गर्मीले कक्षाकोठामै विद्यार्थी बेहोस



मिसन संवाददाता
बर्दिया, २९ जेठ
अत्यधिक गर्मीका कारण बर्दिया जिल्ला सदरमुकामका विद्यार्थीहरु कक्षा कोठामै बिरामी हुन थालेका छन् । आइतबार यहाँको धु्रव माध्यमिक विद्यालयका पाँचजना विद्यार्थी बिरामी भएका हुन् ।
दुई सातायता बर्दियामा चर्को घामसँगै तातो हावा चलिरहेको छ । गर्मीका कारण विद्यार्थीहरु बेहासे हुने प्रधानाध्यापक पीनाम्बर पोखरेलले जनाए । ‘पाँचजना विद्यार्थी पहिला बेहोस भए,’ उनले भने, ‘अनि वान्ता गर्न सुरु गरे ।’ बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालय गुलरियाका प्रधानाध्यापक मतिराम शर्माले दैनिक २५÷३० जना विद्यार्थी कक्षाकोठामा बेहोस भएको बताए । विद्यालयका छानामा जस्तापाता प्रयोग भएको विद्यार्थीलाई झन बढी समस्या भएको उनको भनाइ छ । ‘जस्तापाताको छानामुनि बसेर पढ्नु पर्छ । जस्तापाता तातेर आएको रापले विद्यार्थी हैरानी बनाएको छ,’ उनी भन्छन् ।
यस्तो उखरमाउलो गर्मीमा पनि पालिकाले बिदा दिएको छैन । गर्मी बिदा नहुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । ‘अत्यधिक गर्मी छ । त्यसमा पनि कोठाभरि विद्यार्थीमात्र हुँदा अझ बढी उम्सो हुन्छ,’ गुलरियाकी विद्यार्थी सपना घिमिरेले भनिन्, ‘उम्सो धेरै हुँदा शिक्षकले पढाएको कुरा नै बुझिँदैन ।’ गुलरिया नगरपालिकामा ४७ संस्थागत र १३ निजी विद्यालय छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार