरेको प्रारम्भिक अनुसन्धानमा बुटवलको अमरपथस्थित बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसलको संलग्नता देखिएको हो ।

अनुसन्धानका क्रममा सुनसहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका–१० का हुमानन्द गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले जानकारी दिए । गिरीको बयानका आधारमा बुटवलको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल मा सिल गरेर अनुसन्धान अगाडि बढाइएको छ ।

शसस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालयले असार १० गते एक केजी नौ सय ६५ दशमलव तीन ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । करिब दुई करोड मूल्यको बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधानअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।

रुपन्देहीको नेपाल भारत सीमानामा पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालीदहबाट शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन बरामद भएको थियो । सिमानाका पार गर्न बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई शसस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार