नेपालगन्जमा नियमविपरीत हाइवेमा ‘मिनी बसपार्क’



नेपालगन्जस्थित बसपार्कबाट सवारी साधन एक सय ५० रुपैयाँको चलानी लिएर छुट्छन् । चलानी लिएर बसपार्कबाट अनुमति पाएको सवारी साधनले यातायात कर्मचारीलाई ५० देखि एक सय रुपैयाँसम्म फजुल पैसा तिर्छन् । त्यसको उनीहरुसँग रसिद
हुँदैन ।

नेपालगन्ज ।

गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माण भयो । त्यतिबेला सबै यात्रु बसपार्कबाट चढ्ने व्यवस्था गर्ने भनिएको थियो । केही समय बसपार्कबाट छुटेका बस पुष्पलाल चोक रोकिने काम बन्द भयो र बसपार्कबाट सीधै बस गन्तव्यसम्म पुगे । तर, उक्त व्यवस्था दीर्घकालीनरुपमा टिक्न सकेन ।

अहिले मान्छे चढाउने र झार्ने व्यवस्था पुरानै अवस्थामा पुगेको छ । बाइपास हुँदै लामो दुरीमा चल्ने सवारी साधन कारकाँदोस्थित प्रहरी तालिम केन्द्र अगाडि रोकिन थालेका थिए । अहिले त्यहाँबाट लग्दहवा चोकस्थित सडक डिभिजन अगाडि रोकिन थालेका छन् । बसपार्क जसरी लामो दुरीका गाडीहरु यहाँनेर रोकिँदा दुर्घटनाको उच्च जोखिम बढेको छ ।

सडकमै राखिएका सवारी साधन र गुडिरहेका रिक्सामा यातायात कर्मचारी मान्छे तान्न जाने कार्यले दुर्घटनाको जोखिम निम्त्याएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बसपार्कबाट छुटेका गाडीहरु यसरी रोकिन पाइँदैन । ‘बसपार्कजस्तो गरी गाडीहरु रोकिन थालेको गुनासो आएको छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तिलकबहादुर सुनारले भने, ‘यसलाई व्यवस्थित गर्ने विषयमा छलफल भएको छ ।’ उक्त स्थानबाट हप्तादिन जतिमा खाली गराइने उनको भनाइ छ ।

१४ करोड ९४ लाखमा उक्त बसपार्क निर्माण भएको छ । तर, अहिले उक्त बसपार्कसम्म यात्रु पुग्दैनन् । नेपालगन्ज–कोहलपुर सडकखण्डअन्तर्गत सडक डिभिजन अगाडिबाट नै गाडीहरु छुट्ने भएपछि यात्रुहरु बसपार्कसम्म पुग्दैनन् ।

फजुल पैसा असुली

नेपालगन्ज बसपार्कबाट लामो दुरीमा सञ्चालन हुने सवारीसाधनबाट यातायात कर्मचारीहरुले मनमर्जी पैसा असुल्ने गरेको गुनासो आएको छ । रसिदबिनानै उनीहरुले लामो दुरीमा सञ्चालन हुने सवारी साधनबाट पैसा असुल्ने गरेको पाइएको हो ।

यति मात्र होइन, सवारी साधनले दुई ठाउँमा पैसा तिर्न बाध्य छन् । नेपालगन्जस्थित बसपार्कबाट सवारी साधन एक सय ५० रुपैयाँको चलानी लिएर छुट्छन् । चलानी लिएर बसपार्कबाट अनुमति पाएको सवारी साधनले यातायात कर्मचारीलाई ५० देखि एक सय रुपैयाँसम्म फजुल पैसा तिर्छन् । त्यसको उनीहरुसँग रसिद हुँदैन ।

यातायात कर्मचारीहरुले मान्छे जम्मा गरेको भन्दै पैसा लिने गरेको यातायात व्यवसायी बताउँछन् । ‘बसपार्कबाट छुट्दा करिब तीन सय रुपैयाँ खर्च हुन्छ,’ टीकापुर जान लागेका एकजना गाडी चालक भन्छन्, ‘बसपार्कबाट आएपछि लग्दहवा चोक नजिकै गाडी रोकिने ठाउँमा पनि सय रुपैयाँ दिनुपर्छ ।’ यति मात्र होइन, गाडी नम्बर लगाउनलाई हाइस गाडीले टीकापुरको ७० र धनगढीको एक सय रुपैयाँ तिर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

‘गाडी नम्बर लगाउनलाई पनि पैसा दिनुपर्छ । त्यसको रसिद हुँदैन,’ उनी भन्छन्, ‘चलानीको पैसा तिरिसकेपछि कति ठाउँ पैसा तिर्ने ।’ यातायात कर्मचारीले मनमर्जीरुपमा गाडी सञ्चालकसँग पैसा लिने गरेको अर्का गाडी चालकले गुनासो गरे । ‘पैसा नदिएर जाँदा पनि समस्या,’ उनी भन्छन्, ‘दिँदा हाम्रो समस्या कस्ले बुझ्ने ।’

चलानीबाहेक अन्य बहानामा यातायात कर्मचारीले उठाउने फजुल शुल्क रोक्नु पर्ने यातायात व्यवसायीको भनाइ छ । उनीहरु खुलेर प्रतिक्रिया दिन हिच्किचाउँछन् । गाडीको नम्बर नपाइने त्रास उनीहरुमा छ । उनीहरु समस्या भन्छन्, तर परिचर खुलाउन मान्दैनन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार