बाँके ।
आदर्श मावि राँझाका शिक्षक रवीन्द्र रेग्मी जलेको अवस्थामा सामुदायिक वन क्षेत्रमा फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिका– १८ का ४२ वर्षीय उनी कोहलपुरदेखि ६ किलोमिटर पूर्वमा रहेको जंगलमा मंगलबार जलेको अवस्थामा भेटिएका हुन् ।
पूर्वपश्चिम राजमार्ग छेउको सरस्वती सामुदायिक वनमा आगोले जलेको अवस्थामा शव देखेपछि घाँसदाउरा गर्न गएका महिलाहरूले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले शरिरका अधिकांश भाग जलेको अवस्थामा शव फेला परेको बताए ।
‘जानकारी पाएलगत्तै प्रहरी टोलि घटनास्थलमा पुगेको थियो । अनुसन्धानका लागि हामीले तालिमप्राप्त कुकुर समेत परिचालन गरेका थियौं’ उनले भने, ‘जलेको अवस्थामा उहाँको शव भेटिएको हो । हत्या वा आत्महत्या के हो भनेर हामीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेका छौं ।’
मृतकले प्रयोग गरेको मोटरसाइकल भने राजमार्ग छेउमा नै भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । राजमार्गदेखि डेढ सय मिटर भित्र जंगलमा शिक्षक रेग्मी जलेको अवस्थामा फेला परेका हुन् । शव फेला परेको स्थानबाट प्रहरीले बिषादीका खोलहरू, उनले लगाएका कपडा, चप्पल, झोला र सुसाईट नोट समेत फेला पारेको छ ।
सबै कोणबाट घटनाको अनुसन्धान ईलाका प्रहरी कार्यालय कोहलपुरले अगाडि बढाएको छ । परिवारका एक सदस्यका अनुसार रेग्मी सोमबार दिउँसो २ः३० बजेतिर बैठकमा जान्छु भनेर घरबाट निस्किएका थिए । मृतकको सोमबार राती करिब १०ः३२ बजेदेखि मोबाइल स्वीचअफ भएपछि खोजीका लागि परिवारका सदस्यहरू लागेका थिए ।
मृतकका आफन्तहरूले भने घटना आत्महत्याजस्तो देखिएपछि रहस्यमय रहेको बताएका छन् । ‘आत्महत्या गर्नुपर्ने भएपनि यती टाढा आएर गर्नुपर्ने कुनै कारण छैन । घरमै उहाँले गर्न सक्नुहुन्थ्यो ।’ ती आफन्तले भने, ‘घटना केही रहस्यमय देखिएको छ । प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गर्नुपर्छ ।’
मृतक रेग्मीले शिक्षण पेशासँगै घरनजिकै उद्योगसमेत सञ्चालन गर्दै आएका थिए । मृतकको शवलाई भेरी अस्पताल नेपालगन्जमा पोस्टमार्टम् गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्