नेपालगन्ज–दिल्ली उडानमा सकारात्मक छलफल



शुभाकर विश्वकर्मा । कोहलपुर ।

नेपालगन्जबाट नयाँ दिल्ली र भारतीय अन्य सहरमा दुईतर्फी उडान हुने बाटो खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणका क्रममा यस विषयमा छलफल गरेपछि दुई देशबीच उडानका लागि बाटो खुलेको हो ।

भारतको औपचारिक भ्रमणका क्रममा नेपालगन्ज र भैरहवाबाट नयाँ दिल्लीलगायतका भारतका अन्य सहरमा दुईतर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालले संसद्लाई जानकारीसमेत गराएका छन् । हवाई सेवालाई थप सुरक्षित बनाउन नेपालले अर्को हवाई प्रवेश मार्ग र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्ट्रमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षको समझदारीका बारेमा समेत कुराकानी भएको प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्रीस्तर भ्रमणमा हवाई उडानको विषयमा कुरा उठ्दा यहाँको पर्यटकीय गतिविधि बढ्ने सम्भावना देखिएको छ । तर, बाँकेमा यस विषयमा मिश्रित प्रतिक्रिया आइरहेको छ । नेपालगन्जको मेयर हुँदा नेपालगन्ज दिल्ली हवाई उडानका विषयमा चासो राख्दै आएका डा.धवल शम्शेर राणा स्वयम् पनि विश्वस्त देखिँदैनन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले प्रतिनिधिसभाको बैठकमै विश्वस्त नभएको प्रतिक्रिया दिएका थिए । हवाई उडान हुने समयका विषयमा पनि उनले प्रश्न उठाएका थिए ।

दुई देशका प्रधानमन्त्रीबीच हवाई उडानका विषयमा छलफल हुँदा यहाँका पर्यटन तथा होटेल व्यवसायी भने उत्साहित देखिएका छन् । नेपालगन्ज–दिल्ली उडान सुरु भएमा यहाँको आर्थिक विकासमा ‘माइलस्टोन’ सावित हुने उनीहरुको विश्वास छ । नेपाल एसोसियन अफ ट्राभल एण्ड टुर एजेन्सी बाँकेका अध्यक्ष श्रीराम सिग्देल छिट्टै नेपालगन्ज–दिल्ली उडान सुरु भएको हेर्न आतुर रहेको बताउँछन् । नेपालगन्जबाट सिधै अन्तर देश उडान हुन सक्यो भने यहाँको आर्थिक विकासमा ठूलै मद्दत पुग्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘प्रधानमन्त्री तहमा कुरा हुँदा उत्साहित भएका छौं । नेपालगन्जबाट दिल्ली उडान हुन सक्यो भने भोलिका दिनमा देशकै राम्रो र अब्बल सहर हुन्छ ।’ यसले यहाँको पर्यटनसँगै आर्थिक समृद्धिमा समेत टेवा पुग्ने उनको विश्वास छ । नेपालगन्ज हुँदै दिल्ली भएर तेस्रो मुलुक आवागमनसमेत सहज हुने वातावरण सिर्जना हुने उनको भनाइ छ ।

धार्मिक पर्यटन प्रवद्र्धनमा समेत उडानले मद्दत पुग्ने भन्दै उनले भने, ‘नेपालगन्ज हुँदै मानसरोवरसम्म पुग्ने भारतीय पर्यटक नेपालगन्ज आउँदा यहाँको आर्थिक क्षेत्रसमेत चलायामान हुन्छ ।’ यस्तै नेपालगन्ज क्यासिनो हब बन्ने उनले आशा व्यक्त गरेका छन् ।

नेपालगन्जमा हाल सातवटा क्यासिनो सञ्चालनमा छन् । तीनवटा स्थापना हुने संघारमा रहेको उनले बताए । ‘हिजो नेपालगन्ज देशका मुख्य पाँच सहरभित्र पथ्र्यो । आज ‘टप टेन’भित्र छ । उडान सुरु भएपछि देशकै नम्बर १–३ भित्र गनिने सहर बन्न सक्छ,’ अध्यक्ष सिग्देल बताउँछन् । होटेल एसोसियन अफ बाँकेका अध्यक्ष दिवाकर खनाल नेपालगन्ज–दिल्ली हवाई उडानले यहाँको होटेल क्षेत्रमा ठूलो टेवा पुग्ने बताए ।

उनका अनुसार एसोसियनले लामो समयदेखि नेपालगन्ज–दिल्ली हवाई उडानको माग गरिरहेको छ । उनले थला परेको आर्थिक क्षेत्रको थप चलायमान बनाउन पनि भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । ‘व्यवसायी बाँच्छन् । व्यवसायमाथि उठ्छ । रोजगारी सिर्जना हुन्छ । पैसा मार्केटमा आउँछ,’ अध्यक्ष खनालले भने ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २५ गते बिहीबार