कोहलपुरमा सिकलसेल एनिमियाको अभियान सकियो



शिवानी विक । कोहलपुर (बाँके) ।

कोहलपुर नगरपालिकाले सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको पालिकास्तरीय अभियान सम्पन्न गरेको छ । आइतबार वडा नम्बर ११ मा एक औपचारिक कार्यक्रमका बीच उक्त अभियन सम्पन्न भएको हो । सिकलसेल एनिमिया तथा थालेसेमिया रोगसम्बन्धी अभिमुखीकरण अभियान गत वर्षको चैतबाट सुरु भएको थियो ।

उक्त अभियानअन्तर्गत कोहलपुरका १ देखि १५ नम्बर वडासम्म घरदैलो मै पुगेर अभिमुखीकरण कार्यक्रम गरिएको छ । अन्तिम वडाका रुपमा वडा नम्बर ११ मा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सदस्य सञ्जुकुमारी चौधरीले सिकलसेल एनिमिया रोगको नियन्त्रणका लागि तीनवटै तहका सरकार एकजुट आवश्यक रहेको बताइन् । उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकारले सिकलसेल एनिमिया तथा थालेसेमिया रोगलाई न्यूनीकरणका लागि गम्भीरताका साथ लाग्न आवश्यक छ ।

समाजबाट यो रोगलाई न्यूनीकरण गरी नागरिकलाई स्वस्थ बनाउने उद्देश्यले यो अभियान सुरु भएको र अभियान प्रभावकारी भएको उनको भनाइ छ । संघीय सरकारले सिकलसेल एनिमिया तथा थालेसेमिया रोग लागेका विपन्न नागरिक कोषमार्फत आर्थिक साहयोग गर्दै आएको छ । आगामी आर्थिक वर्षदेखि लुम्बिनी प्रदेश सरकारले रोगी बिरामी पहिचान गरी स्वास्थ्य बिमा प्रदान गरी सहयोग गर्ने उनले बताइन् ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरापलिकाका मेयर पूर्णप्रसाद आचार्यले अशक्त अपांग तथा ज्येष्ठ नागरिकलाई घरदैलो अभियानमार्फत सिकलसेल रोगको पहिचान गरी सेवा दिने बताए ।

उनले आफूलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको कुनै संकेत देखिएमा कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखामा रगत परीक्षण गर्न आउन आग्रह गरेका छन् । उक्त सेवा निःशुल्क प्रदान गर्दै आएको छ । आउने आर्थिक वर्षबाट पाठ्यक्रम निर्माण गरी विद्यालयमा अध्ययन अध्यापन गराइनेसमेत जानकारी दिए । कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुगम ढकालले नियमिय संक्रमणविरुद्ध खोप, नियमितरूपमा रक्तअल्पताको उपचार गराउन थारू समुदायका नागरिकहरूलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दे कोहलपुर नगर अस्पताल मेडिकल अधिकृत रवि शर्मा वाग्लेले सिकल भनेको हसिया आकार र सेल भनेको रक्त कोषिका हो त्यसैले यसको आकार परिवर्तन भइ हसियाँ आकारमा परिवर्तन हुने भएका कारण यो सिकलसेल मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखा पर्ने बताएका छन् ।

यो रोग स्वास्थ्य कार्मको सल्लाहबमोजिम नियमितरुपमा चेकजाँच गराए बच्न सकिने उनले बताए । सिकलसेल एनिमिया सोसाइटी स्कास नेपालका अध्यक्ष प्रभ चौधरीले सिकलसेल एनिमिया जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई लाग्ने गरेको बताए । यो रोग लागे पछि हात, खुट्टा, शरीरका नशा, हार्डजोर्नीको दुखाइ हुने गर्दछ जसले गर्दा आजीवनसम्म यो रोगले सताउने गर्दछ ।

सकलसेल एनिमिया र थालेसेमिया भएका व्यक्तिले सन्तान जन्माउँदा ध्यान दिनुपर्ने उनको भनाइ छ । पछिल्लो समय यो रोग थारु समुदायका व्यक्तिलाई मात्र नभइ अन्य समुदायका व्यक्तिमा पनि लाग्ने भएकोले कोहलपुर नगरपालिकाले परीक्षण सुरु गरेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका सिकलसेल एनिमिया रोगका फोकल पर्सन शिव गौतमले जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ११ गते सोमबार