कोहलपुर खानेपानीका पूर्व उपाध्यक्षद्वारा आरोप खण्डन



मिसन संवाददाता
कोहलपुर, २९ जेठ
कोहलपुर बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पूर्व उपाध्यक्ष यामबहादुर रावतले संस्थाको आर्थिक अनियमिततासम्बन्धी सार्वजनिक आर्थिक प्रतिवेदनमाथि आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै रावतले जेठ २६ गते सार्वजनिक गरिएको प्रतिवेदनमा आफ्नो नाम जोडिएको भन्दै प्रतिवेदनप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘२०७२ फागुन २८ गते बसेको संस्थाको बैठकबाट उपभोक्ताको घर जानुपर्ने, पाइप फुट्ने पाइपमा चुनाको कारण पानी बन्द हुँदा, सडकसम्बन्धी काम गर्न जाँदा मासिक १५ लिटरका दरले संयोजकलाई तेल दिने निर्णय भएको थियो । आफूलाई संस्थाले संयोजक तोकेको संस्थाको निर्णयअनुसार नै सुविधा लिएको जानकारी गराउन चाहन्छुँ । मैले प्रयोग गरेको तेलको रकम मैले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको छैन । फिल्ड जाँदा खर्च भएको हो । संस्थाको आठ वर्ष साधारणसभा नहुँदा ठूलो रकम देखिएको मात्रै हो ।’
विज्ञप्तिमार्फत उनले आफूले २०७७ पुसदेखि जिल्ला खानेपानी महासंघमा निर्वाचित भएपश्चात संस्था छोडेको पनि जानकारी गराएका छन् । आफ्नो नाममा आएको हिसाबकिताबको सम्बन्धमा आफूलाई सोधनी नभएको उनले बताए । पुसपछि आफ्नो नाममा रकम निकासा भए नभएको आफूलाई जानकारी नभएको भन्दै उनले आफूले पत्रिकाबाट थापा पाउँदा आश्चर्यमा परेको बताए । संस्थाको रकम जो कोहीले हिनामिना गरेको, सापटी लिएको, पेश्की लिएको भए पनि रकम अनिवार्यरुपमा तिर्नुपर्ने उनको भनाइ छ ।
आफ्नो नाममा देखिएको पेश्की रकम १० हजार संस्थाको सनराइज बैंकको खातामा दाखिला गरिसकेको उनले पत्रमार्फत जानकारी गराएका छन् । यदि भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने निकाय वा अदालतबाट आफूले भ्रष्टाचार गरेको थाहा भए दायित्व वहन गर्न आफू तयार रहेको पनि उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार