मिसन संवाददाता,बाँसगढी
बर्दियाको बाँसगढीमा पहिलोपटक पशुका लागि आधुनिक साइलेज दाना उत्पादन गर्न सुरु गरिएको छ । हाम्रो एकीकृत कृषि सहकारी संस्था लिमिटेड बाँसगढीले उक्त दाना उत्पादन गर्न सुरु गरेका हुन् ।
बाँसगढीको मटरियामा उत्पादन हुँदै गरेका मकैबाट पशुको आहाराका लागि उक्त दाना उत्पादन गरिन्छ ।

वैज्ञानिक कृषि प्रणालीबाट मात्रै पशुपालन तथा कृषि गर्न सम्भव छ भन्ने उद्देश्यले साइलेजमार्फत पशुको आहाराका लागि दाना उत्पादन गर्न थालिएको हाम्रो एकीकृत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्दप्रसाद उपाध्यायले जनाए ।

अहिले पशु पालक किसानहरुको मागअनुसार दाना उत्पादन हुने भन्दै उनले भने, ‘अहिले आसपासका क्षेत्रका किसानले माग गर्नु भएको छ । आवश्यकताका आधारमा अन्यत्र पनि उक्त दाना पु¥याउन सकिन्छ ।’ दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न साइलेज उत्पादन गर्न थालेको उनको भनाइ छ ।

दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । साइलेजलाई मेसिन (साइलेज ब्यालर)ले नै प्लास्टिकमा प्याकिङ गर्छ । यसरी तयार पारिएको साइलेज जाडो याममा ४५ दिन र गर्मी याममा २८ दिनपछि पशुहरुलाई खुवाउन उपयुक्त मानिन्छ । गाईभैंसीका लागि साइलेज पौष्टिक आहारका रुपमा लिइन्छ ।
साइलेज खुवाएपछि दूध उत्पादन ३० प्रतिशतसम्म बढ्ने हाम्रो एकीकृत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपाध्यायले जनाए । साइलेज धुलो दानाभन्दा सस्तो पनि पर्न जान्छ । ‘साइलेज खाएपछि गाईले ३० प्रतिशतसम्म दूध बढाएको हाम्रो अनुभव छ,’ उनले भने, ‘पशु आहारका लागि यो उपयुक्त मानिएको छ ।’
‘दूध उत्पादनमा लागत कम गरी किसानहरुलाई समृद्ध बनाउने उद्देश्यले आहार उद्योग सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘कृषि क्षेत्रबाट पनि नाफा कमाउन सकिन्छ भन्नेखालको सन्देश दिन खोजेका छौँ ।’ यहाँका किसानले यसभन्दा पहिला दाङलगायतका जिल्लाबाट उक्त दाना बगाउँदै आएका थिए ।
उक्त सहकारीले अहिले जग्गा लिजमा लिएर मकै लगाएको थियो । अन्य किसानले पनि मकै लगाएर बिक्री गर्न सकिने उनी बताउँछन् । ‘मकै किसानले बारीमा मकै लगाउने अनि हामी एकपुष्ट मकैको बोटसहित किन्छौँ,’ उनले भने, ‘यस्तो गर्दा मकै उत्पादक किसानलाई मेहनत कम पर्छ र खेर जाने मकैको बोटबाट पनि आम्दानी हुन्छ ।’
किसानहरुले लगाएको मकै खेतसम्मै पुगेर दाना उत्पादनसमेत गर्न सकिन्छ । सहकारीले प्रतिकिलो १२ रुपैयाँमा साइलेज दाना बिक्री गरिरहेको उनले बताए ।
गुणस्तरीय दूध उत्पादनसँगै गाई भैंसीहरु पनि स्वस्थ रहने हाम्रो एकीकृत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपाध्याय बताउँछन् । ‘पराल र भुसाभन्दा साइलेज धेरै राम्रो हो । गाई स्वस्थ हुने, दूध बढ्ने र गुणस्तर पनि हुने भएकाले हरेक कोणबाट यो राम्रो छ,’ उनी भन्छन् ।









प्रतिक्रिया दिनुहोस्