शुभाकर विश्वकर्मा
कोहलपुर
कोहलपुर नगरपालिकाले नगरवासीसँग नीति तथा कार्यक्रमका लागि राय तथा सुझाव संकलन गरेको छ । आइतबार एक कार्यक्रमका बीच नगरपालिकाले नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सुझाव संकलन गरेको हो ।
आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा पूर्व राय÷सुझाव संकलनका लागि आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा सरोकारवालाले कोहलपुर नगरपालिकालाई विकसित, समृद्ध, आत्मनिर्भर र हरियाली नगरपालिकाका लागि नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
उक्त सुझाव संकलनका क्रममा सबैभन्दा धेरै कृषि क्षेत्रको विकासमा नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्ने माग उठेको छ । छलफलमा सहभागीमध्ये अधिकांशले कृषि क्षेत्रको विकासका लागि नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए । कोहलपुरलाई कृषकमैत्री नीति तर्जुमा गर्नुपर्ने उनीहरुको भनाइ छ । उक्त छलफलमा बोल्दै किसान मोहन रिजालले कोहलपुरमा गैरकानुनीरुपमा भइरहेको व्यवसाय गर्ने नीति लिन सुझाव दिए ।
नगरपालिकामा कृषि हाट बजार विस्तार गर्ने र कृषि बजारलाई व्यवस्थापन गर्न उनले आग्रह गरे । किसानको सम्मानका लागि किसान परिचयपत्र लागु हुनपर्ने उनको सुझाव छ । ‘कोहलपुर कृषिका लागि सम्भावना भएको क्षेत्र हो । कृषिबाट हामीले धेरै लाभ लिन सक्छौं । त्यसैले कृषि क्षेत्र प्राथमिकतामा हुनुपर्छ,’ उनले भने । अर्का किसान उदीराम ओलीले कोहलपुरमा विद्यमान समस्याका रुपमा रहेको खुला व्यवसाय निरुत्साहित गर्ने नीति लिनुपर्ने बताए ।
उक्त अवसरमा कृषिसहित शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रलाई प्राथमिकतामा दिनुपर्ने माग उठेको छ । उक्त अवसरमा बोल्दै स्थानीय युवा लालबहादुर बुढाथोकीले कोहलपुरमा खानेपानी समस्या समाधानका लागि खानेपानी आयोजना बोर्ड गठनको माग गरे ।
दिशाजन्य लेदो व्यवस्थापन प्रशोधन केन्द्र स्थापना गर्ने र खानेपानी स्रोत व्यवस्थापन संरक्षण आवश्यक रहेकोमा उनले जोड दिए । युवा जनशक्तिलाई रोजगारीमा जोड्न नीति आवश्यक गरेको उनी बताउँछन् । युवा स्वरोजगार कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न र सार्वजनिक शौचालयको व्यवस्थापन हुन आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीप्रसाद गैरेले एक घर एक बिरुवा रोप्ने नीति लागु गर्न माग गरे । विद्यमान आर्थिक मन्दीका कारण व्यवसायी पलायनको चरणमा रहेको भन्दै स्थानीय सरकारले व्यवसायमैत्री नीति लिनुपर्नेमा उनले माग गरे ।
यस्तै स्थानीय शिव डाँगीले बागेश्वरी बहुमुखी क्याम्पसलाई स्तरोन्नति गर्न आवश्यक रहेको बताए । बागेश्वरीमा विएस्सी अध्ययन सुरु गर्न उनले माग गरेका छन् । यस्तै नीति तथा कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सेवा स्तरीकरणका लागि नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताए ।
यस्तै कोहलपुर मध्यवर्ती क्षेत्रका अध्यक्षसमेत रहेको कोहलपुर–१३ का पूर्व वडाध्यक्ष ओमप्रकाश ओलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व रोक्ने विषय नीति तथा कार्यक्रममा गम्भीरताका साथ समेट्न आग्रह गरे ।
उक्त क्षेत्रमा जनता पीडित रहेकाले मध्यवर्ती क्षेत्रको समस्या समाधानका लागि ध्यान दिन आग्रह गरे । डिजिटल कोहलपुरको नारा साकार गर्नका लागि सडक सुरक्षामा ध्यान दिन जरुरी रहेको स्वयम्सेवक दिनेशराज न्यौपानेले माग गरे । वातावरणीय पक्षलाई बेवास्ता गरिएको बन्दै वातावरण संरक्षण नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिनुपर्ने उनको भनाइ छ ।
कोहलपुरमा कोटेशन प्रथालाई निरुत्साहित गर्नुपर्ने माग विष्णु बेल्बासेले गरे । सहकारीकर्मीहरुको तर्फबाट बोल्दै स्थानीय तुल्सी सुनारले तीन खम्बे अर्थनीतिको मुख्य सूचकका रुपमा रहेको सहकारी क्षेत्रलाई नीति तथा कार्यक्रममा समेट्न माग गरिन् ।
उनले स्थानीय स्तरका महिलाको जीविकोपार्जन तथा स्वरोगारीका लागि स्थानीय सरकार र सहकारीबीच समन्वय र सहकार्य गर्ने नीति लिन आवश्यक रहेको बताइन् ।
समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले स्थानीयबाट प्राप्त सुझावलाई मार्ग निर्देशन बनाएर नीति तथा कार्यक्रम तर्जुमा गरिने बताए । नगरवासीहरुका सुझावपछि मन्तव्य राख्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले सुझावका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्