लुम्बिनी प्रदेशसभा बैठक १३ मिनेटमै स्थगित



दाङ ।

दुई दिन लगातार अवरुद्ध भएको लुम्बिनी प्रदेशसभा बैठक १३ मिनेट चलेर स्थगित भएको छ । सभामुखले बैठकको प्रारम्भ गरेलगत्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जनाएका थिए ।

सभामुख तुलाराम घर्तीले आफ्नो कुरा राख्न भनेपछि एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेश निर्देशनालयको खारेजी र बजेटमा भएको मनोमानी सच्याउन माग गरेका थिए । त्यसपछि एमालेका सांसदहरुले बसेको स्थानमै उठेर विरोध जनाएका थिए ।

पटक-पटक बस्न भने पनि एमाले सांसदहरु उठेर विरोध जनाइरहेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

आर्थिक वर्ष ०८०/८१ को बजेटमाथिको छलफल गर्न असार १३ गतेको बोलाएको बैठक आधा घण्टा चलेर स्थगित भएको थियो भने असार १७ गतेको बैठक ५ मिनेटमै अवरुद्ध भएको थियो ।

प्रतिपक्षी दल नेकपा एमालेका संसद्हरुले गरेको अवरोधका कारण लुम्बिनी प्रदेशमा आर्थिक वर्ष ०८०/८१ को बजेटमाथिको छलफल हुन पाएको छैन ।

लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १८ गते सोमबार