मिसन संवाददाता
बाँके, २८ जेठ
बाँकेका ट्राफिक प्रहरीहरूलाई योगसम्बन्धी प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक कार्यालय कोहलपुरले आइतबार योगसम्बन्धी प्रशिक्षण दिइएको हो ।
द आर्ट अफ लिभिङ बाँकेका प्रशिक्षकले ट्राफिक प्रहरीहरूलाई योग प्रशिक्षण दिएका थिए । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक तिलकबहादुर विकले विश्व योग दिवसको अवसरमा योग सिकाइएको जानकारी दिए । ‘विश्व योग दिवसको अवसरमा ट्राफिक कार्यालयका कर्मचारीहरूलाई योग सिकाइएको हो,’ उनले भने, ‘मानव जीवनलाई शारीरिक तथा मानसिकरूपमा स्वस्थ राख्न सहयोग पुग्छ भन्ने अपेक्षा लिएका हौं ।’
ट्राफिक कार्यालय र मातहतका पोष्टमा कार्यरत २६ जना ट्राफिक प्रहरीहरूलाई योगसम्बन्धी प्रशिक्षण दिइएको थियो । सधैं सवारी व्यवस्थापनका लागि सडकका खटिने ट्राफिक जनशक्तिलाई यस्ता तालिमले सहज हुने बताए । ‘सबै ट्राफिक र सवारी व्यवस्थापनका लागि सडकमा खटिने ट्राफिक जनशक्तिलाई योग जस्ता तालिमहरूले रिफ्रेस हुन सघाउ पु¥याउँछ,’ ट्राफिक प्रहरी निरीक्षक विकले भने, ‘सकेसम्म हामीले सबै जनशक्तिलाई योगा सिकाउने लक्ष्य राखेका छौं ।’
प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्